नेपाललाई राहत र पुनर्निर्माणमा सहयोग गर्न अमेरिका तयार

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गरेकी छन् ।

भेटमा प्रधानमन्त्री शाहले विपद्को कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धता र सहयोगका लागि धन्यवाद दिएका छन् ।

प्रधानमन्त्री शाहले पछिल्लो विपद्बाट नेपाली नागरिकसँगै विदेशी नागरिकसमेत प्रभावित भएको बताएका छन् । उनले जलवायु परिवर्तनका कारण यस्ता विपद्को सामना गर्नुपरेको उल्लेख गर्दै जलवायुजन्य विपद् जोखिम न्यूनीकरण तथा त्यसको प्रभाव कम गर्न विश्वव्यापी सहकार्य र सामूहिक प्रयास आवश्यक रहेको बताए ।

भेटका क्रममा नेपालको पर्यटन क्षेत्रको सम्भावना र विकासबारे पनि छलफल भएको थियो । प्रधानमन्त्री शाहले पर्यटन क्षेत्रको विकासमार्फत नेपाल र अमेरिकाबीच पारस्परिक लाभ हासिल गर्न सकिने बताउँदै नेपालमा अमेरिकी लगानीलाई स्वागत गर्ने बताएका छन् ।

कार्यवाहक राजदूत बोल्डिनले रसुवामा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा प्रभावित समुदायप्रति समवेदना प्रकट गरिन् ।

उनले विपद्को यस कठिन घडीमा अमेरिकी सरकार नेपाल सरकार र नेपाली जनताको साथमा रहेको बताउँदै राहत, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा आवश्यक सहयोग र सहकार्य गर्न अमेरिका तयार रहेको जानकारी दिइन् ।

Share News