विकासन्युज

शय्या अभावले भक्तपुर क्यान्सर अस्पतालबाट बिरामी फर्किँदै

काठमाडौं ।  भक्तपुर क्यान्सर अस्पतालमा शय्या अभावका कारण उपचारका लागि आएका बिरामी फर्कनुपर्ने अवस्था भएको छ । साँघुरो पूर्वाधारका कारण भर्ना गरेर उपचार गर्नुपर्ने बिरामीलाई समेत सेवा दिन नसकिएको अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डा.उज्ज्वल चालिसेका अनुसार दैनिक करिब ३० जना क्यान्सरका बिरामीलाई भर्ना तथा डे–केयर उपचार आवश्यक पर्ने भए पनि शय्या अभावका कारण समस्या भएको हो । शल्यक्रिया र रेडियसनका लागि बिरामीले दुई सातासम्म कुर्नुपर्ने अवस्था रहेको उनले बताए । एक सय ६५ शय्या रहेको अस्पतालमा दैनिक ७ सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । तीमध्ये करिब ८० प्रतिशत क्यान्सरका बिरामी छन् । दैनिक ८–१० जनाको शल्यक्रिया, करिब ७० जनालाई किमोथेरापी र १५० जनालाई रेडियसन सेवा दिइँदै आएको अस्पतालले जनाएको छ । पूर्वाधार अभावका कारण उपचारका लागि आएका विपन्न बिरामीसमेत निजी अस्पताल वा भारत जान बाध्य भएको डा.चालिसेले बताए । अस्पतालका लागि चाँगुनारायणको छालिङ, सूर्यविनायक र मूलपानीमा जग्गा खोजिए पनि हालसम्म प्राप्त हुन सकेको छैन । 

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य निगरानी अभियान तिव्र, ११ हजारले पाए मनोसामाजिक सेवा

