विकासन्युज

एमाले पुनर्गठन प्रतिवेदनमा ओलीकै ‘ब्रेक’, केन्द्रीय कमिटीअघि फेरि सचिवालय

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनका लागि गठित कार्यदलले तयार पारेको प्रतिवेदनले अध्यक्ष केपी शर्मा ओलीको असहमतिका कारण अन्तिम रूप पाउन सकेको छैन । केन्द्रीय कमिटी बैठक बस्नुअघि प्रतिवेदन टुंग्याउने प्रयासस्वरूप एमालेले सोमबार बिहानै सचिवालय बैठक बोलाएको छ । ललितपुरमा आज बस्ने केन्द्रीय कमिटी बैठकअघि अहिले बिहान सचिवालय बैठक बस्ने तय भए पनि बैठक अझै बस्न सकेको छैन। कार्यदलले आइतबार तयार पारेको माइन्युटमा अध्यक्ष ओलीले दुईवटा विषयमा आपत्ति जनाएपछि सचिवालय बैठकबाट प्रतिवेदन अनुमोदन हुन नसकेको नेताहरूले बताएका छन् । कार्यदलले निर्वाचन समीक्षा र पार्टी पुनर्गठनसम्बन्धी तीनवटा छुट्टाछुट्टै प्रतिवेदनलाई एकीकृत गरेर एउटै दस्तावेज बनाएको थियो । महासचिव शंकर पोखरेलले तयार पारेको मूल प्रतिवेदनलाई आधार बनाएर केही बुँदा संशोधन गरी त्यसलाई सचिवालयमा लैजाने तयारी गरिएको थियो । तर, कार्यदलको निष्कर्षमध्ये १३ वटा समूहबाट प्राप्त सुझावलाई कुनै संशोधन नगरी प्रतिवेदनको अनुसूचीमा समावेश गर्ने प्रस्तावमा ओलीले असहमति जनाएका छन् । सुझावलाई जस्ताको तस्तै राख्ने विषय अध्यक्षले स्वीकार नगरेपछि प्रतिवेदनको अन्तिम रूपबारे विवाद उत्पन्न भएको हो । त्यसैगरी राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने प्रस्तावमा समेत ओलीको आपत्ति रहेको स्रोतको भनाइ छ । कार्यदलले पार्टीको आगामी पुनर्गठन प्रक्रियासँग जोडेर प्रतिनिधि परिषद् बैठक बोलाउनुपर्ने सुझाव दिएको थियो । यही विषयलाई लिएर पनि अध्यक्ष र कार्यदलबीच मतभेद देखिएको छ । कार्यदलमा रहेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल र सचिव डा। राजन भट्टराईसहितका बहुमत सदस्य भने कार्यदलको निष्कर्षबाट पछि हट्न तयार नभएपछि आइतबारको बैठकले अन्तिम निष्कर्ष निकाल्न सकेन । कार्यदलको प्रतिवेदनमाथि अध्यक्षको असहमति देखिएपछि त्यसलाई सच्याउने वा यथावत् सचिवालयमा लैजाने भन्ने विषय नै अहिलेको मुख्य पेच बनेको छ । त्यसैलाई टुंग्याउन केन्द्रीय कमिटी बैठकअघि पुनः सचिवालय बैठक राखिएको हो । स्रोतका अनुसार सोमबारको सचिवालय बैठकमा पनि दुवै विषयमा सहजै सहमति जुट्ने अवस्था देखिएको छैन । प्रतिवेदनमा सहमति नजुटे निर्वाचन समीक्षा र पार्टी पुनर्गठनसम्बन्धी प्रस्ताव केन्द्रीय कमिटीमा कसरी प्रस्तुत गर्ने भन्ने विषयसमेत अन्योलमा पर्नेछ । यसअघि कार्यदलले तीन प्रतिवेदनलाई एउटै बनाएर पार्टी नेतृत्वलाई बुझाउने तयारी गरे पनि अध्यक्षको असहमतिले अन्तिम चरणमै प्रक्रिया रोकिएको हो । आजको सचिवालय बैठकले प्रतिवेदनको विवाद टुंग्याउन सके मात्रै केन्द्रीय कमिटी बैठकमा पुनर्गठनसम्बन्धी प्रस्ताव औपचारिक रूपमा अघि बढ्नेछ ।

