‘नेपाल–भारत आर्थिक साझेदारी नयाँ उचाइमा लैजानुपर्छ’

नयाँ दिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल र भारतबीचको आर्थिक तथा रणनीतिक साझेदारीलाई समयानुकूल बनाउँदै नयाँ उचाइमा पुर्याउनुपर्नेमा जोड दिएका छन् ।

भारतको औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले दुई देशबीचको साझेदारीलाई थप प्रभावकारी बनाउन भौतिक, डिजिटल तथा ऊर्जा सञ्जालको विस्तार अपरिहार्य रहेको बताएका हुन् ।

नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टर (आईआईसी) मा शुक्रबार आयोजित उच्चस्तरीय कूटनीतिक गोलमेच संवादलाई सम्बोधन गर्दै उनले नेपाल–भारत सम्बन्धलाई आर्थिक विकास र साझा समृद्धिको नयाँ चरणमा लैजानुपर्ने बताए ।

सो अवसरमा अर्थमन्त्री वाग्लेले नेपालले हालै बेहोरेको प्राकृतिक विपद् र त्यसबाट भएको जनधनको क्षतिबारे चर्चा गर्दै संकटको घडीमा भारत सरकार तथा भारतीय जनताले देखाएको तदारुकता र उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरे ।

उनले विपद्पछिको पुनर्निर्माणलाई दिगो र सुरक्षित बनाउन नेपालले ‘बिल्ड ब्याक बेटर’ अवधारणालाई दृढतापूर्वक कार्यान्वयन गरिरहेको जानकारी दिए ।

जलवायु परिवर्तनमा नेपालको योगदान नगन्य भए पनि त्यसको असर हिमाली तथा तटीय पारिस्थितिकीय प्रणालीले अत्यधिक भोग्नुपरेको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको मुद्दालाई नेपाल र भारतले मिलेर अघि बढाउनुपर्ने धारणा राखे ।

परम्परागत सहायता ढाँचाभन्दा माथि उठेर विकास वित्तका बदलिँदा आयाम, हरित वित्त तथा सहुलियतपूर्ण वित्तीय उपकरणको अधिकतम परिचालन गर्नुपर्नेमा पनि उनले जोड दिए ।

अर्थमन्त्री वाग्लेले विद्यमान नेपाल–भारत व्यापार सन्धिमा समयानुकूल सुधार गर्दै व्यापार घाटा न्यूनीकरण र गैरभन्सार अवरोध हटाउनुपर्ने आवश्यकता औंल्याए ।

नेपालमा लगानीको वातावरण सुधार गर्न नीतिगत तथा कानुनी सुधार गरिएको उल्लेख गर्दै उनले ऊर्जा, उत्पादनमूलक उद्योग र प्रविधि क्षेत्रमा भारतबाट प्रत्यक्ष वैदेशिक लगानी बढाउन भारतीय पक्षलाई आह्वान गरे ।

उनले वर्तमान सरकार नेपाली जनताको भारी जनादेशबाट बनेको स्मरण गराउँदै तीव्र विकास र आर्थिक रूपान्तरणको जनआकांक्षा पूरा गर्न सरकार पूर्ण रूपमा समर्पित रहेको बताए ।

‘हाम्रो विकास आकांक्षा नीतिगत स्थायित्व र संस्थागत सुधारमा आधारित छ,’ उनले भने, ‘वर्तमान सरकार भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सुशासन कायम गर्न दृढ छ । पारदर्शी र जवाफदेही शासन व्यवस्था नै आर्थिक समृद्धिको आधार हो ।’

गोलमेच संवादमा भारतका वरिष्ठ राजनीतिज्ञ, कूटनीतिज्ञ, रणनीतिकार तथा अर्थशास्त्रीहरूको सहभागिता थियो ।

कार्यक्रमको आयोजना स्थलसमेत रहेको आईआईसीका अध्यक्ष तथा नेपालका लागि पूर्व भारतीय राजदूत एवं पूर्व विदेश सचिव श्याम शरणले संवादमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

उनले नेपाल–भारत सम्बन्धलाई समयसापेक्ष बनाउन नीतिगत तहमा हुने यस्ता गहन र खुला विमर्श फलदायी हुने धारणा राखे ।

कार्यक्रममा अर्थमन्त्री वाग्लेसहित पूर्व भारतीय विदेश सचिव तथा नेपालका लागि पूर्व राजदूत श्याम शरण, भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता एवं राज्यसभा सदस्य जयराम रमेश, पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार तथा पूर्व विदेश सचिव शिवशंकर मेनन, पूर्व उपराष्ट्रिय सुरक्षा सल्लाहकार तथा कूटनीतिज्ञ पंकज शरणलगायत सहभागी थिए ।

त्यसैगरी, प्रख्यात अर्थशास्त्री तथा जेएनयूका एमेरिटस प्रोफेसर एवं दिल्ली विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. दीपक नायर, इन्डिया ट्रेड प्रमोसन अर्गनाइजेसन (आईटीपीओ) का अध्यक्ष जावेद अशरफ, नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित राय, भारतीय जनता पार्टीको विदेश मामिला विभाग प्रमुख डा। विजय चौथाइवाले, दक्षिण एसियाली भूराजनीति तथा कनेक्टिभिटी अध्येता डा. कन्स्ट्यान्टिनो जेभियर, भारतीय विदेश मन्त्रालयका निर्देशक मनुस्मृति, द हिन्दूकी कूटनीतिक मामिला सम्पादक सुहासिनी हैदरसहित नेपाली प्रतिनिधिमण्डलको सहभागिता थियो ।

छलफलका क्रममा भारतीय पक्षका विज्ञ तथा कूटनीतिज्ञहरूले नेपालको लोकतान्त्रिक स्थायित्व, सुशासनप्रतिको प्रतिबद्धता र आर्थिक एजेन्डाको प्रशंसा गरेका थिए ।

सहभागीहरूले नेपाल र भारतको साझा समृद्धि सीमापार कनेक्टिभिटी, ऊर्जा साझेदारी तथा पारस्परिक विश्वासमा निर्भर रहने निष्कर्ष निकाल्दै द्विपक्षीय संयन्त्रलाई थप परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका थिए ।

Share News