विकासन्युज

यी हुन् सेयर बजारका ठूला १० कम्पनी, हाइड्रोमा सोलु

काठमाडौं । पछिल्लो एक महिनाको अवधिमा बजार पुँजीकरणका आधारमा विशाल बजार कम्पनी नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीमध्ये शीर्ष स्थानमा रहेको छ । नेप्सेका अनुसार भदौ मसान्तसम्ममा विशाल बजार कम्पनीको बजार पुँजीकरण १ खर्ब ६४ अर्ब ४१ करोड रुपैयाँ रहेको छ ।  यस्तै, बजार पुँजीकरणका आधारमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटीसी) दोस्रो स्थानमा रहेको छ । कम्पनीको बजार पुँजीकरण १ खर्ब ६० अर्ब २० करोड रुपैयाँ रहेको छ । त्यस्तै, नबिल बैंक लिमिटेड १ खर्ब ५१ अर्ब ५१ करोड ९१ लाख रुपैयाँ बजार पुँजीकरणसहित तेस्रो स्थानमा रहेको छ । नागरिक लगानी कोष १ खर्ब १७ अर्ब ७४ करोड ३१ लाख रुपैयाँ बजार पुँजीकरणसहित चौथो स्थानमा रहेको छ भने नेपाल पुनर्बिमा कम्पनी लिमिटेड १ खर्ब १२ अर्ब ७४ करोड ६३ लाख रुपैयाँसहित पाँचौँ स्थानमा रहेको छ । एभरेस्ट बैंक लिमिटेडको बजार पुँजीकरण ९९ अर्ब ८२ करोड ३० लाख रुपैयाँ र ग्लोबल आइएमई बैंक लिमिटेड ९८ अर्ब ३३ करोड ८९ लाख रुपैयाँ बजार पुँजीकरण रहेको छ । नेप्सेका अनुसार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बजार पुँजीकरण ६८ अर्ब ७३ करोड १४ लाख रुपैयाँ रहेको छ भने नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको ६५ अर्ब ५२ करोड ६९ लाख रुपैयाँ रहेको छ । त्यस्तै, सोलु हाइड्रोपावर लिमिटेड ६५ अर्ब ३० करोड रुपैयाँ बजार पुँजीकरणसहित शीर्ष १० कम्पनीको सूचीमा परेको छ ।

३ एजेण्डा पारित गर्न ओरियन्टल होटल्सले असोज २९ गते डाक्यो साधारण सभा

काठमाडौं । ओरियन्टल होटल्स लिमिटेडले आफ्नो २९औँ वार्षिक साधारण सभा आगामी असोज २९ गते बिहीबार आयोजना गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको निर्णयअनुसार साधारण सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ बजे बस्नेछ । सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२÷८३ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तनलगायत वार्षिक आर्थिक विवरण पारित गर्ने प्रस्ताव रहेको छ । यस्तै, लेखापरीक्षण समितिको सिफारिसमा चालु आर्थिक वर्ष २०८३÷८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ । कम्पनीले हालका लेखापरीक्षक सुबोध एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई पुनः नियुक्त गर्न सक्ने जनाएको छ । कम्पनीले साधारण सभाका लागि असोज १३ गतेदेखि असोज २९ गतेसम्म सेयर दाखिल खारेज बन्द गर्ने जनाएको छ । त्यसैले असोज १२ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कम्पनीको सेयर दाखिल खारेजका लागि प्राप्त भएका सेयरधनीलाई साधारण सभाको प्रयोजनका लागि सेयरधनी कायम गरिनेछ ।

३ संसदीय समितिका बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा

काठमाडौं । आज विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्दै छन् । संघीय संसद् सचिवालयका अनुसार सोमबार कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिका बैठक बस्न लागेका हुन् । सोमबार बिहान १० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा विपद् व्यवस्थापन, बाढी प्रभावित नागरिकको मानव अधिकार संरक्षण तथा जलवायु न्यायका विषयमा छलफल गर्ने कार्यसूची छ । उक्त छलफलका लागि समितिले गृह मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवहरूका साथै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुखलाई आमन्त्रण गरेको छ । यसैगरी, बिहान ९ बजे बस्ने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतका क्षेत्रीय कार्यालय तथा अनुसन्धान केन्द्रहरूको स्थलगत अनुगमनबाट पहिचान भएका समस्या तथा चुनौती, प्राप्त निष्कर्ष एवं कृषि अनुसन्धान प्रणाली सुदृढीकरणका उपायका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । छलफलका लागि समितिले कृषि मन्त्री, नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक तथा नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतका निर्देशनालय, कार्यक्रम तथा केन्द्रका प्रमुख तथा प्रतिनिधिहरूलाई आमन्त्रण गरेको छ । यसैगरी, सोमबार बिहान १० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा बाढी तथा पहिरोबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा जनजीवन तथा पूर्वाधारमा परेको क्षति, पुनस्र्थापना तथा पुनर्निर्माण र पुनर्निर्माणका लागि आवश्यक लगानी व्यवस्थापनका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला न्यायाधिश भगवती शर्मा ढुंगानाको इजलासले जोशी र पाण्डेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले जनाएको छ । सीआईबीका अनुसार शुक्रबार एन्फा मुख्यालयमा छापा मार्दै कोषाध्यक्ष जोशी र लेखापाल पाण्डेलाई पक्राउ गरेको थियो ।

