विकासन्युज

राजविराज अस्पतालमा प्रसूति घटना : छानबिन प्रतिवेदनपछि कारबाही प्रक्रिया अघि बढ्यो

काठमाडौं  । गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल, राजविराजमा प्रसूति सेवाका लागि पुगेकी महिलाले अस्पताल परिसरबाहिर शिशु जन्माउनुपरेको घटनाबारे गठित अनुगमन समितिको प्रतिवेदन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्राप्त गरेको छ।  घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सुप्रभात श्रेष्ठको संयोजकत्वमा गठित टोलीमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका विज्ञ डा. पवनजंग रायमाझीसहित नेपाल मेडिकल काउन्सिलका विज्ञ तथा सदस्यहरू डा. विजय कापरी, डा. अजय कुमार शाह, डा. सारिका गोईत र डा. रविन बस्नेत सहभागी थिए । टोलीले २०८३ भदौ २५ देखि २७ गतेसम्म अस्पतालको स्थलगत अनुगमन तथा निरीक्षण गरी घटनासँग सम्बन्धित तथ्य तथा प्रमाण संकलन, सेवा प्रवाहको अवस्था र सम्बन्धित स्वास्थ्यकर्मी तथा अस्पताल प्रशासनको भूमिकाबारे अध्ययन गरेको थियो ।  अनुगमन समितिको प्रतिवेदन प्राप्त भएसँगै प्रतिवेदनमा उल्लेख भएका विषयमध्ये प्रशासनिक हिसाबले तत्काल गर्नुपर्ने काम मन्त्रालयले तत्कालै अघि बढाउने भएको छ ।  प्रतिवेदनमा चिकित्सक, नर्स तथा प्रशासनिक कर्मचारीलगायतबाट आचारसंहिता उल्लङ्घन भएको देखिएका विषयमा आवश्यक कारबाहीका लागि सम्बन्धित काउन्सिलमा पठाइएको मन्त्रालयले जनाएको छ ।  छानबिन समितिको प्रतिवेदनले गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा कर्मचारीको नियुक्ति तथा व्यवस्थापन अव्यवस्थित रहेको विषयसमेत औँल्याएको छ । समितिबाट नियुक्त भएका कर्मचारीहरूको उचित व्यवस्थापन आवश्यक देखिएको मन्त्रालयले जनाएको छ ।  अस्पतालको कर्मचारी व्यवस्थापनलाई व्यवस्थित बनाउन ८० जना अस्थायी दरबन्दी थप गर्ने प्रस्तावमा अर्थ मन्त्रालयबाट सहमति प्राप्त भइसकेको र उक्त प्रस्ताव अब मन्त्रिपरिषद्मा पेश गरिने भएको छ ।  त्यसैगरी, छात्रवृत्तिमा अध्ययन गरी आएका चिकित्सकमध्ये ७ जना चिकित्सकलाई दुई वर्षका लागि गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा पठाइएको मन्त्रालयले जनाएको छ ।  चिकित्सक तथा कर्मचारीको नियुक्ति र व्यवस्थापनलाई व्यवस्थित बनाउन मन्त्रालयले आवश्यक परिपत्रसमेत गरिसकेको जनाएको छ ।  मन्त्रालयले यस्ता घटना आगामी दिनमा पुनः दोहोरिन नदिन सेवा प्रवाह, जनशक्ति व्यवस्थापन तथा अस्पताल प्रशासनलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता जनाएको छ ।  साथै, आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका, २०७८ अन्तर्गत उपलब्ध निःशुल्क सेवा तथा सुविधाबारे जनमानसमा जानकारी विस्तार गर्न विभिन्न मातृभाषामा जनचेतनामूलक सामग्री तयार गरी प्रचार–प्रसार गर्ने कार्य अघि बढाइएको छ । 

