उपभोक्ता अदालतमा ४४ मुद्दा दर्ता, चिकित्सकीय लापरवाहीका मुद्दा बढी

काठमाडौं । काठमाडौं उपभोक्ता अदालतमा चिकित्सकीय लापरवाही, उपभोक्ता ठगीलगायतका विषयमा ४४ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये चालु आर्थिक वर्ष २०८३/८४ मा १० वटा मुद्दाको फैसला भएको छ भने ३४ वटा मुद्दा विचाराधीन अवस्थामा रहेको अदालतले जनाएको छ ।

उपभोक्ता अदालतका शाखा अधिकृत एवं सूचना अधिकारी होमनाथ कँडेलका अनुसार अदालतमा सबैभन्दा बढी चिकित्सकीय लापरवाहीसम्बन्धी मुद्दा दर्ता भएका छन् । चिकित्सकीय लापरवाहीसम्बन्धी ४ वटा मुद्दाको फैसला भइसकेको छ भने ९ वटा मुद्दा विचाराधीन अवस्थामा छन् ।

काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्लाको क्षेत्राधिकार रहेको काठमाडौं उपभोक्ता अदालतमा विगतको तुलनामा पीडित उपभोक्ताका मुद्दा बढ्दै गए पनि अपेक्षित संख्यामा आउन नसकेको सूचना अधिकारी कँडेलले बताए ।

पर्याप्त प्रमाण नपुगेका कारण केही मुद्दा दर्ता गर्न नसकिएको र अदालती प्रक्रिया झन्झटिलो भएकाले पनि उपभोक्ता अदालतमा अपेक्षाकृत कम मुद्दा आउने गरेको उनको भनाइ छ।

उपभोक्ता अदालतबारे जानकारी भए पनि धेरै मानिस अदालती प्रक्रियामा जान डराउने, खर्चिलो हुने र प्रक्रिया लामो तथा झन्झटिलो हुने भएकाले पीडितहरू उजुरी गर्न हिचकिचाउने गरेको कँडेलले बताए ।  

Share News