विकासन्युज

आज सेयर कारोबार नहुने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज सोमबारको नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२ वटा कारोबार सदस्य कम्पनीको सर्भर राखिएको डाटा हब प्रालिको डाटा सेन्टरमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या आएको थियो । समस्या समाधानका लागि प्रयास भइरहेको भए पनि हालसम्म पूर्ण रूपमा समाधान हुन सकेको छैन । यस्तो अवस्थामा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने देखिएपछि आजको कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ । स्टक ब्रोकर एसोसिएसन अफ नेपालले समेत प्राविधिक समस्या समाधान नभएसम्म आजको नियमित कारोबार सत्र स्थगित गर्न नेप्सेसमक्ष निवेदन दिएको थियो । सोही आधारमा नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१(१०) अनुसार २०८३ असोज ५ गतेको सम्पूर्ण नियमित कारोबार स्थगित गरेको हो । नेप्सेले कारोबार स्थगित हुँदा लगानीकर्ता तथा सम्बन्धित पक्षमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ ।

सुमित प्रधान र मनिष ढकालले हाथवे इन्भेष्टमेन्टको सेयर बिक्री गर्ने

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडका दुई आधारभूत (संस्थापक) सेयरधनीले आफूले धारण गरेको ५ प्रतिशतभन्दा बढी सेयर बिक्री गर्ने मनसाय सार्वजनिक गरेका छन् । कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिएको जानकारीअनुसार संस्थापक सेयरधनी सुमित प्रधान र मनिष ढकाल ले आगामी तीन महिनाभित्र आफ्नो नाममा रहेको सेयर बिक्री गर्ने मनसायसहित कम्पनीमा निवेदन दिएका हुन् । कम्पनीका अनुसार सुमित प्रधानको नाममा ३ लाख ४८ हजार ६८६ कित्ता र मनिष ढकालको नाममा ३ लाख ३७ हजार ६१ कित्ता सेयर रहेको छ । नेपाल धितोपत्र बोर्डले जारी गरेको निर्देशनअनुसार कुनै आधारभूत सेयरधनीले आफूले धारण गरेको ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुअघि कम्तीमा १५ दिनअघि कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था छ । उक्त व्यवस्थाअनुसार दुवै सेयरधनीको सेयर बिक्री गर्ने मनसायबारे कम्पनीले नेप्सेमार्फत सार्वजनिक जानकारी गराएको जनाएको छ ।

ट्रम्पसँग कुराकानीपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने– ‘धेरै कुरा बदलिन सक्छ’

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेको र उनीहरू न्यूयोर्कमा भेट्न सहमत भएको बताएका छन् । जेलेन्स्कीले आइतबार राति सामाजिक सञ्जाल एक्समा ट्रम्पसँगको भेटले धेरै कुरा बदल्न सक्ने बताएका हुन् । उनले लेखेका छन्, ‘मैले भर्खरै राष्ट्रपति ट्रम्पसँग कुरा गरेँ। यो महत्त्वपूर्ण कुराकानी थियो र हामीले धेरै विषयमा छलफल ग‍र्यौं । हामी न्यूयोर्कमा भेट्न सहमत भएका छौं र यो भेटले धेरै कुरा बदल्न सक्छ। कुराकानी अघि बढिरहेको छ ।’ ‘मैले राष्ट्रपति ट्रम्पलाई स्टिभ विटकफ र जारेड कुशनरको किएभ भ्रमणका लागि धन्यवाद दिएँ । हामीले आवश्यक विषयमा विस्तृत छलफल ग‍र्यौं र उनीहरूले युक्रेनको अवस्थालाई प्रत्यक्ष रूपमा देखे। शान्तिको प्रयास हाम्रो पहिलो प्राथमिकता हो,’ उनले थपे । जेलेन्स्कीले अमेरिकी टोलीसँग मिलेर काम गरिरहेको र ठूलो कदम चाल्न तयार रहेको पनि जानकारी दिए । उनले लेखेका छन्, ‘मैले अमेरिकी राष्ट्रपतिलाई लिन्डसे ग्राहम विधेयकलाई कानुन बनाइदिएकोमा धन्यवाद दिएँ । हामी सबै शान्ति हुनुपर्छ भन्ने कुरामा सहमत छौं । युक्रेनको साथमा उभिने सबैलाई धन्यवाद ।’ लिन्डसे ग्राहम विधेयक हालै डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेपछि कानुन बनेको हो । यसअघि उक्त विधेयक अमेरिकी कांग्रेसबाट पारित भएको थियो । यो कानुनले अमेरिकी राष्ट्रपतिलाई रुसबाट कच्चा तेल वा प्राकृतिक ग्यास खरिद गर्ने शीर्ष पाँच देश, जस्तै भारत र चीनमाथि १०० प्रतिशतसम्मको भारी आयात शुल्क (ट्यारिफ) लगाउने अधिकार दिएको छ ।