शाइन रेसुङ्गा डेभलपमेन्टको साधारण सभा असोज २८ मा, १६ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले १८औँ वार्षिक साधारण सभा आगामी असोज २८ गते आयोजना गर्ने भएको छ । बैंकको सञ्चालक समितिको असोज २ गते बसेको ३३९औँ बैठकले वार्षिक साधारण सभाको मिति, स्थान र लाभांश प्रस्ताव स्वीकृत गरेको हो । सभा बुटवलस्थित होटल सेफ्रन सीके प्रालि (हायात प्लेस) मा बिहान ११ः३० बजे सुरु हुनेछ । बैंकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावअनुसार ६ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गरिनेछ । बोनस सेयर वितरणपछि बैंकको जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने तथा त्यसअनुसार प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव पनि सभामा पेश गरिनेछ । वार्षिक साधारण सभा तथा प्रस्तावित लाभांश प्रयोजनका लागि बैंकले असोज १३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसअनुसार असोज १२ गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीले मात्रै सभा सहभागिता र प्रस्तावित लाभांश प्राप्त गर्नेछन् । सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्ने, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि छलफल हुनेछ । यस्तै, सञ्चालकको बैठक भत्ता तथा अन्य सुविधा वृद्धि गर्ने, आवश्यक परे नियामक निकायको निर्देशनअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अधिकार सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पनि सभाको कार्यसूचीमा समावेश गरिएको बैंकले जनाएको छ ।

चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण

काठमाडौं । चीनले नयाँ समूहका उपग्रहहरू सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । चीनको उत्तरी क्षेत्रमा रहेको शान्सी प्रान्तस्थित थाइयुआन उपग्रह प्रक्षेपण केन्द्रबाट स्थानीय समयअनुसार साँझ ६ बजेर ५० मिनेटमा लङ मार्च–२डी रकेटमार्फत उपग्रहहरू प्रक्षेपण गरिएको हो । पाइस्याट–२ १३ देखि १६ नाम दिइएका चारवटा उपग्रहलाई रकेटमार्फत अन्तरिक्षमा पठाइएको थियो । प्रक्षेपणपछि सबै उपग्रहहरू सफलतापूर्वक निर्धारित कक्षमा प्रवेश गरेका छन् । प्रक्षेपण केन्द्रका अनुसार यो अभियानसँगै लङ मार्च रकेट शृंखलाको कुल उडान संख्या ६६८ पुगेको छ । यो प्रक्षेपण चीनको अन्तरिक्ष कार्यक्रमअन्तर्गत नियमित रूपमा अघि बढिरहेको उपग्रह प्रक्षेपण अभियानको पछिल्लो कडी हो ।   

नेपाल राष्ट्र बैंकबाट बिदा भए ५ जना उपनिर्देशक

काठमाडौं । भदौ महिनामा नेपाल राष्ट्र बैंकका विभिन्न विभाग तथा कार्यालयमा कार्यरत पाँच जना उपनिर्देशकले बैंक सेवाबाट अवकाश पाएका छन् ।  राष्ट्र बैंकका अनुसार नेपालगञ्ज कार्यालयका प्रकाशकुमार धितालले भदौ १ गते, मुद्रा व्यवस्थापन विभागका उपनिर्देशक हरिगोविन्द महर्जनले भदौ १४ गते, बैंकिङ विभागका देवराज घिमिरेले भदौ १५ गते, टक्सार महाशाखाका धनबहादुर श्रेष्ठले भदौ १६ गते र सम्पत्ति तथा सेवा व्यवस्थापन विभागका इन्द्रप्रसाद शर्माले भदौ ३० गतेदेखि बैंक सेवाबाट अवकाश पाएका हुन् । मानव संसाधन व्यवस्थापन विभागका अनुसार उनीहरूले ५८ वर्षे उमेरहदका आधारमा बैंक सेवाबाट अवकाश पाएका हुन् ।

सुपर हेवा पावरले ३.१५ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । सुपर हेवा पावर कम्पनी लिमिटेडले सेयरधनीलाई ३.१५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । सञ्चालक समितिको असोज २ गते बसेको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज २५ गते काठमाडौं सानोभर्याङस्थित बुद्ध प्यालेस पार्टी भेन्यूमा बिहान ११:३० बजे १६औँ वार्षिक साधारण सभा बोलाएको छ ।  सभामा गत आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा सोही आर्थिक वर्षको लेखापरीक्षणसहितको वार्षिक वित्तीय विवरण पारित गर्नेछ ।  त्यस्तै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ । यसैगरी, सभाबाट सञ्चालक समिति गठन गर्ने प्रस्ताव रहेको छ । चार जना सञ्चालकको निर्वाचनसमेत साधारण सभामार्फत गरिने कम्पनीले जनाएको छ ।

