काठमाडौं । अमेरिकी कांग्रेसका दुवै सदनमा डेमोक्रेटिक पार्टीले बहुमत हासिल गर्ने सम्भावना बढ्दै गएपछि पूर्वराष्ट्रपति एवं डेमोक्रेटिक पार्टीका नेता बाराक ओबामाले प्रतिक्रिया दिएका छन् ।
ओबामाले सामाजिक सञ्जाल एक्समा लेख्दै अमेरिकी जनताले स्पष्ट सन्देश दिएको बताएका छन् ।
उनका अनुसार अमेरिकी जनता विभाजनकारी राजनीतिभन्दा एकतामा जोड दिने राजनीति चाहन्छन् । उनीहरू आफ्ना समस्याको ठोस समाधान दिन सक्ने नेता चाहन्छन् ।
उनले चुनावी नतिजा देशका विभिन्न भागबाट प्रतिस्पर्धा गरेका उत्कृष्ट उम्मेदवारका कारण सम्भव भएको बताएका छन् । यसमा यसअघि जित्ने सम्भावना निकै कम मानिएका क्षेत्रका उम्मेदवारसमेत रहेको उनले उल्लेख गरेका छन् ।
ओबामाले ती उम्मेदवारहरू फरक–फरक पृष्ठभूमि र राजनीतिक विचारधाराबाट आए पनि साझा मूल्य, जनसेवाप्रतिको विश्वास र आफ्ना निर्वाचन क्षेत्रका जनतालाई प्राथमिकता दिने प्रतिबद्धताले एकजुट भएको बताएका छन् ।
त्यस्तै, उनले निर्वाचन प्रक्रिया सफल बनाउन सहयोग गर्ने दुवै पार्टीका हजारौं निर्वाचन अधिकारी र स्वयंसेवकप्रति आभार व्यक्त गरेका छन् । उनीहरूले लोकतन्त्रको महत्त्वपूर्ण जिम्मेवारी जिम्मेवारीपूर्वक पूरा गरेको ओबामाको भनाइ छ ।
ओबामाले वर्तमान प्रशासनको कार्यकाल अझै दुई वर्ष बाँकी रहेको उल्लेख गर्दै अब आफूहरूको जिम्मेवारी थप सक्रिय भएर काम गर्नु रहेको बताएका छन् ।
उनले आफूहरूसँग अधिकार रहेको ठाउँमा परिवर्तन ल्याउने, आगामी दिनमा हुन सक्ने क्षति रोक्ने र भविष्यका लागि बलियो आधार तयार गर्ने काममा जुट्नुपर्ने बताएका छन् ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि मध्यावधि निर्वाचनको नतिजा स्वीकार गर्ने बताएका थिए ।
रिपब्लिकनलाई ठूलो धक्का, ट्रम्पमाथि हारको दोष