काठमाडौं । विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारीलाई तीव्रता दिन शिक्षा तथा खेलकुद मन्त्रालयले सात सदस्यीय मस्यौदा कार्यदल गठन गरेको छ ।
मन्त्रालयले शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदलमा मन्त्रालयका पदाधिकारीसँगै शिक्षा क्षेत्रका विज्ञहरूलाई समेत समेटिएको मन्त्रालयले जनाएको छ ।
विद्यालय शिक्षा विधेयकको मस्यौदा सम्बन्धी प्राविधिक कामलाई शीघ्र अघि बढाउने उद्देश्यले कार्यदल गठन गरिएको मन्त्रालयको भनाइ छ ।
कार्यदलले विद्यालय शिक्षाका विभिन्न पक्षलाई समेटेर दीर्घकालीन सोचका आधारमा विधेयकको मस्यौदा तयार गर्नेछ ।
यसअघि तत्कालीन संसदमा पेस भएको विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल भएको थियो ।
तर, विधेयकसम्बन्धी प्रक्रिया अघि बढ्न सकेको थिएन । मन्त्रालयले यस पटक साबिकको विधेयकको मस्यौदालाई समेत आधार बनाउँदै विद्यालय शिक्षाका बहु आयामिक पक्ष, वर्तमान आवश्यकता र दीर्घकालीन सुधारलाई समेट्ने गरी नयाँ मस्यौदा तयार गर्ने जनाएको छ ।
विधेयक तयारीका क्रममा सरोकारवालाको वास्तविक माग र आवश्यकता पहिचान गर्न मन्त्रालयले यसअघि नै सातै प्रदेशमा नीति संवाद सञ्चालन गरिसकेको छ ।
आगामी दिनमा अन्य सरोकारवालासँग समेत क्रमशः संवाद गरी सुझाव सङ्कलन गर्ने मन्त्रालयको तयारी छ ।