तिहारमा फूल तथा माला किन्नेको चहलपहल

काठमाडौं । तिहार नजिकिएसँगै राजधानी काठमाडौंका फूल तथा माला पसलमा किनमेल गर्नेहरूको चहलपहल बढेको छ।

तिहारमा विशेषगरी दिदीबहिनीले दाजुभाइलाई भाइटीकामा लगाइदिने माला तथा घर सजावटका लागि आवश्यक सयपत्री, गोदावरी र मखमलीलगायत फूल किन्ने उपभोक्ताको बजारमा चहलपहल बढेको हो।

तिहारलाई फूल तथा मालाको पर्वका रूपमा समेत लिइन्छ। तिहारमा फूलका माला लगाउनुका साथै घरका झ्याल, ढोका, दियोघर, कलशलगायत सजावटका लागि प्रयोग गरिने भएकाले बजारमा फूलको माग उच्च हुने गरेको छ। हाल बजारमा घर, कार्यालय तथा विभिन्न व्यापारिक प्रतिष्ठान सजाउन र भाइटीकाका लागि माला खरिद गर्न उपभोक्ता व्यस्त छन्।

काठमाडौं महानगरपालिकाले व्यवसायी र उपभोक्तालाई सहजताका लागि फूल तथा माला बिक्री गर्ने स्थानसमेत तोकिदिएको छ। महानगरले तोकेका क्षेत्रमा व्यवसायीले पसल राख्ने र उपभोक्ताले खरिद गर्ने गरिरहेका छन्।

महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रमा एनबी सेन्टर र आईप्लेक्स मल, शंखमूलको बिग मार्ट, मध्यबानेश्वरको सेल्सबेरी, बत्तीसपुतलीको फोनेक्स टावर, तीनकुने चौर र सिफल चौरलाई बिक्रीस्थल तोकेको छ। त्यस्तै, चाबहिल क्षेत्रमा एसी कम्प्लेक्स, गणेशस्थान तरकारी बजार र केएल टावर अगाडि स्वदेशी फूलमाला बिक्री गर्न पाइने व्यवस्था गरिएको छ।

यसैगरी, कमलादीस्थित आईटी बिल्डिङ, पुतलीसडकको स्टार मल, अनामनगरको भाटभटेनी, सुन्धाराको काठमाडौं मल, न्युप्लाजास्थित बज्र कम्प्लेक्स (गुड मार्ट), स्वयम्भूको धर्मचक्र पार्क, कलंकीको भाटभटेनी, नयाँ बजारको भ्याली कोल्ड स्टोर तथा माछापोखरीको बुद्ध मल र गुणस्तर खाल्डोलाई समेत स्वदेशी फूलमाला बिक्रीस्थलका रूपमा तोकिएको छ। महानगरले तोकेका यी स्थानबाट स्वदेशी फूल तथा माला बिक्रीवितरण भइरहेको छ। काठमाडौं महानगरले स्वदेशी फूल तथा माला बिक्रीलाई प्रवर्द्धन गरिरहेको छ।

तिहारको रौनक सुरु भएसँगै उपभोक्ता कोही माला किन्न व्यस्त देखिन्छन् भने कोही घर तथा पसल सजावटमा लागेका छन्। आइतबार लक्ष्मीपूजा भएकाले पनि यतिबेला घर सजावटको काम भइरहेको छ। 

Share News