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, रोग निगरानी तथा खोप अभियानलाई तीव्रता दिइएको छ ।  बाढीमा परी घाइते भएका ३४४ जनामध्ये २९३ जना उपचारपछि डिस्चार्ज भएका छन् भने १५ जना अझै विभिन्न अस्पतालमा उपचाररत छन् । स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईका अनुसार असोज ४ गतेसम्म १९ वटा स्वास्थ्य संस्थाबाट प्राप्त विवरणमा बाढीपछि अस्पतालमा उपचार गराइरहेका १५ जना रहेका छन् । उपचारका क्रममा ४ जनाको मृत्यु भएको पुष्टि भएको छ । उपचाररतमध्ये त्रिवि शिक्षण अस्पतालमा ८ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ३ जना, पाटन अस्पतालमा २ जना तथा श्री वीरेन्द्र अस्पताल र बीएनबी अस्पतालमा १/१ जना उपचाररत छन् ।   बाढीपछि सम्भावित संक्रामक रोगको जोखिमलाई मध्यनजर गर्दै प्रभावित जिल्लामा रोग निगरानी प्रणालीलाई समेत सक्रिय बनाइएको छ । पछिल्लो २४ घण्टाको निगरानीमा २ जनामा सामान्य ज्वरो र १ जनामा एक्युट ग्यास्ट्रोएन्टेराइटिसको लक्षण देखिएको छ । मन्त्रालयका अनुसार हालसम्म झाडापखाला तथा अन्य ठूला सरुवा रोगको प्रकोप नियन्त्रणमै रहेको छ । हैजाविरुद्धको खोप अभियान तीव्र बाढी तथा विस्थापनपछि दूषित पानी र खाद्य पदार्थका कारण हैजा तथा अन्य पानीजन्य रोग फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा मुखबाट खुवाइने हैजाविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ । हालसम्म नुवाकोटमा ६५ प्रतिशत र रसुवामा ५०.४ प्रतिशत जनसंख्याले खोप लगाइसकेका छन् । उद्धारकर्मी तथा घाइतेलाई टिटानस–डिप्थेरिया खोपसमेत दिइएको छ ।  बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराउन ३४ वटा मेडिकल टोली परिचालन गरिएको छ । तीमध्ये ६ टोली हाल फिल्डमै सक्रिय छन् । परिचालित टोलीबाट हालसम्म ८ हजार २२६ जनाले स्वास्थ्य सेवा पाएका छन् ।  ११ हजारभन्दा बढीलाई मनोसामाजिक सेवा  बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिका कारण प्रभावितमा परेको मानसिक असर सम्बोधन गर्न मनोसामाजिक स्वास्थ्य सेवासमेत सञ्चालन गरिएको छ ।  मन्त्रालयका अनुसार ९१ जना विशेषज्ञ तथा परामर्शदाता फिल्डमा परिचालन भएका छन् । उनीहरूमार्फत हालसम्म ११ हजार ७८१ जनाले मनोसामाजिक प्राथमिक उपचार तथा परामर्श सेवा प्राप्त गरेका छन् । नुवाकोट, काठमाडौं, रसुवा र धादिङका २२ वटा होल्डिङ सेन्टरमा १ हजार ४५७ जना रहेका छन् । तीमध्ये ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती तथा अपाङ्गता भएका २६८ जनालाई प्राथमिकतामा राखेर स्वास्थ्य निगरानी भइरहेको छ ।  पछिल्लो २४ घण्टामा होल्डिङ सेन्टरमा रहेका २९६ जनाले स्वास्थ्य सेवा पाएका छन् । चार स्वास्थ्य संस्था पूर्ण क्षतिग्रस्त बाढीका कारण रसुवाका स्याफ्रुबेँसी, टिमुरे, टिमुरे हेल्थ डेस्क र मैलुङ सामुदायिक स्वास्थ्य एकाइ पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।  यस्तै, बैरेनी अस्पताल, चरौँदी आधारभूत स्वास्थ्य केन्द्र र बैरेनी आयुर्वेद औषधालयमा आंशिक क्षति पुगेको छ । क्षतिग्रस्त स्वास्थ्य संस्थाबाट सेवा प्रभावित नहोस् भनेर बैरेनी अस्पताल, चरौँदी आधारभूत स्वास्थ्य केन्द्र र बैरेनी आयुर्वेद औषधालयले वैकल्पिक स्थानबाट सेवा प्रवाह गरिरहेका छन् ।  बाढीका कारण दुई स्वास्थ्य संस्थामा पुग्ने बाटोसमेत अवरुद्ध भएको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईले जनाएको छ ।  सरकारले बाढी प्रभावित क्षेत्रमा तत्कालीन स्वास्थ्य सेवा सञ्चालनसँगै पानी तथा खाद्य स्वच्छता, रोग निगरानी, खोप, मनोसामाजिक सेवा र उच्च जोखिम समूहको स्वास्थ्य अवस्थालाई प्राथमिकतामा राखेर प्रतिकार्य अघि बढाएको छ ।

'रसुवा बाढीमा सम्पर्कविहीनहरू अब जीवित भेट्टिने सम्भावना कम छ, तर उद्धारमा अझै केन्द्रित छौँ'

