नेपालमा पर्यटक र लगानी भित्र्याउन पर्यटनमन्त्रीको अन्तर्राष्ट्रिय पहल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ले नेपालको पर्यटन प्रवर्द्धन र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारका लागि विभिन्न मुलुकका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गरेका छन् ।

बेलायतको लन्डनमा नोभेम्बर ३ देखि ५ सम्म आयोजना भइरहेको विश्व पर्यटन बजार (डब्ल्यूटीएम) २०२६ मा सहभागी हुने क्रममा मन्त्री पौडेलले भारत, संयुक्त अरब इमिरेट्स (यूएई) र श्रीलंकाका पर्यटनसम्बन्धी अधिकारीसँग भेटवार्ता गरेका हुन् ।

उनले भारतका संस्कृति तथा पर्यटनमन्त्री गजेन्द्र सिंह शेखावत, यूएईका अर्थ तथा पर्यटनमन्त्री अब्दुल्लाह बिन तुक अल मारी र श्रीलंकाका सहायक पर्यटनमन्त्री प्रा. रुवन रणतुङ्गेसँग छलफल गरेका थिए । उनले भारतकी राज्यसभा सदस्य, लेखिका तथा समाजसेवी सुधा मूर्तिसँग पनि अन्तरक्रिया गरेका छन् ।

भेटवार्तामा द्विपक्षीय पर्यटन सहकार्य सुदृढ गर्ने, हवाई सम्पर्क विस्तार गर्ने, पर्यटक आवागमन बढाउने, सांस्कृतिक आदानप्रदान प्रवर्द्धन गर्ने तथा पर्यटन क्षेत्रमा लगानी र निजी क्षेत्रबीचको सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

मन्त्री पौडेलले नेपालको पर्यटन क्षेत्रमा अन्तर्राष्ट्रिय साझेदारी र लगानीका लागि ठूलो सम्भावना रहेको उल्लेख गर्दै पर्यटनलाई आर्थिक समृद्धि, रोजगारी सिर्जना र सांस्कृतिक सम्बन्ध विस्तारको माध्यम बनाउनुपर्ने बताएका थिए ।

उनले नेपाललाई विश्व पर्यटनको आकर्षक, सुरक्षित र प्रतिस्पर्धी गन्तव्यका रूपमा स्थापित गर्न छिमेकी तथा अन्तर्राष्ट्रिय साझेदार मुलुकसँगको सहकार्यलाई परिणाममुखी बनाउने सरकारको लक्ष्य रहेको बताए ।

भेटवार्ताका क्रममा नेपालको सांस्कृतिक सम्पदा, हिमाली भूगोल, प्राकृतिक सौन्दर्य, साहसिक पर्यटन, आध्यात्मिक तथा वेलनेस पर्यटनका विशेषताबारे पनि छलफल भएको थियो ।

डब्ल्यूटीएम लन्डनमा नेपालले यस वर्ष दिगो तथा जिम्मेवार पर्यटन, हिमाली साहसिक गतिविधि, सांस्कृतिक सम्पदा, आध्यात्मिक अनुभव र वेलनेस पर्यटनलाई प्राथमिकताका साथ प्रस्तुत गरेको छ । सन् २०२७ लाई ‘नेपाल वेलनेस पर्यटन वर्ष’ का रूपमा प्रवर्द्धन गर्ने तयारीअनुसार योग, ध्यान, आध्यात्मिकता, मानसिक शान्ति र प्राकृतिक उपचारमा आधारित पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने प्रयास गरिएको छ ।

मन्त्री पौडेलले मेलामा नेपालको प्याभिलियन उद्घाटन गरेका छन् । पर्यटन बोर्डसहित सरकारी तथा निजी क्षेत्रका प्रतिनिधि, वायुसेवा कम्पनी, होटल, ट्राभल तथा टुर अपरेटर सहभागी नेपाली टोलीले मेलामा नेपालको पर्यटन प्रवर्द्धन गरिरहेको छ । मेलामा ३२ नेपाली पर्यटन कम्पनीले स्टल नम्बर एन८–५३० बाट आफ्ना सेवा, गन्तव्य र पर्यटकीय उत्पादनको प्रचार गरिरहेका छन् ।

यसैबीच, नेपालले हालैका बाढीपहिरोबाट प्रभावित क्षेत्रमा पुनःस्थापना तथा पुनर्निर्माणका काम जारी रहे पनि काठमाडौं, पोखरा, चितवन, लुम्बिनी, अन्नपूर्ण र सगरमाथालगायत प्रमुख पर्यटकीय गन्तव्यमा स्थानीय अवस्था र यात्रा परामर्शअनुसार पर्यटन गतिविधि सञ्चालन भइरहेको सन्देश अन्तर्राष्ट्रिय बजारमा दिएको छ 

‘नेपाल खुला छ’ (नेपाल इज ओपन) अभियानमार्फत नेपाल भ्रमणले स्थानीय व्यवसाय, रोजगारी र पर्यटनमा निर्भर समुदायको जीविकोपार्जनमा सहयोग पुर्याउने सन्देशसमेत प्रवाह गरिएको छ । 

Share News