काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहकी धर्मपत्नी सविना काफ्लेले राजनीतिक तथा वैचारिक सिद्धान्त फरक भए पनि सबै नेपालीको साझा उद्देश्य देशप्रेम र नेपालको विशिष्ट पहिचान विश्वसामु चिनाउनु रहेको बताएकी छन् ।
आइतबार कुकुर तिहारको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले फरक विचार र सिद्धान्तमा विश्वास गर्ने नेपालीलाई देशप्रतिको माया र साझा उद्देश्यले एकताबद्ध बनाउने बताइन् । उनले नेपाल अद्वितीय र विशिष्ट देश भएको उल्लेख गर्दै यसको पहिचान विश्वभर फैलाउनु सबै नेपालीको साझा जिम्मेवारी भएको बताइन् ।
कुकुर तिहारको महत्त्वबारे चर्चा गर्दै काफ्लेले कुकुरको निष्ठा, प्रेम, वफादारिता र करुणालाई सम्मान गर्न यो पर्व मनाइने बताइन् । कुकुरको धार्मिक तथा सांस्कृतिक सम्बन्ध हिन्दु धर्ममा मात्र सीमित नरहेको र विभिन्न समुदायका मौलिक परम्परा तथा पौराणिक कथामा समेत यसको विशेष स्थान रहेको उनले उल्लेख गरिन् ।
आफू कुकुर तिहार आयोजना गर्न प्रेरित हुनुको कारण सुनाउँदै उनले बाल्यकाल मोरङको उर्लाबारीमा बिताएको स्मरण गरिन् । जीवनका सुरुवाती १०–११ वर्ष उर्लाबारीमा बिताउँदा त्यहाँका प्रायः हरेक घरमा कुकुर पाल्ने चलन रहेको र कुकुर तिहारका अवसरमा सामूहिक पूजा तथा जमघट हुने गरेको उनले बताइन् ।
त्यसैगरी, श्राद्धका बेला पितृहरू कुकुरको भेषमा आउने गरेको रोचक कथा हजुरबुबा र हजुरआमाले सुनाउने गरेको स्मरण गर्दै उनले यस्ता सांस्कृतिक कथाले बाल्यकालदेखि नै कुकुरप्रति आफ्नो लगाव बढाएको बताइन् ।
उनले भनिन्, ‘हाम्रा व्यक्तिगत तथा राजनीतिक विचार फरक हुन सक्छन्, तर हामी सबैको साझा पहिचान नेपाली हुनु र नेपालको विशिष्टता विश्वसामु चिनाउनु हो । यही साझा उद्देश्यले हामी आज यहाँ भेला भएका छौँ। कुकुर तिहारका दिन हामी कुकुरको निष्ठा, प्रेम, करुणा र वफादारीको सम्मान गर्दै पूजा गर्छौं। यसको सम्बन्ध हिन्दु धर्ममा मात्र सीमित छैन, विभिन्न आदिवासी तथा जनजातिका संस्कृति र पौराणिक कथामा पनि कुकुरको विशेष स्थान रहेको छ । म आफैँ मोरङको उर्लाबारीमा जन्मिएर बाल्यकाल बिताएको हुँ। त्यहाँका घरघरमा कुकुर पाल्ने, सामूहिक रूपमा पूजा गर्ने र कुकुरसँग जोडिएका सांस्कृतिक परम्पराहरूले मेरो बाल्यकालमा गहिरो प्रभाव पारे। श्राद्धका बेला पितृहरू कुकुरको भेषमा आउनुहुन्छ भन्ने हजुरबुबा–हजुरआमाले सुनाउनुभएका कथाहरूले पनि कुकुरप्रतिको मेरो आत्मीयता र लगाव बढाएको हो। यही बाल्यकालको सम्झना र कुकुरप्रतिको प्रेमले मलाई कुकुर तिहार आयोजना गर्न प्रेरित गरेको हो।’
कुकुरप्रतिको प्रेम, सम्मान र मानवीय संवेदनालाई सांस्कृतिक पर्वसँग जोडेर अघि बढाउनुपर्ने सन्देशसमेत उनले दिइन् ।