एक महिनामै निजी क्षेत्रमा २३ अर्ब ५८ करोड कर्जा प्रवाह

काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा जाने कर्जा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनमा निजी क्षेत्रमा प्रवाहित कर्जा ०.४ प्रतिशत अर्थात् २३ अर्ब ५८ करोड रुपैयाँले बढेर ५८ खर्ब ८० अर्ब ६४ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा ०.१ प्रतिशत अर्थात् २ अर्ब ९३ करोड रुपैयाँले घटेको थियो । वार्षिक विन्दुगत आधारमा भने २०८३ साउन मसान्तसम्म निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । 

वाणिज्य बैंकको कर्जा बढ्यो, विकास बैंकको घट्यो

२०८३ साउन मसान्तमा निजी क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रको हिस्सा ६२.३ प्रतिशत रहेको छ । व्यक्तिगत तथा घरपरिवार क्षेत्रको हिस्सा ३७.७ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा गैरवित्तीय संस्थागत क्षेत्रको हिस्सा ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रको हिस्सा ३७.३ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा वाणिज्य बैंकहरूको निजी क्षेत्रतर्फको कर्जा ०.५ प्रतिशत र वित्त कम्पनीहरूको कर्जा ०.१ प्रतिशतले बढेको छ । विकास बैंकहरूको कर्जा भने ०.३ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । 

घरजग्गा धितोमा ६३ प्रतिशत कर्जा

बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये ६३ प्रतिशत घरजग्गा धितो सुरक्षणमा रहेको छ । त्यस्तै, चालु सम्पत्ति अर्थात् कृषि तथा गैरकृषिजन्य वस्तुको सुरक्षणमा १५.३ प्रतिशत कर्जा रहेको छ ।

२०८२ साउन मसान्तमा घरजग्गा धितो सुरक्षणमा रहेको कर्जाको हिस्सा ६४.४ प्रतिशत र चालु सम्पत्तिको सुरक्षणमा रहेको कर्जाको हिस्सा १४.८ प्रतिशत थियो । 

कुन क्षेत्रमा कर्जा बढ्यो, कुनमा घट्यो?

साउनमा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानीमध्ये खनिज क्षेत्रमा ३.७ प्रतिशत, धातुजन्य उत्पादन, यन्त्र तथा विद्युतीय सामान उत्पादन तथा मर्मतमा ३ प्रतिशत र निर्माण क्षेत्रमा २.१ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, सेवा उद्योग क्षेत्रमा १.८ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवामा १.२ प्रतिशत, यातायात उपकरण उत्पादन तथा मर्मतमा ०.८ प्रतिशत, थोक तथा खुद्रा व्यापारमा ०.३ प्रतिशत र औद्योगिक उत्पादन क्षेत्रमा ०.३ प्रतिशतले कर्जा बढेको छ ।

अर्कोतर्फ, वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रमा कर्जा ५.१ प्रतिशतले घटेको छ । कृषि क्षेत्रमा ०.९ प्रतिशत र उपभोग्य क्षेत्रमा ०.६ प्रतिशतले कर्जा घटेको राष्ट्र बैंकले जनाएको छ । 

आवधिक कर्जा बढ्दा विपन्न वर्गको कर्जा घट्यो

समीक्षा अवधिमा आवधिक कर्जा १.५ प्रतिशतले बढेको छ । ट्रस्ट रिसिट (आयात) कर्जा १ प्रतिशत, रियल स्टेट कर्जा व्यक्तिगत आवासीय घर कर्जासमेत ०.७ प्रतिशत र हायर पर्चेज कर्जा ०.१ प्रतिशतले बढेको छ ।

यता विपन्न वर्ग कर्जा ७.३ प्रतिशत, अधिविकर्ष कर्जा २.६ प्रतिशत, क्यास क्रेडिट कर्जा १.१ प्रतिशत र माग तथा अन्य चालु पुँजी कर्जा ०.५ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

Share News