टियागो ईभी किन्दा अफर, ४.३ लाख डाउनपेमेन्टमै घर लैजान सकिने

काठमाडौं । टाटा मोटर्सको नयाँ टियागो ईभी नेपाली बजारमा विशेष ‘जोयफुल विक’ अफरसहित उपलब्ध भएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ टियागो ईभी लक्षित गर्दै सीमित अवधिको यो अभियान सञ्चालन गरेको हो । सेप्टेम्बर १९ देखि २६ सम्म चल्ने अभियानमा ग्राहकले ४.३ लाख रुपैयाँ डाउनपेमेन्टमै नयाँ टियागो ईभी घर लैजान सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ‘एक्सचेन्ज, अपग्रेड, सेलिब्रेट’ भन्ने नारासहित सञ्चालन गरिएको अभियानको उद्देश्य पुरानो गाडी साटेर नयाँ विद्युतीय गाडीमा अपग्रेड गर्न चाहने ग्राहकलाई थप सहज र आकर्षक सुविधा उपलब्ध गराउनु हो । अभियानअन्तर्गत नयाँ टियागो ईभी बुकिङ गर्ने प्रत्येक ग्राहकले आकर्षक उपहार प्राप्त गर्नेछन् । साथै, पुरानो गाडी एक्सचेन्ज गर्दा बेस्ट एभर एक्सचेन्ज भ्यालुएसन को सुविधा पनि दिइने कम्पनीले जनाएको छ । यस अवधिमा गाडी खरिद गर्ने ग्राहकले निःशुल्क एक्सेसरिज, निःशुल्क वार्षिक सवारी कर र निःशुल्क होम चार्जिङ इन्स्टलेसन जस्ता अतिरिक्त सुविधा पनि पाउनेछन् । टाटा टियागो ईभी आधुनिक डिजाइन, सहज विद्युतीय ड्राइभिङ अनुभव र दैनिक प्रयोगका लागि उपयुक्त विशेषताका कारण नेपाली बजारमा लोकप्रिय विद्युतीय मोडलमध्ये एक मानिन्छ । कम्पनीका अनुसार इच्छुक ग्राहकले देशभर रहेका टाटा मोटर्सका आधिकारिक शोरुममा पुगेर टियागो ईभीको टेस्ट ड्राइभ गर्न, विस्तृत जानकारी लिन र उपलब्ध अफरको लाभ उठाउन सक्नेछन् । यो अभियान सेप्टेम्बर २६ सम्म मात्रै सञ्चालन हुनेछ ।