काठमाडौं । गृह मन्त्रालयका सचिव केदारनाथ शर्माले रसुवा बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरू अब जीवित भेट्टिने सम्भावना नरहेको बताएका छन् । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले जीवित उद्धार गर्ने सम्भावना कम रहेको बताएका हुन् । यद्यपि खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको उनले बताए । उनले विशेष गरी जलविद्युत् आयोजनाका सुरुङहरूमा उद्धारको कार्यलाई जारी राखेको जानकारी दिए । कतिपय सुरुङमा प्रवेश गर्न भौगोलिक अवस्था, प्रविधिको अभाव तथा कठिन परिस्थितिका कारण लामो समय लागेको उनको भनाइ छ । अन्तर्राष्ट्रिय खोज तथा उद्धार विज्ञहरूले समेत घटनास्थलको भौगोलिक अवस्था कठिन रहेको बताएको उनले जानकारी दिए । सम्भावना रहेसम्म खोज तथा उद्धार जारी राख्ने विषयमा सुरक्षा निकायका प्रमुख तथा विपद् विज्ञहरूसँग छलफल भइरहेको उनको भनाइ छ । उनले खोज तथा उद्धारपछि राहत वितरण, पुनःस्थापना र पुनर्निर्माणको काम अगाडि बढाउने बताए । उनले भने, ‘अहिले हाम्रो ध्यान खोज र उद्धारमा नै छ । यसपछि विस्तारै राहतमा जान्छौँ । त्यसपछि पुनःस्थापना र पुनर्निर्माणको काम हुन्छन् । खोज र उद्धारमा अब जीवितै पाइने सम्भावना अलि कम छ, यद्यपि विपद् विज्ञ म होइन । अन्तर्राष्ट्रिय अभ्यास २१ दिनपछि पनि जीवितै पाइन्छन् भन्ने कुरा छ । अहिले अन्यत्र त हाम्रो त्यस्तो भेटिएको छैन ।’ उनले बाढी प्रभावित क्षेत्रका महिला तथा बालबालिकाको संरक्षण स्थानीय तहसँगको समन्वयमा भइरहेको पनि जानकारी दिए । बालबालिकाको संरक्षणका लागि राष्ट्रिय बाल अधिकार परिषद्का प्रतिनिधिहरू होल्डिङ सेन्टरमा परिचालन गरिएको उनको भनाइ छ । उद्धार गरिएका तथा अभिभावकबाट छुटेका बालबालिकाको व्यवस्थापन स्थानीय सरकारले गरिरहेको उनले बताए । स्थानीय तहमा कार्यरत गैरसरकारी संस्थाहरूले समेत केही होल्डिङ सेन्टरमा रहेका बालबालिकाको व्यवस्थापनमा सहयोग गरिरहेका छन् । हालसम्म बालबालिकाको अवस्थाबारे गम्भीर विचलन वा थप समस्या नदेखिएको उनको भनाइ छ ।

काठमाडौंमै नक्कली ३० लाख दिएर १० लाख रुपैयाँ ठगी गर्न खोज्ने दुई जना पक्राउ

काठमाडौं । नक्कली नोट देखाएर बढी रकम दिने प्रलोभनमा पारी ठगी गर्न खोज्ने दुई जना व्यक्ति पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–२३ का ४५ वर्षीय कृष्णप्रसाद लामिछाने र सर्लाहीको बागमती नगरपालिका–६ का ३२ वर्षीय दिनेश विक रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीका अनुसार शुक्रबार साँझ ५ बजे काठमाडौं महानगरपालिका- १४ बल्खुस्थित फलफूल बजारनजिक पीडितलाई बोलाई १० लाख रुपैयाँ ल्याउन लगाइएको थियो। उनीहरूले पीडितलाई १० लाख रुपैयाँको सट्टामा ३० लाख रुपैयाँ नक्कली नेपाली नोट दिने प्रलोभन देखाएका थिए । घटनाबारे अनुसन्धान गर्ने क्रममा खटिएको प्रहरी टोलीले बल्खुस्थित फलफूल बजारबाटै लामिछाने र विकलाई पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँले घट्यो, चाँदी बढ्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले घटेर ३ लाख ३ हजार ९ सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, सोमबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर ४ हजार ८ सय ५ रुपैयाँ पुगेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