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ निक्षेप उठाउँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ६० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकले १ महिनाका लागि निक्षेप संकलन उपकरणमार्फत ६० अर्ब रुपैयाँ उठाउन लागेको हो । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले भदौ ३१ गते दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत निक्षेप संकलनको बोलकबोल गर्ने जनाएको छ । निक्षेप संकलनको अवधि ३० दिनको हुनेछ । राष्ट्र बैंकका अनुसार यसका लागि ब्याजदर बोलकबोलबाटै निर्धारण हुनेछ । सहभागी बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि बोल गर्न सक्नेछन् । बोल रकम १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल ६० अर्ब रुपैयाँसम्म बोल गर्न सकिनेछ । निक्षेप संकलनको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउनेछन् । बोलकबोलमा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बोललाई पहिलो प्राथमिकता दिई क्रमशः ६० अर्ब रुपैयाँसम्म बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ । समान ब्याजदरमा गरिएको बोलको रकम कुल आह्वान रकमभन्दा बढी भएमा समानुपातिक आधारमा बाँडफाँड गरिनेछ । राष्ट्र बैंकले स्वीकृत गरेको निक्षेपको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको राष्ट्र बैंकमा रहेको खाताबाट कट्टा गरी छुट्टै खातामा जम्मा गरिनेछ । निक्षेपको साँवा तथा ब्याज २०८३ असोज ३० गते भुक्तानी गरिनेछ । भुक्तानी मितिभन्दा अगाडि उक्त रकम फिर्ता वा समयअगावै भुक्तानी नहुने राष्ट्र बैंकले स्पष्ट पारेको छ । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनमा राखिएको रकम अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, राष्ट्र बैंकको निर्देशनअनुसार कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपातमा भने गणना गर्न सकिनेछ ।

सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ८५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ३ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला ३ लाख १०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ४ हजार ६८५ रुपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । जसअनुसार एक दिनमै सुनको मूल्य १ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य ८५ रुपैयाँले बढेको हो ।

१५.८० प्रतिशत लाभांश पारित गर्न नबिलले डाक्यो असोज २२ गते साधारण सभा

काठमाडौं । नबिल बैंक लिमिटेडले १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको भदौ ३० गते बसेको बैठकले असोज २२ गते बिहान साढे ९ बजे त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा ४२औँ वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो । सभाले बैंकको सभाले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३२ अर्ब ५ करोड ६९ लाख ९६ हजार रुपैयाँको ५ प्रतिशतका दरले १ अर्ब ३५ करोड २८ लाख ४९ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका १०.८० प्रतिशतका दरले २ अर्ब ९२ करोड २१ लाख ५५ हजार रुपैयाँ लाभांश प्रस्ताव पारित गर्नेछ ।  यस्तै, सभामा सञ्चालक समितिको आर्थिक वर्ष २०८२/८३ को प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा सहायक कम्पनी नबिल इन्भेस्टमेन्ट बैंकिङ र नबिल स्टक डिलरको एकीकृत वित्तीय विवरण पारित गर्ने प्रस्ताव पेस हुनेछ । साथै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने र संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकको निर्वाचन गर्ने कार्यसूची रहेको छ । सभाले नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशतले हुने २३ करोड ३४ लाख २४ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गर्नेछ । यस्तै, बैंकको अधिकृत पुँजी वृद्धि गरी ३४ अर्ब रुपैयाँ पुर्याउने, गत आर्थिक वर्ष संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भएको खर्च अनुमोदन गर्ने कार्यसूची रहेको छ । बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने तथा उपयुक्त देखिएमा वैदेशिक रणनीतिक साझेदारीमा जान सक्ने प्रस्ताव पनि सभामा पेस गर्नेछ । यसका लागि बैंकको चल–अचल सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन गर्न मूल्यांकनकर्ता नियुक्त गर्ने, मर्जर वा एक्विजिसनसम्बन्धी सम्झौता गर्ने तथा आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ । लाभांश तथा साधारण सभा प्रयोजनका लागि बैंकले असोज १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज १३ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार भई कायम भएका सेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् । 

कृषि विकास बैंकमा सुरु भयो साताव्यापी ‘केवाईसी सचेतना सप्ताह’

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले वित्तीय अपराध न्यूनीकरण र ग्राहक सुरक्षालाई प्राथमिकता दिँदै साताव्यापी ‘ग्राहक पहिचान (केवाईसी) सचेतना सप्ताह’ सुरु गरेको छ । ‘सही ग्राहक पहिचान, सुरक्षित बैंकिङ हाम्रो अभियान’ भन्ने नाराका साथ बैंकले भदौ ३० गतेदेखि असोज ५ गतेसम्म केवाईसी सचेतना सप्ताह सञ्चालन गर्ने भएको हो । अभियानको शुभारम्भ बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदीले गरेका हुन् । उद्घाटन कार्यक्रममा बैंकका विभागीय प्रमुख तथा काठमाडौं उपत्यकाभित्रका शाखा प्रबन्धकहरूको भौतिक उपस्थिति थियो भने उपत्यकाबाहिरका शाखा प्रबन्धकहरू भर्चुअल माध्यमबाट सहभागी भएका थिए । कार्यक्रममा निमित्त प्रमुख कार्यकारी अधिकृत सुवेदीले आधुनिक बैंकिङ प्रणालीमा ग्राहक पहिचान विवरणको महत्वपूर्ण भूमिका रहने बताए । उनले केवाईसी विवरण समयमै अद्यावधिक गर्दा बैंकिङ प्रणालीलाई थप पारदर्शी बनाउन सहयोग पुग्नुका साथै ग्राहक पनि सम्भावित वित्तीय जोखिम तथा ठगीबाट सुरक्षित हुने बताए । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार सञ्चालन गरिएको अभियानअन्तर्गत बैंकले आफ्ना ग्राहकलाई नजिकको शाखामा पुगेर केवाईसी विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले अभियान अवधिभर ग्राहकलाई सुरक्षित बैंकिङ अभ्यास अपनाउन र आफ्नो व्यक्तिगत विवरण समयमै अद्यावधिक गर्नसमेत अनुरोध गरेको छ ।

