१८ दिनपछि खुल्यो पृथ्वी राजमार्ग, यातायात व्यवसायीलाई नियमित सेवा सञ्चालन गर्न आग्रह

काठमाडौं । बाढी र पहिरोका कारण विगत १८ दिनदेखि पूर्ण रूपमा अवरुद्ध बनेको देशकै प्रमुख राजमार्ग सडक विभागको लगातारको प्रयासपछि सञ्चालनमा आएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले एक सूचना जारी गर्दै असोज १ गते बिहान ६ः०० बजेदेखि दुवैतर्फ सबै प्रकारका सवारी साधनहरू नियमित रूपमा सञ्चालन हुने जानकारी दिएको हो । 

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बिनाशकारी बाढीले त्रिशुली नदी किनारका सडक कटान गरेको थियो ।

त्यसलगत्तै भदौ १४ गते कृष्णभिर, परेवा भिर लगायतका धेरै स्थानमा बाढी र पहिरोले बाटो बन्द हुँदा पूर्व मेचीदेखि पश्चिम महाकाली तथा छिमेकी राष्ट्र भारतसम्म जाने सवारी साधनहरूको आवतजावत ठप्प भएको थियो । 

लामो समयसम्म मुख्य राजमार्ग बन्द रहँदा यातायात व्यवसायीहरूले करोडौंको घाटा व्यहोर्नुका साथै आम यात्रु वर्गले ठुलो सास्ती खेप्नुपरेको थियो । 

महासंघले कृष्णभिरको पहिरो पन्छाई सडक नियमित गराउन र वैकल्पिक बाटोको व्यवस्था मिलाउन सम्बद्ध निकायमा पटक-पटक पहल गरे पनि लामा सवारी साधन सञ्चालनमा कठिनाइ भइरहेको थियो । 

सडक विभागले रातदिन खटिएर १८ दिनको कठिन प्रयासपछि दुवैतर्फको बाटो खुलाउन सफलता प्राप्त गरेको छ ।

राजमार्ग पुनः सञ्चालनमा आएसँगै महासंघले जारी सूचनामा सडक खुलाउन अहोरात्र खटिने सडक विभाग, सामाजिक संघ-संस्था तथा स्थानीय निकायहरूलाई धन्यवाद ज्ञापन गरेको छ ।

साथै, महासंघले सम्पूर्ण सदस्य संघ, समिति, कम्पनी तथा प्रालिहरूलाई भोलि बिहानैदेखि नियमित सेवा सञ्चालन गर्न समेत आग्रह गरेको छ । 

Share News