हिमालयन बैंकबाट बाहिरिँदै ४ संस्थापक सेयरधनी

काठमाडौं । हिमालयन बैंकका चार जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गरेर बैंकबाट बाहिरिन लागेका छन् । बैंकका संस्थापक सेयरधनी अमिर रत्न डंगोल, मिना महर्जन, त्रिरत्न महर्जन र विश्वेश श्रेष्ठले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेका हुन् । बैंकका अनुसार अमिर रत्न डंगोलले १ लाख कित्ता, मिना महर्जनले ३ लाख ९३ हजार ६६९ कित्ता, त्रिरत्न महर्जनले ३ लाख १७ हजार ४७३ कित्ता र विश्वेश श्रेष्ठले ३८ हजार ९८२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् । यसअघि बैंकले विद्यमान संस्थापक सेयरधनीका लागि उक्त सेयर खरिद गर्न ३५ दिनको समय दिएको थियो । तोकिएको समयभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि निवेदन नआएपछि अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ । बैंकका अनुसार संस्थापक सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले नेपाल राष्ट्र बैंकको मापदण्डअनुसार आवश्यक योग्यता पूरा गरेको हुनुपर्नेछ । इच्छुक व्यक्ति तथा संस्थाले १५ दिनभित्र निवेदन दिनुपर्नेछ ।

यी हुन् सेयर बजारका ठूला १० कम्पनी, हाइड्रोमा सोलु

काठमाडौं । पछिल्लो एक महिनाको अवधिमा बजार पुँजीकरणका आधारमा विशाल बजार कम्पनी नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीमध्ये शीर्ष स्थानमा रहेको छ । नेप्सेका अनुसार भदौ मसान्तसम्ममा विशाल बजार कम्पनीको बजार पुँजीकरण १ खर्ब ६४ अर्ब ४१ करोड रुपैयाँ रहेको छ ।  यस्तै, बजार पुँजीकरणका आधारमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटीसी) दोस्रो स्थानमा रहेको छ । कम्पनीको बजार पुँजीकरण १ खर्ब ६० अर्ब २० करोड रुपैयाँ रहेको छ । त्यस्तै, नबिल बैंक लिमिटेड १ खर्ब ५१ अर्ब ५१ करोड ९१ लाख रुपैयाँ बजार पुँजीकरणसहित तेस्रो स्थानमा रहेको छ । नागरिक लगानी कोष १ खर्ब १७ अर्ब ७४ करोड ३१ लाख रुपैयाँ बजार पुँजीकरणसहित चौथो स्थानमा रहेको छ भने नेपाल पुनर्बिमा कम्पनी लिमिटेड १ खर्ब १२ अर्ब ७४ करोड ६३ लाख रुपैयाँसहित पाँचौँ स्थानमा रहेको छ । एभरेस्ट बैंक लिमिटेडको बजार पुँजीकरण ९९ अर्ब ८२ करोड ३० लाख रुपैयाँ र ग्लोबल आइएमई बैंक लिमिटेड ९८ अर्ब ३३ करोड ८९ लाख रुपैयाँ बजार पुँजीकरण रहेको छ । नेप्सेका अनुसार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बजार पुँजीकरण ६८ अर्ब ७३ करोड १४ लाख रुपैयाँ रहेको छ भने नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको ६५ अर्ब ५२ करोड ६९ लाख रुपैयाँ रहेको छ । त्यस्तै, सोलु हाइड्रोपावर लिमिटेड ६५ अर्ब ३० करोड रुपैयाँ बजार पुँजीकरणसहित शीर्ष १० कम्पनीको सूचीमा परेको छ ।

३ एजेण्डा पारित गर्न ओरियन्टल होटल्सले असोज २९ गते डाक्यो साधारण सभा

काठमाडौं । ओरियन्टल होटल्स लिमिटेडले आफ्नो २९औँ वार्षिक साधारण सभा आगामी असोज २९ गते बिहीबार आयोजना गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको निर्णयअनुसार साधारण सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ बजे बस्नेछ । सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२÷८३ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तनलगायत वार्षिक आर्थिक विवरण पारित गर्ने प्रस्ताव रहेको छ । यस्तै, लेखापरीक्षण समितिको सिफारिसमा चालु आर्थिक वर्ष २०८३÷८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ । कम्पनीले हालका लेखापरीक्षक सुबोध एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई पुनः नियुक्त गर्न सक्ने जनाएको छ । कम्पनीले साधारण सभाका लागि असोज १३ गतेदेखि असोज २९ गतेसम्म सेयर दाखिल खारेज बन्द गर्ने जनाएको छ । त्यसैले असोज १२ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कम्पनीको सेयर दाखिल खारेजका लागि प्राप्त भएका सेयरधनीलाई साधारण सभाको प्रयोजनका लागि सेयरधनी कायम गरिनेछ ।