रामबागमा केन्द्रीय सदस्य जुटे, च्यासलमा सचिवालय बैठक अझै जारी

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकका लागि अधिकांश केन्द्रीय सदस्य ललितपुरको झम्सिखेलस्थित रामबाग महलमा पुगिसकेका छन् । केन्द्रीय कमिटी बैठक बस्ने तयारी भइरहे पनि पार्टीको केन्द्रीय कार्यालय च्यासलमा जारी सचिवालय बैठक भने अझै टुंगिएको छैन । केन्द्रीय कमिटी बैठकका एजेन्डा तथा पार्टी पुनर्गठन र निर्वाचन समीक्षा कार्यदलको प्रतिवेदनलाई अन्तिम रूप दिने विषयमा सचिवालयमा छलफल जारी रहेको एक एमाले नेताले जानकारी दिए । सचिवालय बैठकले कार्यदलबाट आएका सुझाव तथा प्रतिवेदनमाथि आवश्यक निर्णय गरेपछि मात्रै केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने विषय टुंगो लाग्ने ती नेताले बताए ।  कार्यदलले निर्वाचन समीक्षा र पार्टी पुनर्गठनसँग सम्बन्धित विभिन्न प्रस्तावलाई समेटेर प्रतिवेदन तयार पारे पनि केही विषयमा अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरूबीच सहमति जुटाउन बाँकी रहेको बताइएको छ । च्यासलमा सचिवालय बैठक लम्बिँदा रामबागमा पुगेका केन्द्रीय सदस्यहरू भने केन्द्रीय कमिटी बैठक सुरु हुने प्रतीक्षामा छन् ।  आजको बैठकमा पार्टीको पछिल्लो राजनीतिक अवस्था, निर्वाचन परिणामको समीक्षा, संगठन पुनर्गठन तथा आगामी कार्यदिशासहितका विषयमा छलफल हुने तयारी छ । सचिवालय बैठकले टुंग्याउने निर्णय र प्रस्तावकै आधारमा केन्द्रीय कमिटी बैठकका एजेन्डा अन्तिम रूप दिइने भएकाले दुवै बैठकलाई एमालेभित्र महत्त्वपूर्ण रूपमा हेरिएको छ । रामबाग महलमा केन्द्रीय सदस्यहरू जम्मा भइरहे पनि च्यासलको सचिवालय बैठक कहिले सकिन्छ भन्नेमा स्पष्ट समय तय भइसकेको छैन ।  सचिवालय बैठक सकिएपछि मात्रै केन्द्रीय कमिटी बैठक औपचारिक रूपमा सुरु हुने सम्भावना छ ।

‘बिर्सिने समस्या सबै अल्जाइमर्स होइनन्’

