अर्थमन्त्रीको भ्रमण उपलब्धिपूर्ण, सरकारलाई सुझाव
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको हालैको भारत भ्रमणलाई उपलब्धिमूलक र देशको आर्थिक हितका दृष्टिले सकारात्मक भएको निष्कर्ष निकालेको छ । रास्वपा सचिवालय बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता जगदीश खरेलले भ्रमणका क्रममा नेपाल–भारत आर्थिक सम्बन्ध, द्विपक्षीय साझेदारी र सहयोगका विषयमा महत्त्वपूर्ण छलफल भएको बताए । उनका अनुसार भ्रमणका क्रममा भारतीय पक्षबाट बाढी प्रभावित क्षेत्रका लागि प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गरिएको थियो । साथै, द्विपक्षीय हित, आर्थिक सहायता तथा आगामी आर्थिक साझेदारीका विषयमा भारतीय पक्षसँग विस्तृत छलफल भएको थियो । सरकारी अधिकारीसँगको औपचारिक भेटवार्ताका अतिरिक्त अन्य सरोकारवाला पक्षसँग समेत अर्थमन्त्री वाग्लेले फलदायी छलफल गरेको खरेलले जानकारी दिए । उनका अनुसार भ्रमणले नेपाल र भारतबीचको आर्थिक सहकार्यलाई थप अघि बढाउन आधार तयार गरेको पार्टीको निष्कर्ष छ । यसैबीच, अर्थमन्त्रीको भारत भ्रमणका क्रममा प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रीको कार्यकक्षलगायत औपचारिक द्विपक्षीय बैठकमा नेपालको राष्ट्रिय झण्डा राखिएको तस्बिर तथा तथ्यहरू रहेको रास्वपाले जनाएको छ । झण्डाको विषयलाई लिएर भइरहेको चर्चाप्रति रास्वपाले त्यसलाई सामान्य प्राविधिक विषयका रूपमा लिनुपर्ने धारणा राखेको छ । पार्टीले यस्तो विषयलाई अनावश्यक रूपमा उचाल्न आवश्यक नरहेको जनाएको छ । रास्वपाले अर्थमन्त्री वाग्लेको भारत भ्रमण समग्रमा नेपालको राष्ट्रिय हित र अर्थतन्त्रलाई थप चलायमान बनाउने दृष्टिले सकारात्मक रहेको निष्कर्ष निकालेको छ । यूएन महासभाका लागि सरकारलाई नीतिगत निर्देशन रास्वपा सचिवालय बैठकले प्रधानमन्त्री बालेन्द्र शाह र परराष्ट्रमन्त्री शिशिर खनाललाई संयुक्त राष्ट्रसंघको महासभामा नेपालको सहभागिताका लागि आवश्यक तयारी गर्न नीतिगत निर्देशनसमेत दिएको छ । बैठकले प्रधानमन्त्री, परराष्ट्रमन्त्रीसहित महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डललाई नेपालको पछिल्लो राजनीतिक तथा आर्थिक अवस्थासँगै अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने विषयमा केन्द्रित भएर तयारी गर्न सुझाव दिएको हो । रास्वपाको निर्णयमा भनिएको छ, ‘संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जान लाग्नुभएका सम्माननीय प्रधानमन्त्री, परराष्ट्र मन्त्रीलगायतको कार्यदललाई नेपालको भोटेकोशी विपदसँग जोडिएका बहुआयामिक पक्षहरू, बदलिँदो राजनीतिक परिस्थिति, समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वमञ्चमा नेपालको भूमिकाका विषयमा सम्बोधन केन्द्रित गर्नेगरी तयारी गर्न नीतिगत निर्देशन दिइएको छ ।’ बैठकले महासभालाई नेपालको विपद् व्यवस्थापन, बदलिँदो राजनीतिक परिस्थिति, आर्थिक समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वमञ्चमा नेपालको भूमिकाबारे नेपालको धारणा प्रभावकारी रूपमा प्रस्तुत गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएको छ ।
रुसी तेल उद्योगमा युक्रेनी प्रहार, जेलेन्स्कीले दिए यस्तो प्रतिक्रिया