कृषि विकास बैंकका कर्मचारीले राहत कोषमा दिए १ करोड ५३ लाख रुपैयाँ

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कृषि विकास बैंक लिमिटेडका कर्मचारीले १ करोड ५३ लाख ९५ हजार २२ रुपैयाँ सहयोग गरेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत, उपमहाप्रबन्धक, विभागीय प्रमुखदेखि सहयोगी कर्मचारीसम्मले आफ्नो तलब तथा भत्ताबाट रकम जुटाएर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका हुन् । बैंकका तर्फबाट सञ्चालक समिति अध्यक्ष टंकप्रसाद पाण्डे र निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई १ करोड ५३ लाख ९५ हजार २२ रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । चेक हस्तान्तरण कार्यक्रममा बैंकका उपमहाप्रबन्धक सुशील हुमागाईं, बजार तथा बिक्री विभागका प्रमुख बीना शर्मा र जनशक्ति व्यवस्थापन विभागका प्रमुख अजय रिमालको पनि उपस्थिति थियो । यसअघि कृषि विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरिसकेको छ । त्यस्तै, बाढी प्रभावितका लागि १० लाख रुपैयाँ बराबरको खाद्यान्न तथा राहत सामग्रीसमेत प्रत्यक्ष रूपमा वितरण गरिसकेको बैंकले जनाएको छ । प्राकृतिक विपद्को कठिन समयमा पीडित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले बैंक संस्थागत तथा कर्मचारी व्यक्तिगत रूपमा निरन्तर सहयोगमा जुटेको जनाएको छ ।

कुमारी बैंकले सेयरधनीलाई २.१० प्रतिशत नगद लाभांश दिने

काठमाडौं । कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई २.१०५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण पारित गरी स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित गराएर सेयरधनीलाई चुक्ता पुँजीको २.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको बैंकले जनाएको छ । उक्त नगद लाभांशमा लाभांश करसमेत समावेश हुनेछ । बैंकको हालको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार ३४० रुपैयाँ रहेको छ । प्रस्तावित लाभांशअनुसार बैंकले करिब ५५ करोड २२ लाख रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । बैंकले यसपटक बोनस सेयर प्रस्ताव गरेको छैन । लाभांश वितरणका लागि सेयर दाखिल खारेज बन्द हुने मिति (बुक क्लोज) र वार्षिक साधारणसभाको मिति भने हाल तय गरिएको छैन । लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन हुनुपर्नेछ ।

भारतलाई १०० प्रतिशत ट्यारिफ लगाउने अमेरिकी तयारी

काठमाडौं । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्स रूसविरुद्ध प्रतिबन्धसम्बन्धी विधेयकमाथि मतदान गर्ने तयारीमा पुगेको छ । प्रस्तावित कानुनले अमेरिकी राष्ट्रपतिलाई रूसबाट तेल र ग्यास खरिद गर्ने देशमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने अधिकार दिनेछ । ती देशमध्ये छिमेकी मुलुक भारत पनि समावेश छ । ‘लिन्डसे ग्राहम स्यान्क्सनिङ रसिया एन्ड इरान एक्ट २०२६’ नाम दिइएको उक्त विधेयक यसअघि नै अमेरिकी सिनेटबाट भारी बहुमतले पारित भइसकेको छ । विधेयकमा गरिएको संशोधनमार्फत रूससँग व्यापार गर्ने देशमाथि थप १०० प्रतिशत शुल्क लगाउन सकिने मुलुकको सूचीमा भारतलाई स्पष्ट रूपमा समावेश गर्न प्रस्ताव गरिएको छ । विधेयकमाथि बिहीबार मतदान हुने अपेक्षा गरिएको छ । हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट पनि विधेयक पारित हुने सम्भावना रहेको बताइएको छ ।