८० हजारभन्दा बढी दर्शकले अवलोकन गरेपछि सकियो नवौं नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी

काठमाडौं । ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने नाराका साथ काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना गरिएको चार दिने ‘नवौं नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी-२०८३’ आइतबार सम्पन्न भएको छ । नेपाल जग्गा तथा आवास विकास महासंघ, नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त रूपमा आयोजना गरेको यस प्रदर्शनीलाई अनुमानभन्दा दोब्बर अर्थात् ८० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् ।  प्रदर्शनीमा सात लाख रुपैयाँदेखि करोडौँ रुपैयाँसम्मका किफायती घर, अपार्टमेन्ट र घडेरीहरू बिक्री तथा प्रदर्शनका लागि राखिनुका साथै बैंक तथा वित्तीय संस्थाले ५.४९ प्रतिशतदेखि ६ प्रतिशतसम्मको सस्तो ब्याजदरमा कर्जा अफर गरेका थिए । प्रदर्शनी अवधिभर वास्तुशास्त्र, सार्वजनिक-निजी साझेदारी, नीतिगत सुधार र भूकम्पीय सुरक्षालगायत विषयमा सेमिनार तथा अन्तरक्रियाहरू समेत आयोजना गरिएका थिए । समापन समारोहका प्रमुख अतिथि एवं पूर्वाधार विकास समितिका सभापति इन्जिनियर आशिष गजुरेल र अर्थ तथा सुशासन समितिका संयोजक रुकेश रञ्जितले दर्शकको व्यापक सहभागिताले अर्थतन्त्र सुधारोन्मुख रहेको संकेत गरेको भन्दै छरिएर रहेका असुरक्षित बस्तीलाई व्यवस्थित गर्न एकीकृत बस्ती विकास र घरजग्गा क्षेत्रलाई उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।  त्यसैगरी नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष इन्जिनियर दीपक कुँवर, चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मलहोत्रा र महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले २४० भन्दा बढी स्वदेशी उद्योगसँग जोडिएको यो क्षेत्रलाई चलायमान बनाउन जग्गाको हदबन्दी हटाउनुपर्ने, ५० प्रतिशतको लोन टु भ्यालु अनुपातलाई कम्तीमा ८० प्रतिशत पुर्‍याउनुपर्ने, कर्जा पुनर्संरचनाको सुविधा दिनुपर्ने र यस क्षेत्रलाई उद्योगसरह मान्यता दिनुपर्ने नीतिगत मागहरू अघि सारे ।  सिजी प्रोपर्टिज शीर्ष प्रायोजक र एसियन पेन्ट्स पावर्ड बाई प्रायोजक रहेको उक्त प्रदर्शनीको समापनमा उत्कृष्ट प्रदर्शकहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो । 