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गए राति मस्को क्षेत्रमा गरिएको युक्रेनी हमलाले रुसलाई ठूलो क्षति पुगेको दावी गरेका छन् । सामाजिक सञ्जाल एक्समा एक भिडियो पोस्ट गर्दै उनले यस्तो दावी गरेका हुन् । जेलेन्स्कीले लेखेका छन्, ‘रुसका प्रमुख तेल उद्योग प्रतिष्ठानमध्ये एक र रुसको एउटा लजिस्टिक्स केन्द्रलाई निशाना बनाइएको छ । युद्ध जारी राख्न यी प्रतिष्ठानहरूले अर्बौं डलरको योगदान गरिरहेका छन् ।’ ‘देशका योद्धाहरूले गरेको सटीक कारबाहीका लागि म उनीहरूलाई धन्यवाद दिन्छु । यस क्रममा युक्रेनको सुरक्षा सेवाले मानवरहित आक्रमण, विशेष कार्यदल, युक्रेनी गुप्तचर सेवा र विदेशी गुप्तचर सेवासँग मिलेर काम गरेको छ,’ उनले थपे । जेलेन्स्कीले अब रुसले आफ्नो क्रूर युद्ध अन्त्य गर्नुपर्छ र शान्तिको बाटो रोज्नुपर्नेमा जोड दिए । मस्को क्षेत्रका गभर्नरले उक्त हमलामा दुई जनाको मृत्यु भएको र अन्य ६ जना घाइते भएको बताएका छन् ।
जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार
काठमाडौं । बाढीका कारण सडक यातायात अवरुद्ध भएपछि जटिल प्रसूति समस्या भएका दुई महिलाको हवाई उद्धार गरी काठमाडौं ल्याइएको छ । उत्तरगया गाउँपालिका- ३ निवासी ३० वर्षीया सुष्मा देवकोटा र ४ निवासी २६ वर्षीया अप्सरा भट्टमा जटिल प्रसूति समस्या देखिएपछि स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएकाले थप उपचारका लागि हवाई उद्धार गरिएको हो । दुवै महिलालाई हेलिकप्टरमार्फत काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल ल्याइएको हो । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा सडक तथा यातायात सेवा अवरुद्ध हुँदा आकस्मिक स्वास्थ्य सेवा आवश्यक पर्ने गर्भवती तथा सुत्केरी महिलालाई समयमै सुविधासम्पन्न अस्पतालसम्म पु‍र्याउन चुनौती उत्पन्न भएको छ ।
सहकारीहरू अनुत्पादक क्षेत्रमा लगानी गर्दा डुब्न पुगे : देव गुरुङ
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले सहकारी संस्थाहरू बचत तथा ऋण परिचालनमा मात्रै केन्द्रित भएर अनुत्पादक क्षेत्रमा लगानी गर्दा डुब्न पुगेको बताएका छन् । मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारी ठगीको जालो’ विमोचन कार्यक्रममा उनले अधिकांश सहकारीले घरजग्गामा कारोबार गर्ने गरेको बताएका हुन् । उनले नेपालमा सहकारी क्षेत्र आफ्नो मूल अवधारणाभन्दा बाहिर गएको आरोप लगाए । करिब ६५ प्रतिशत सहकारी संस्थाहरूले बचत तथा ऋण कारोबारमा मात्रै केन्द्रित भएको दाबी गरे । सहकारी माइक्रोफाइनान्स वा अर्धबैंकिङ मोडलमा केन्द्रित हुँदा उत्पादनमूलक क्षेत्रमा लगानी कमजोर बनेको उनको भनाइ छ । उनले सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए । हाल सहकारीको लगानी कृषि, घरेलु तथा औद्योगिक उत्पादनमा केन्द्रित हुन नसकेको उनको भनाइ छ । उनले कुल ऋण लगानीको करिब ४० देखि ५० प्रतिशत घरजग्गामा गएको दाबी गरे । घरजग्गामा भएको लगानी अनुत्पादक लगानी रहेको उनको भनाइ छ । कृषि उत्पादनमा मुस्किलले १० देखि १५ प्रतिशत मात्रै लगानी भएको उनले बताए । करिब ३० देखि ३५ प्रतिशत लगानी सेवामुखी क्षेत्रमा गएको र औद्योगिक क्षेत्रमा सहकारीको लगानी करिब ०.