काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेको र उनीहरू न्यूयोर्कमा भेट्न सहमत भएको बताएका छन् ।
जेलेन्स्कीले आइतबार राति सामाजिक सञ्जाल एक्समा ट्रम्पसँगको भेटले धेरै कुरा बदल्न सक्ने बताएका हुन् ।
उनले लेखेका छन्, ‘मैले भर्खरै राष्ट्रपति ट्रम्पसँग कुरा गरेँ। यो महत्त्वपूर्ण कुराकानी थियो र हामीले धेरै विषयमा छलफल गर्यौं । हामी न्यूयोर्कमा भेट्न सहमत भएका छौं र यो भेटले धेरै कुरा बदल्न सक्छ। कुराकानी अघि बढिरहेको छ ।’
‘मैले राष्ट्रपति ट्रम्पलाई स्टिभ विटकफ र जारेड कुशनरको किएभ भ्रमणका लागि धन्यवाद दिएँ । हामीले आवश्यक विषयमा विस्तृत छलफल गर्यौं र उनीहरूले युक्रेनको अवस्थालाई प्रत्यक्ष रूपमा देखे। शान्तिको प्रयास हाम्रो पहिलो प्राथमिकता हो,’ उनले थपे ।
जेलेन्स्कीले अमेरिकी टोलीसँग मिलेर काम गरिरहेको र ठूलो कदम चाल्न तयार रहेको पनि जानकारी दिए ।
उनले लेखेका छन्, ‘मैले अमेरिकी राष्ट्रपतिलाई लिन्डसे ग्राहम विधेयकलाई कानुन बनाइदिएकोमा धन्यवाद दिएँ । हामी सबै शान्ति हुनुपर्छ भन्ने कुरामा सहमत छौं । युक्रेनको साथमा उभिने सबैलाई धन्यवाद ।’
लिन्डसे ग्राहम विधेयक हालै डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेपछि कानुन बनेको हो । यसअघि उक्त विधेयक अमेरिकी कांग्रेसबाट पारित भएको थियो ।
यो कानुनले अमेरिकी राष्ट्रपतिलाई रुसबाट कच्चा तेल वा प्राकृतिक ग्यास खरिद गर्ने शीर्ष पाँच देश, जस्तै भारत र चीनमाथि १०० प्रतिशतसम्मको भारी आयात शुल्क (ट्यारिफ) लगाउने अधिकार दिएको छ ।