सामाजिक सञ्जालबाट धम्की दिने ‘मनोज मानव’ पक्राउ

काठमाडौं । सामाजिक सञ्जालबाट आधारहीन, भ्रामक तथा धम्कीपूर्ण सामग्री पोस्ट गर्ने एक व्यक्ति पक्राउ परेका छन् । आइतबार प्रहरीले सिरहा लहान नगरपालिका- २४ का मनोज मानव भन्ने मनोज कुमार महतो पक्राउ परेका हुन् । महतोलाई उदयपुरस्थित चतरा पुलपारिको एक होटलमा लुकिछिपी बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय उदयपुरको सहयोगमा पक्राउ गरेको हो । महतोले लामो समयदेखि उद्योगी, व्यवसायी, जनप्रतिनिधि, पत्रकार, नेता तथा राष्ट्रसेवक कर्मचारीलगायत विभिन्न व्यक्तिविरुद्ध बदनाम तथा चरित्रहत्या गर्ने गर्ने प्रहरीले उल्लेख गरेको छ । उनले आधारबिनाका सामग्री सामाजिक सञ्जालमा पोस्ट गर्दै आएको सिरहा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रमेशबहादुर पालले बताए । उनका अनुसार सामाजिक सद्भाव तथा सार्वजनिक शान्तिमा समेत असर परेको भन्दै परेको जाहेरी परेको थियो । उनीविरुद्ध साइबर अपराध तथा सार्वजनिक शान्ति खलल पार्न नहुने सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी पक्राउ पुर्जी जारी गरिएको प्रहरीले जनाएको छ।  पालका अनुसार महतोले आफूसँग स्वचालित हतियार रहेको र आफू पूर्व जनतान्त्रिकको लडाकु भएको भन्ने गरेका थिए । केही व्यक्तिलाई धम्की दिने गरेको तथा हतियारको फोटो पठाएर आपराधिक लाभसमेत लिएको भन्ने सूचना प्रहरीले प्राप्त गरेको जनाएको छ । महतोमाथि थप अनुसन्धान तथा कानुनी कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीले उनीबाट भएको भनिएको आपराधिक लाभ तथा धम्कीसम्बन्धी घटनाबाट पीडित भएका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय सिरहामा सम्पर्क गर्न अनुरोध गरेको छ।

माछापुच्छ्रे बैंकको वार्षिक साधारण सभा असोज २८ गते पोखरामा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को २८औँ वार्षिक साधारण सभा आगामी असोज २८ गते पोखरामा आयोजना गर्ने भएको छ । बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिएको जानकारीअनुसार वार्षिक साधारण सभा असोज २८ गते बिहान ११ बजे कास्कीको पार्दीस्थित होटल पोखरा ग्रान्डमा बस्नेछ । बैंकका अनुसार वार्षिक साधारण सभा तथा संक्षिप्त वार्षिक आर्थिक विवरणसम्बन्धी सूचना असोज ३ गते अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकमा प्रकाशित गरिएको छ । सभामा आर्थिक वर्ष २०८२/८३ का वित्तीय विवरण, सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा अन्य नियमित प्रस्तावमाथि छलफल र निर्णय हुने बैंकले जनाएको छ । माछापुच्छ्रे बैंक २०५४ सालमा पोखरामा स्थापना भएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्रप्राप्त वाणिज्य बैंक हो ।

थ्रीस्टार हाइड्रोपावरको साधारण सभा असोज २७ मा, १:१ हकप्रद सेयर प्रस्ताव

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले नवौं, दशौं र एघारौं वार्षिक साधारण सभा आगामी असोज २७ गते आयोजना गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको असोज २ गते बसेको बैठकले वार्षिक साधारण सभा र सञ्चालक निर्वाचनको मिति तय गरेको हो । कम्पनीका अनुसार साधारण सभा काठमाडौंको शंखपार्कस्थित स्टार दरबार प्रालिमा बिहान १० बजे सुरु हुनेछ । सभामा कम्पनीले एक बराबर एक (१:१) अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पेश गर्नेछ । साथै कम्पनीको पूँजी संरचना परिवर्तन, ठेगाना परिवर्तन तथा प्रबन्धपत्र र नियमावली संशोधनसम्बन्धी प्रस्ताव पनि छलफलका लागि राखिएको छ । यसैगरी, कम्पनीको सञ्चालक समितिमा एक महिला सहित तीन जना सञ्चालकको निर्वाचन गर्ने कार्यसूची पनि सभामा समावेश गरिएको छ । वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसअनुसार असोज १४ गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीले मात्र सभामा सहभागी हुन, मतदान गर्न र हकप्रद सेयरसम्बन्धी प्रस्तावमा अधिकार प्रयोग गर्न पाउनेछन् । सभामा आर्थिक वर्ष २०८०/८१, २०८१/८२ र २०८२/८३ का वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्ने, नयाँ लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि प्रस्तुत गरिने कम्पनीले जनाएको छ ।

