काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपाल सरकारले ४१ अर्ब ८९ करोड रुपैयाँ खर्च गरेको छ । सो अवधिमा सरकारले ९२ अर्ब २३ करोड रुपैयाँ राजस्व परिचालन गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार साउनमा सरकारको कुल खर्चमध्ये चालु खर्च २१ अर्ब ४० करोड रुपैयाँ रहेको छ । त्यस्तै, पुँजीगत खर्च १ अर्ब ३३ करोड र वित्तीय व्यवस्था खर्च १९ अर्ब १५ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन ९२ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । यसमध्ये कर राजस्वबाट ८५ अर्ब १९ करोड रुपैयाँ र गैरकर राजस्वबाट ७ अर्ब ३ करोड रुपैयाँ उठेको छ ।
सरकारले परिचालन गरेको कुल राजस्वमा अप्रत्यक्ष करको हिस्सा सबैभन्दा बढी ६८.१ प्रतिशत रहेको छ । प्रत्यक्ष करको हिस्सा २३.३ प्रतिशत, गैरकर राजस्वको ७.५ प्रतिशत र अन्य प्राप्तिको हिस्सा १ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिको तुलनामा कुल राजस्वमा अप्रत्यक्ष कर र प्रत्यक्ष करको हिस्सा घटेको छ भने गैरकर राजस्व र अन्य प्राप्तिको हिस्सा बढेको छ ।
२०८३ साउन मसान्तमा नेपाल राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा ३ खर्ब ६१ अर्ब ८१ करोड रुपैयाँ नगद मौज्दात रहेको छ । यसमा प्रदेश तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत समावेश छ ।
२०८३ असार मसान्तमा यस्तो नगद मौज्दात २ खर्ब ७७ अर्ब ४६ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा प्रदेश सरकारहरूको कुल खर्च १ करोड ४० लाख रुपैयाँ रहेको छ । प्रदेश सरकारहरूले सो अवधिमा ६ अर्ब ५५ करोड रुपैयाँ स्रोत परिचालन गरेका छन् ।
प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमध्ये संघीय सरकारबाट वित्तीय हस्तान्तरण तथा राजस्व बाँडफाँटमार्फत ३ अर्ब ८३ करोड रुपैयाँ प्राप्त भएको छ । त्यस्तै, प्रदेश सरकारको आन्तरिक स्रोतबाट राजस्व तथा अन्य प्राप्तिबापत १ अर्ब ९५ करोड रुपैयाँ परिचालन भएको राष्ट्र बैंकले जनाएको छ ।