८५ प्रतिशत मात्रै रहेको उनको भनाइ छ । उनले उत्पादनमा आधारित सहकारी विकासका लागि राज्यले सहकारीले उत्पादन गरेका वस्तुको बजार सुनिश्चित गर्नुपर्ने बताए । उनले भने, ‘सहकारीहरू उत्पादनको दिशातर्फ जानुको सट्टामा बैंकिङको प्रिन्सिपलबाट जान थाल्यो । वैचारिक रूपले विचलन त्यहाँबाट सुरु भएको छ । ६० देखि ६५ प्रतिशत खाली बचत र ऋण दिने टाइपको मात्रै अथवा अर्धबैंकिङ, माइक्रोफाइनान्स टाइपको मोडलबाट गएछ । कृषि लगायतका घरेलु उद्योग लगायतका औद्योगिक क्षेत्रमा केन्द्रित हुनुपर्नेमा कृषि क्षेत्रमा केवल २५ देखि ३० प्रतिशत मात्रै लगानी गर्ने देखिन्छ । बहुउद्देश्यीय टाइपको १० प्रतिशत जति देखिन्छ ।’ उनले सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न कडा नियमन र कानुनी व्यवस्था आवश्यक रहेको बताए । उनले राज्यले सहकारीसँगै सहकारीबाट उत्पादित कृषि तथा अन्य वस्तुको बजार संरक्षण गर्ने नीति लिन आवश्यक रहेको उल्लेख गरे ।
मधेसमा रोकिएको रास्वपा अधिवेशनको गाँठो फुक्दै, अडिट समितिले बुझायो प्रारम्भिक प्रतिवेदन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेस प्रदेश महाधिवेशन रोकिएपछि त्यसका कारण खोज्न गठित अडिट समितिले प्रारम्भिक प्रतिवेदन पार्टी नेतृत्वलाई बुझाएको छ । आइतबार (आज) पार्टी केन्द्रीय कार्यालय चःमतीमा बसेको सचिवालय बैठकमा समितिका संयोजक तथा सहमहामन्त्री हरि ढकालले प्रारम्भिक प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनमा मधेस प्रदेशमा अधिवेशन प्रक्रिया अघि बढ्न नसक्नुका कारण र पार्टीभित्र देखिएका आन्तरिक समस्याबारे अध्ययन गरिएको छ । रास्वपा प्रवक्ता जगदीश खरेलले समितिले प्रारम्भिक प्रतिवेदन बुझाए पनि विस्तृत प्रतिवेदन भने तयार हुँदै गरेको जानकारी दिए । उनका अनुसार पूर्ण प्रतिवेदन तयार भएपछि पुनः पार्टीलाई बुझाउने समितिले जानकारी गराएको छ । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सामा मात्रै रास्वपाको धिवेशन सम्पन्न भएको छ । अन्य जिल्लामा अधिवेशन प्रक्रिया अघि बढ्न नसकेपछि पार्टीले सहमहामन्त्री ढकालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । मधेसमा अधिवेशन प्रक्रिया रोकिएको विषयलाई रास्वपाभित्रको संगठनात्मक चुनौतीका रूपमा हेरिएको छ । सचिवालय बैठकले अब रोकिएका पार्टी गतिविधिलाई निरन्तरता दिने निर्णयसमेत गरेको छ । पार्टीका केही विभागमा सदस्य मनोनयन गर्ने निर्णय पनि बैठकले गरेको खरेलले बताए । भोटेकोशी बाढी : डीएनए परीक्षणदेखि बेपत्ताको अवस्था यकिन गर्न सरकारलाई दबाब रास्वपाले बाढीपछि पहिचान हुन नसकेका शवको डीएनए परीक्षण तत्काल गर्न र पीडित परिवारलाई राहत उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ । अझै सम्पर्कविहीन नागरिकको अवस्था यथाशीघ्र यकिन गर्नुपर्नेमा पनि बैठकले जोड दिएको छ । कानुनी प्रक्रियाका कारण बेपत्ताको अवस्था यकिन गर्न समस्या भए आवश्यक कानुनी व्यवस्था गरेर परिवारको सहमतिमा प्रक्रिया अघि बढाउनुपर्ने रास्वपाको निष्कर्ष छ । यसैगरी, भदौ १० गते रसुवामा बाढी आएपछि स्थगित गरिएका पार्टीका गतिविधि आइतबारदेखि पुनः सञ्चालन गर्ने निर्णय पनि सचिवालय बैठकले गरेको छ । बैठकमा उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्लेले आफ्नो हालै सम्पन्न भारत भ्रमणबारे जानकारी गराएका थिए । सभापति रवि लामिछानेले पार्टी, संसद् र सरकारबीच समन्वय कायम गर्दै काम गर्न नेताहरूलाई निर्देशन दिएका छन् ।