भदौमा ब्रोकरको कमिसन १० प्रतिशत घट्यो, ३७ करोडमा कुनको कति ?

काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीहरूले भदौमा ३७ करोड रुपैयाँभन्दा बढी कमिसन आर्जन गरेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार भदौमा ९१ वटा ब्रोकर कम्पनीले कुल ३७ करोड १३ लाख ३० हजार रुपैयाँ कमिसन आर्जन गरेका हुन् । यो साउनको तुलनामा १० प्रतिशत अर्थात् ४ करोड १४ लाख रुपैयाँ कम हो । साउनमा ब्रोकर कम्पनीहरूले कुल ४१ करोड २७ लाख ३६ हजार रुपैयाँ कमिसन आर्जन गरेका थिए । भदौमा कुल कमिसन आम्दानीका आधारमा नासा सेक्युरिटिज (ब्रोकर नं. ५८) सबैभन्दा अगाडि रहेको छ । नासाले भदौमा २ करोड ७९ लाख ३२ हजार रुपैयाँ कमिसन आर्जन गरेको छ । सानी सेक्युरिटिज (ब्रोकर नं. ४२) ले १ करोड ३८ लाख ३५ हजार रुपैयाँ कमिसन आर्जन गर्दै दोस्रो स्थानमा रहेको छ । इम्पेरियल सेक्युरिटिज (ब्रोकर नं. ४५) ले १ करोड ३२ लाख ५८ हजार रुपैयाँ र अनलाइन सेक्युरिटिज (ब्रोकर नं. ४९) ले १ करोड ३० लाख ४ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् । त्यस्तै, भिजन सेक्युरिटिज (ब्रोकर नं. ३४) ले १ करोड २२ लाख ८५ हजार रुपैयाँ, दीपशिखा सेक्युरिटिज (ब्रोकर नं. ३८) ले १ करोड १२ लाख ४२ हजार रुपैयाँ, त्रिशक्ति सेक्युरिटिज (ब्रोकर नं. ४८) ले १ करोड १० लाख ६६ हजार रुपैयाँ र डायनामिक मनी म्यानेजर्स सेक्युरिटिज (ब्रोकर नं. ४४) ले १ करोड ५ लाख ५३ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् । एबीसी सेक्युरिटिज (ब्रोकर नं. १७) ले ८८ लाख ६३ हजार रुपैयाँ, आर्यतारा इन्भेस्टमेन्ट (ब्रोकर नं. ५७) ले ८५ लाख २१ हजार रुपैयाँ र नेपाल स्टक हाउस (ब्रोकर नं. १४) ले ८० लाख ४० हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् । क्यापिटल म्याक्स सेक्युरिटिज (ब्रोकर नं. ६२) ले ७५ लाख ९ हजार रुपैयाँ, प्रिमियर सेक्युरिटिज (ब्रोकर नं. ३२) ले ७३ लाख ७४ हजार रुपैयाँ, कोहिनूर इन्भेस्टमेन्ट (ब्रोकर नं. ३५) ले ६९ लाख ८६ हजार रुपैयाँ, दक्षिणकाली इन्भेस्टमेन्ट (ब्रोकर नं. ३३) ले ६९ लाख ५२ हजार रुपैयाँ र नबिल स्टक डिलर (ब्रोकर नं. ७७) ले ६८ लाख ९१ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् । त्यस्तै, ओपल सेक्युरिटिज (ब्रोकर नं. ४) ले ६१ लाख २८ हजार रुपैयाँ, श्री हरि सेक्युरिटिज (ब्रोकर नं. ५६) ले ५६ लाख ९५ हजार रुपैयाँ, कलश स्टक मार्केट (ब्रोकर नं. ७४) ले ५५ लाख ४८ हजार रुपैयाँ र सन सेक्युरिटिज (ब्रोकर नं. ६४) ले ५३ लाख ४४ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् । सुमेरु सेक्युरिटिज (ब्रोकर नं. ३९) ले ५३ लाख ८ हजार रुपैयाँ, अग्रवाल सेक्युरिटिज (ब्रोकर नं. ६) ले ५२ लाख २१ हजार रुपैयाँ र लिन्च स्टक मार्केट (ब्रोकर नं. ४१) ले ५१ लाख ६५ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् । क्रिस्टल कञ्चनजङ्घा सेक्युरिटिज (ब्रोकर नं. ५०) ले ४७ लाख ४३ हजार रुपैयाँ, एसियन सेक्युरिटिज (ब्रोकर नं. २६) ले ४७ लाख १३ हजार रुपैयाँ, प्रिमो सेक्युरिटिज (ब्रोकर नं. १६) ले ४६ लाख ३२ हजार रुपैयाँ र श्री कृष्ण सेक्युरिटिज (ब्रोकर नं. २८) ले ४३ लाख १ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् । त्यसपछि सुन्धारा सेक्युरिटिज (ब्रोकर नं. ५२) ले ४१ लाख ९० हजार रुपैयाँ, श्वेता सेक्युरिटिज (ब्रोकर नं. २५) ले ४१ लाख ५ हजार रुपैयाँ, सिप्रबी सेक्युरिटिज (ब्रोकर नं. २२) ले ३८ लाख ८० हजार रुपैयाँ, सिक्योर्ड सेक्युरिटिज (ब्रोकर नं. ३६) ले ३८ लाख ७३ हजार रुपैयाँ र दिव्या सेक्युरिटिज (ब्रोकर नं. ५९) ले ३८ लाख ६७ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् । भदौमा सबैभन्दा कम कमिसन आर्जन गर्नेमा मनी वल्र्ड सेयर एक्सचेन्ज (ब्रोकर नं. ७३) रहेको छ । उक्त कम्पनीले भदौमा ८३८ रुपैयाँ मात्रै कमिसन आर्जन गरेको नेप्सेको तथ्यांकमा उल्लेख छ ।  यस्तै, पाहि इन्भेस्टमेन्ट (ब्रोकर नं. ७९) ले ७१ हजार १४६ रुपैयाँ, बेनी सेक्युरिटिज (ब्रोकर नं. ९३) ले १ लाख १३ हजार रुपैयाँ, गरिमा सेक्युरिटिज (ब्रोकर नं. ७८) ले ३ लाख ४५ हजार रुपैयाँ, एस.पी.एस.ए. सेक्युरिटिज (ब्रोकर नं. ८७) ले ४ लाख ६५ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् ।  यस्तै, ट्रेडमो सेक्युरिटिज (ब्रोकर नं. ९८) ले ६ लाख ३ हजार रुपैयाँ, सजिलो ब्रोकर (ब्रोकर नं. ९०) ले ६ लाख ३६ हजार रुपैयाँ, भोले गणेश सेक्युरिटिज (ब्रोकर नं. ६१) ले ७ लाख ८२ हजार रुपैयाँ, ग्लोबल आईएमई सेक्युरिटिज (ब्रोकर नं. ८९) ले ९ लाख ४७ हजार रुपैयाँ, एलिट स्टक हाउस (ब्रोकर नं. ६८) ले ९ लाख ७४ हजार रुपैयाँ र सगरमाथा सेक्युरिटिज (ब्रोकर नं. १८) ले ११ लाख ४३ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् ।