आज विश्व अल्जाइमर्स दिवस । हरेक वर्ष सेप्टेम्बर २१ तारिखका दिन मनाइने यो दिवसको यसवर्षको नारा ‘जति छिटो थाहा पायो, त्यति नै राम्रो’ भन्ने राखिएको छ । रोगको पहिचान समयमै गर्ने र यो रोग हुन बढावा दिने मुख्य कारक तत्त्वलाई समयमै पहिचान गरेर बिर्सिने रोगबाट बच्न आह्वान गरिएको छ । यो दिवस सन् १९९४ देखि मनाउन थालिएको हो । विश्वको तथ्याङ्कअनुसार ६५ वर्षदेखि ७५ वर्षसम्मका पाँच प्रतिशत जनसङ्ख्या, ७५ वर्षदेखि ८५ वर्षसम्मका १३ प्रतिशत र ८५ वर्ष पार गरेका एक तिहाइ व्यक्तिमा अल्जाइमर्स हुने गरेको छ । सामान्य बिर्सने समस्या र अल्जाइमर्सबीचको फरक के हो ? रोग कसरी पहिचान गर्ने र यसको व्यवस्थापन कसरी गर्ने ? नेपालमा यसको अवस्था कस्तो छ ? यिनै विषयमा अन्नपूर्ण न्यूरो अस्पतालमा कार्यरत न्यूरो फिजिसियन डा. प्रतीक पौडेलसँग गरिएको कुराकानीको सम्पादित अंश : सामान्य रूपमा हुने बिर्सने समस्या र अल्जाइमर्सबीच कसरी फरक छुट्याउने ? उमेर बढ्दै जाँदा मानिसले कहिलेकाहीँ नाम, ठाउँ वा कुनै कुरा तत्काल सम्झन नसक्ने हुन सक्छ । केही समयपछि त्यो कुरा सम्झन सकिन्छ भने त्यसलाई सामान्य उमेरसँग सम्बन्धित बिर्साइका रूपमा लिन सकिन्छ । तर अल्जाइमर्समा पहिले राम्रोसँग परिचित रहेका कुरा नै क्रमशः बिर्सिँदै जान्छन् । उदाहरणका लागि, परिचित मानिसको नाम बिर्सने, पहिलेदेखि थाहा भएको बाटो बिर्सेर हराउने, लामो समयदेखि गर्दै आएको खाना पकाउने वा अन्य दैनिक काम गर्ने तरिका बिर्सने जस्ता समस्या देखिन सक्छन् ।  त्यससँगै चिडचिडापन, अनावश्यक शंका गर्ने बानी तथा आर्थिक कारोबार वा पैसासम्बन्धी सामान्य काम गर्न कठिनाइ पनि देखिन सक्छ । बिर्सने समस्या देखिँदैमा त्यसलाई अल्जाइमर्स मान्नु हुँदैन । बिर्सने समस्या विभिन्न कारणले हुन सक्छ । भास्कुलर डिमेन्सिया, पार्किन्सन्ससँग सम्बन्धित डिमेन्सिया, डिप्रेसन, फ्रन्टोटेम्पोरल डिमेन्सिया, थाइराइडको समस्या वा भिटामिन बी–१२ को कमीले पनि अल्जाइमर्ससँग मिल्दोजुल्दो लक्षण देखाउन सक्छ । त्यसैले बिर्सने समस्या देखिएपछि सबैभन्दा महत्त्वपूर्ण कुरा त्यसको कारण पहिचान गर्नु हो । कतिपय कारण उपचार गरेपछि सुधार गर्न सकिने पनि हुन्छन् । अल्जाइमर्स हुनुको मुख्य कारण के हो ? अल्जाइमर्सको शतप्रतिशत कारण अहिलेसम्म निश्चित भइसकेको छैन । वैज्ञानिक अध्ययनहरूले मस्तिष्कमा केही प्रोटिन असामान्य रूपमा जम्मा हुनु र अल्जाइमर्सबीच सम्बन्ध देखाएका छन् ।  