संविधान संशोधन सामान्य गट्टी खेल जस्तो होइनः झलनाथ खनाल
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संशोधनको नाममा वर्तमान संविधानलाई विकार बनाउने खेल भइरहेको आरोप लगाएका छन् । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारी ठगीको जालो’ विमोचन कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् । उनले संविधान संशोधन तत्काल आवश्यक नरहेको बताए । पहिला संविधानको सीमावलोकन गरेर अनि संसोधन गर्नुपर्नेमा भएमा सर्वदलीय सहमतिमार्फत गर्नुपर्ने उनको भनाइ छ । तर अहिले संशोधनका नाममा संविधानको मर्म र भावनालाई कमजोर बनाउने प्रयास भइरहेको उनले बताए । खनालले भने, ‘अहिले संशोधनको नाममा यो संविधानलाई विकार र विकृति तर्फ लाने कोसिस भइरहेको छ । यो संविधानको कमसेकम मर्म र भावनालाई चाहिँ संशोधन गर्नु हुँदैन । यसमा भएका त्रुटिहरू, कमजोरीहरूलाई साँच्चै नै केलाएर संशोधन गर्ने कुरा बेग्लै हो । त्यो भन्दा अगाडि हामीले सीमावलोकन गर्नुपर्ने आवश्यकता छ ।’ उनले समय र सन्दर्भविना नै संविधान संशोधनको हल्ला चलाइएको बताए । ‘बेला न कुबेलाका मतलबी बाजाहरु बजाउँदै यो संशोधनका हल्लाहरु जो मचाइएका छन्, यी बिल्कुल अनर्थका कुराहरु हुन् । संविधान संशोधन भनेको सामान्य त्यो गट्टी खेल जस्तो होइन, ’ उनले भने । खनालले संविधान संशोधनलाई सामान्य राजनीतिक विषयका रूपमा नलिई गम्भीर र जिम्मेवारीपूर्वक अघि बढाउनुपर्नेमा जोड दिए । संशोधनको प्रक्रियामा सम्पूर्ण राष्ट्र तथा सबै राजनीतिक दललाई सहभागी गराई व्यापक छलफल गर्नुपर्ने उनको भनाइ छ ।
बजाजको निःशुल्क चेकअप क्याम्प, लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
काठमाडौं । चाडपर्वको समय नजिकिँदै गर्दा मोटरसाइकलको नियमित तथा पूर्वसावधानीपूर्ण मर्मतसम्भारलाई प्रोत्साहन गर्ने उद्देश्यले बजाजले राष्ट्रिय निःशुल्क चेकअप क्याम्प शुरुगरेको छ । असोज ४ गतेदेखि असोज ९ गतेसम्म सञ्चालन हुने यस क्याम्पअन्तर्गत नेपालभर रहेका कुनै पनि बजाज सर्भिस सेन्टरमा गई बजाज मोटरसाइकलको निःशुल्क व्यावसायिक चेकअप गराउन सकिने कम्पनीले जनाएको छ । चाडपर्वको समयमा यात्राको संख्या तथा दूरी बढ्ने भएकाले यात्राअघि मोटरसाइकलको अवस्था जाँच गरी सम्भावित मर्मतसम्भारका आवश्यकताहरू समयमै पहिचान गर्न बजाजले ग्राहकलाई प्रोत्साहित गरेको हो । निःशुल्क चेकअपका क्रममा थप मर्मतसम्भार वा पार्टपुर्जा फेर्नुपर्ने आवश्यकता देखिएमा ग्राहकले विभिन्न सेवामा विशेष छुटसमेत प्राप्त गर्न सक्नेछन् । क्याम्प अवधिभर लेबर चार्जमा ५० प्रतिशत, इन्जिन आयलमा १६ प्रतिशत, स्पेयर पाट्र्समा १० प्रतिशत र युरोग्रिप टायरमा १० प्रतिशत छुट उपलब्ध हुनेछ । बजाजका अनुसार, नियमित निरीक्षण तथा समयमै गरिने मर्मतसम्भारले सम्भावित समस्याहरूलाई ठूलो समस्या बन्नुअघि नै पहिचान गर्न सहयोग पुर्याउन सक्छ । त्यसैले चाडपर्वको यात्रामा निस्कनुअघि मोटरसाइकलको अवस्था जाँच गर्नु महत्वपूर्ण रहेको कम्पनीले जनाएको छ । यो क्याम्पका लागि ग्राहकले छुट्टै कार्यक्रमस्थल वा तोकिएको क्याम्पमा जानुपर्ने छैन । नेपालभर रहेका कुनै पनि बजाज सर्भिस सेन्टरमा असोज ४ देखि असोज ९ गतेसम्म पुगेर निःशुल्क चेकअप सेवा लिन सकिनेछ । बजाजले मोटरसाइकल बिक्रीपछिको सेवामा समेत ग्राहकसँगको सम्बन्धलाई निरन्तरता दिँदै