माथिल्लो त्रिशूली-१ को सुरुङभित्र थप १३ शव फेला

काठमाडौं । गत भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्र हराइरहेका व्यक्तिको खोजीका क्रममा आइतबार थप १३ वटा शव फेला परेका छन् ।  आयोजनाको अडिट-३ बाट ‘अपस्ट्रिम हेड रेस टनेल’ भित्र उद्धार कार्यमा खटिएको टोलीले यी शवहरू फेला पारेको हो । सुरुङभित्र कंक्रिटिङका लागि तयार पारिएको रिबारको जालमा अल्झिएका र हिलोले पुरिएको अवस्थामा ती शवहरू भेटिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । यससँगै अडिट-३ क्षेत्रबाट मात्रै निकालिएका शवको कुल संख्या ३७ पुगेको छ । उद्धार गरिएका शवहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत नुवाकोटको विदुर नगरपालिका-६ स्थित खम्बास्वास्थ्य परिसरमा ल्याएर राखिएको छ ।  जिल्ला प्रहरी कार्यालय नुवाकोटले सूचना जारी गर्दै मृतकका परिवार तथा आफन्तहरूलाई शव सनाखतका लागि उपस्थित भई सहयोग गरिदिन अनुरोध गरेको छ ।  घटनापछि नेपाली सेना र आयोजनाको प्रवर्द्धक कम्पनी 'नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी'को संयुक्त टोली खोज तथा उद्धारमा निरन्तर खटिरहेको छ । उद्धार कार्यलाई थप प्रभावकारी बनाउन घटनास्थलमा तालिमप्राप्त कुकुर (सर्च डग) र कम्पनीका तर्फबाट मिनि एक्साभेटरको प्रयोग गरी दुईतर्फी टनेलमा खोजी तीव्र पारिएको छ ।  भदौ १० गतेको बाढीपछि यस आयोजनामा कार्यरत अझै ४५८ जना व्यक्तिहरू सम्पर्कविहीन रहेकाले खोजी कार्यलाई निरन्तरता दिइएको उद्धार टोलीले जनाएको छ ।

सोमबारदेखि यामाहा ब्लू फेस्ट,  १० लाखसम्मको क्यासब्याक अफर

काठमाडौं । यामाहा नेपालको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले असोज ५ देखि १० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा वार्षिक कार्यक्रम ‘यामाहा ब्लू फेस्ट’ आयोजना गर्ने भएको छ । ‘द बिगेस्ट एक्सचेन्ज मेला’ का रूपमा प्रस्तुत गरिएको ६ दिने फेस्टमा ५० भन्दा बढी तालिमप्राप्त भ्यालुएटरमार्फत जुनसुकै ब्रान्डका पुराना दुईपांग्रे सवारीसाधनको बजारकै उत्कृष्ट मूल्यांकन गरिनेछ ।  मेलामा पुराना सवारीसाधन एक्सचेन्ज गरी नयाँ यामाहा खरिद गर्न प्रोत्साहित गर्ने उद्देश्यले ‘चंगा चेट’ अभियानसमेत सार्वजनिक गरिनेछ, जहाँ ग्राहकले पुरानो मोटरसाइकल वा स्कुटरमा थप ५० हजार रुपैयाँसम्मको भ्यालुएसन पाउनेछन् ।  साथै, १० लाख रुपैयाँसम्मको क्यासब्याक अफरसहित नागरिकताको भरमा तत्काल फाइनान्सिङ सुविधा र ४० महिनासम्मको न्यूनतम ईएमआई योजनासमेत उपलब्ध गराइनेछ । एमएडब्लू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले विश्वस्तरीय मापदण्डका सवारीसाधन नेपाली राइडरसम्म पुर्‍याउन र एक्सचेन्ज प्रक्रियालाई थप सहज एवं लाभदायक बनाउन यो मेला आयोजना गरिएको बताए ।  खरिदका अतिरिक्त मेलामा रोमाञ्चक स्टन्ट शो, टेस्ट राइड, सेलिब्रेटी तथा क्रिएटरहरूसँग भेटघाट, कस्प्ले आर्टिस्टको प्रस्तुति र निःशुल्क एसेसरिजका साथै विभिन्न हाइटेक ग्याजेट जित्ने अवसरसमेत रहनेछ ।

बाढीमा परी उत्तरगयाका ११ जनाको मृत्यु, ७३७ सम्पर्कविहीन

काठमाडौं । रसुवाको उत्तरगया गाउँपालिकामा गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले व्यापक जनधनको क्षति पुर्‍याएको छ । गाउँपालिकाकी उपाध्यक्ष चमेली गुरुङका अनुसार बाढीका कारण ११ जनाको मृत्यु भएको छ भने ७३७ जना सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेहरूमा ४३६ जना स्थायी र ३१ जना अस्थायी बासिन्दा रहेका छन् ।  वडागत रूपमा हेर्दा वडा नं. १ मा ४३७ जना, वडा नं. २ मा ७५ जना (२ जनाको मृत्यु), वडा नं. ३ मा ३० जना (१ जनाको मृत्यु), वडा नं. ४ मा ७७ जना (१ जनाको मृत्यु) र वडा नं. ५ मा ११८ जना (७ जनाको मृत्यु) प्रभावित भएका छन् ।  उनले भनिन्, ‘पर्यटक, मजदुर तथा अन्य पेसाकर्मीहरू समावेश नभएकाले क्षति अझै बढ्न सक्ने अनुमान गरिएको छ ।  बाढीका कारण जनप्रतिनिधि, शिक्षक र निजामती कर्मचारीहरूसमेत प्रभावित भएका छन् ।’ गुरुङका अनुसार उत्तरगया गाउँपालिका वडा नं. १ की कार्यपालिका सदस्य ज्ञानु विक सम्पर्कविहीन छन् । त्यसैगरी, जनस्वास्थ्य निरीक्षक बलराम न्यौपाने, जनस्वास्थ्य अधिकृत प्रदिप न्यौपाने, अनमी दिनिसा शाही र कार्यालय सहयोगी रेप्पा तामाङ बेपत्ता रहेका छन् भने सूचना प्रविधि अधिकृत जनक आचार्यको मृत्यु भएको छ ।  साथै मिननाथ न्यौपाने, रमेश लामिछाने, संजिव तामाङ, नारायण बहादुर थापा, अजय कुमार यादव, ममता श्रेष्ठ, मनमाया तामाङ, सुक बहादुर तामाङ, प्रिन्सिपल सुरज डंगोल र सुष्मा तामाङ लगायतका शिक्षक तथा विद्यालय कर्मचारीहरू सम्पर्कविहीन छन् । भौतिक पूर्वाधारतर्फ गाउँपालिकाभर ६१३ परिवार पूर्ण रूपमा विस्थापित भएका छन् भने ६१८ घर पूर्ण रूपमा ध्वस्त भएका छन् । साथै २२ वटा टहरा तथा अन्य संरचनामा क्षति पुगेको छ । सार्वजनिक निकायहरूतर्फ उत्तरगया गाउँपालिकाको कार्यपालिका कार्यालय (कैदलेटार) र वडा नं. १ को सम्पर्क कार्यालय नौविशेमा क्षति पुगेको छ ।  यसबाहेक सामुदायिक स्वास्थ्य एकाइ, कृषि तथा पशु सेवा सम्पर्क केन्द्र, उत्तरगया आँखा केन्द्र, विभिन्न विद्यालयका १० वटा भवन, ८ वटा शौचालय र ३४ वटा कक्षाकोठाहरू क्षतिग्रस्त भएका छन् ।  बाढीले यातायात, विद्युत र सञ्चार सम्पर्क पूर्ण रूपमा विच्छेद गराएको छ । गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुवेशी-रसुवागढी सडकको वेत्रावती-मैलुङ खण्ड र वडा नं. १, २ र ३ जोड्ने सडक पूर्ण रूपमा क्षति भएको छ ।  ३ वटा पक्की पुल र ३ वटा झोलुङ्गे पुल बाढीले बगाएपछि आवतजावत तथा राहत सामग्री ढुवानीमा गम्भीर समस्या पैदा भएको छ भने वडा नं. १ मा विद्युत र सञ्चारको नेटवर्क पूर्ण रूपमा अवरुद्ध रहेको छ । विस्थापित र प्रभावितहरूलाई सुरक्षित राख्न विभिन्न स्थानमा होल्डिङ सेन्टर सञ्चालन गरिएको छ ।गाउँपालिकाभित्रका शिक्षालय आवि, भिमसेन स्थान, शिम्ले आवि, गणेश आवि र निलकण्ठ मावि छात्रावासमा गरी १७८ जना र नुवाकोट जिल्लाको विदुर तथा बट्टार क्षेत्रमा सारिएका ५३३ जना गरी कुल ७११ जना नागरिकले आश्रय लिइरहेका गाउँपालिकाकी उपाध्यक्ष गुरुङले बताइन् ।  उनका अनुसार राहत वितरणको क्रममा हालसम्म वडा नं. १ मा ११३, वडा नं. २ मा ७२, वडा नं. ३ मा १८, वडा नं. ४ मा ३२१ र वडा नं. ५ मा ४१७ गरी कुल ९४१ घरधुरीलाई राहत सामग्री वितरण गरिसकिएको छ । साथै भदौ १४ देखि १९ गतेसम्ममा विभिन्न ११५ वटा सरकारी, संघसंस्था तथा व्यक्तिगत तहबाट सहयोग प्राप्त भएको गुरुङको भनाइ छ ।  सडक र पुल भत्किएका कारण दुर्गम क्षेत्रहरूमा राहत पुर्‍याउन ठूलो चुनौती सामना गर्नुपरिरहेको उनले बताइन् । ‘अहिले पूर्णरुपमा विवरण आएको छैन् । सामान्य राहत वितरण गरिरहेका छौं । पूर्णरुपमा विवरण आएपछि उहाँलाई कहाँ राख्ने के गर्ने भन्नेबारे योजना बनाउँनेछौं,’उपाध्यक्ष गुरुङले भनिन् ।