आएको जनाएको छ । राष्ट्रिय निःशुल्क चेकअप क्याम्पमार्फत ग्राहकलाई सहज रूपमा व्यावसायिक सर्भिस तथा मर्मतसम्भार सुविधा उपलब्ध गराउँदै सुरक्षित, सहज र भरपर्दो चाडपर्वको यात्राका लागि मोटरसाइकल तयार राख्न सहयोग गर्ने कम्पनीको उद्देश्य रहेको छ । बजाजको यो राष्ट्रिय निःशुल्क चेकअप क्याम्पअन्तर्गत ग्राहकले मोटरसाइकलको निःशुल्क चेकअप गराउन सक्नेछन् । साथै, चेकअपका क्रममा थप मर्मतसम्भार आवश्यक परेमा ग्राहकले लेबर चार्जमा ५० प्रतिशत, इन्जिन आयलमा १६ प्रतिशत, स्पेयर पाट्र्समा १० प्रतिशत र युरोग्रिप टायरमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । थप जानकारीका लागि बजाजको २४७ हेल्पलाइन १६६००१७५५५५ वा ९८०१५७५५५५ मा सम्पर्क गर्न सकिनेछ ।
डेंगीको जोखिम बढ्दै, ९ महिनामा ५ हजार संक्रमित
काठमाडौं । नेपालमा डेंगी संक्रमण बढ्दो क्रममा देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन् २०२६ जनवरी १ देखि सेप्टेम्बर १५ सम्म देशका ७४ जिल्लाबाट ५ हजार २३८ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । महाशाखाले डेंगी संक्रमणको अवस्थालाई १५(१५ दिनमा विश्लेषण गर्दै आएको जनाएको छ । संक्रमण धेरै देखिएका जिल्ला तथा स्थानीय तहमा अवस्थाको विश्लेषण गरी रोकथाम तथा नियन्त्रणका लागि आवश्यक सुझाव र प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको महाशाखाले जनाएको छ । पछिल्लो तथ्यांकअनुसार झापा, बागलुङ, सुनसरी, पाल्पा, कास्की र दाङ लगायतका जिल्लामा डेंगी संक्रमण केही बढ्दै गएको देखिएको छ । स्थानीय तहको तथ्यांकमा सबैभन्दा धेरै संक्रमण बागलुङ नगरपालिका, भद्रपुर नगरपालिका, इटहरी नगरपालिका र पोखरा महानगरपालिका क्षेत्रमा देखिएको महाशाखाले जनाएको छ । बागलुङ नगरपालिकामा १ हजार १७, भद्रपुर नगरपालिकामा १०७, इटहरी नगरपालिकामा ११९ र पोखरा महानगरपालिकामा १८५ जनामा डेंगी संक्रमण पुष्टि भएको तथ्यांक छ । संक्रमण बढिरहेको बागलुङ नगरपालिकामा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले इण्टिमोलोजिस्ट, रोग अनुसन्धान विज्ञ ९फिल्ड इपिडिमियोलोजिस्ट० तथा प्रयोगशालाकर्मी सम्मिलित टोली परिचालन गरेको छ । टोलीले स्थानीयस्तरमा डेंगीको अवस्था अध्ययन गर्नुका साथै थप रोकथाम तथा नियन्त्रणका गतिविधि सञ्चालन गरिरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार डेंगी संक्रमण वर्षायामदेखि वर्षापछि समेत बढ्न सक्ने भएकाले लामखुट्टेको नियन्त्रणमा निरन्तर ध्यान दिन आवश्यक छ । यसका लागि सबै जिल्ला तथा स्थानीय तहमा रोकथाम तथा नियन्त्रणका गतिविधि सञ्चालन भइरहेका छन् । महाशाखाले डेंगी नियन्त्रणका लागि ‘श्रावण, भाद्र, आश्विन स् डेंगी सचेतना तीन महिने अभियान’ समेत सञ्चालन गरिरहेको छ । अभियानअन्तर्गत डेंगी सार्ने एडिस जातको लामखुट्टेको वासस्थान तथा प्रजननस्थलको निरन्तर निगरानी र व्यवस्थापन गर्न जोड दिइएको छ । घर, कार्यालय तथा सार्वजनिक स्थान आसपास पानी जम्न नदिने, पानी जम्ने भाँडाकुँडा नियमित सफा गर्ने र लामखुट्टेको सम्भावित प्रजननस्थल नष्ट गर्ने कार्यलाई प्राथमिकता दिन महाशाखाले आग्रह गरेको छ । महाशाखाले डेंगीको संक्रमण रोक्न सरकारी निकायको प्रयाससँगै स्थानीय तह, समुदाय तथा सर्वसाधारणको निरन्तर सहभागिता आवश्यक रहेको जनाएको छ ।