परिवारमा अल्जाइमर्सको इतिहास हुनु तथा धूम्रपानजस्ता केही जोखिम कारकसँग पनि यसको सम्बन्ध देखिएको छ । तर एउटै कारणले सबै व्यक्तिमा अल्जाइमर्स हुन्छ भन्ने छैन । कुन उमेर समूहमा अल्जाइमर्स बढी देखिन्छ ? अल्जाइमर्स सामान्यतया उमेर बढ्दै गएपछि बढी देखिन्छ । विशेषगरी ५० वर्षपछि यसको जोखिम बढ्दै जान्छ । युवा उमेरमै सुरु हुने अल्जाइमर्स तुलनात्मक रूपमा दुर्लभ हुन्छ । अल्जाइमर्सको निदान कसरी गरिन्छ ? बिरामीमा देखिएका लक्षण, व्यवहारमा आएको परिवर्तन र दैनिक जीवनमा परेको प्रभावको मूल्यांकन गरिन्छ । परिवारका सदस्यबाट पनि बिरामीको व्यवहार र स्मरणशक्तिमा आएको परिवर्तनबारे जानकारी लिन्छौं । आवश्यकताअनुसार एमआरआईलगायतका परीक्षण गरिन्छ । यसले स्ट्रोक, अन्य प्रकारको डिमेन्सिया वा मस्तिष्कसँग सम्बन्धित अन्य समस्या छुट्याउन सहयोग गर्छ । अल्जाइमर्ससँग सम्बन्धित केही प्रोटिन तथा आनुवंशिक परीक्षण पनि गर्न सकिन्छ । तर यी परीक्षण महँगा हुन्छन् र सबै बिरामीमा अनिवार्य हुँदैनन् । धेरै अवस्थामा लक्षण, परिवारको जानकारी र चिकित्सकीय मूल्यांकनका आधारमा नै निदान गर्न सकिन्छ । अल्जाइमर्सको उपचार सम्भव छ कि छैन ?  अहिले सुरु भइसकेको अल्जाइमर्सलाई पूर्ण रूपमा निको पार्ने वा रोगलाई उल्टाएर पहिलेको अवस्थामा पुर्‍याउने औषधी उपलब्ध छैन । केही औषधीले रोगको प्रगति केही सुस्त बनाउन र बिरामीको जीवनस्तर कायम राख्न सहयोग गर्न सक्छन् । तर अल्जाइमर्सको व्यवस्थापनमा औषधीसँगै निरन्तर हेरचाह अत्यन्त महत्त्वपूर्ण हुन्छ । परिवारले अल्जाइमर्स भएका बिरामीको हेरचाह गर्दा के कुरामा ध्यान दिनुपर्छ ? बिरामीले खाना खान, कपडा लगाउन वा दैनिक काम गर्न बिर्सन सक्छन् । कतिपय अवस्थामा घरबाट बाहिर निस्केर हराउने समस्या पनि हुन सक्छ । त्यसैले सुरक्षित वातावरण बनाउनुपर्छ ।  सम्भव भएसम्म परिचित वातावरण, नियमित दिनचर्या र निरन्तर हेरचाह कायम राख्नु राम्रो हुन्छ । हेरचाह गर्ने व्यक्ति बारम्बार परिवर्तन हुँदा वा वातावरण परिवर्तन हुँदा कतिपय बिरामीमा चिडचिडापन र असहजता बढ्न सक्छ । न्यूरोलोजिस्टसँगै आवश्यकताअनुसार मनोचिकित्सक, मनोवैज्ञानिक र फिजियोथेरापिस्टको सहयोग पनि आवश्यक पर्न सक्छ । बिरामीको परिवार र हेरचाहकर्ताको मानसिक स्वास्थ्यलाई कत्तिको महत्त्व दिनुपर्छ ? अल्जाइमर्स भएका व्यक्तिको लामो समयसम्म हेरचाह गर्दा परिवारका सदस्यमा तनाव, थकान र चिन्ता देखिन सक्छ । त्यसैले बिरामीको मात्र होइन, हेरचाहकर्ताको मानसिक स्वास्थ्यमा पनि ध्यान दिनुपर्छ । नेपालमा अल्जाइमर्सको अवस्था र चुनौती के हो ? नेपालमा प्रमुख चुनौतीमध्ये एक समयमै पहिचान नहुनु हो । कतिपय मानिसले बिर्सने समस्यालाई उमेर बढेपछि हुने सामान्य कुरा भनेर बेवास्ता गर्छन् ।  परीक्षण तथा विशेषज्ञ सेवामा पहुँच, आर्थिक अवस्था र जनचेतनाको कमीका कारण पनि कतिपय बिरामी ढिलो मात्र चिकित्सककहाँ पुग्ने गरेका छन् । नेपालमा अल्जाइमर्स तथा डिमेन्सियाका बिरामीका लागि समूहगत हेरचाह, काउन्सिलिङ र अन्य सहयोगका पहलहरू विस्तार हुँदै छन् । तर यो क्षेत्र अझै विकासकै चरणमा छ । बिर्सने समस्या देखिएपछि कहिले चिकित्सकलाई देखाउनुपर्छ ? दैनिक जीवनमा असर पार्ने गरी स्मरणशक्तिमा लगातार समस्या देखिन थालेको छ भने चिकित्सकलाई देखाउनुपर्छ ।  विशेषगरी परिचित मानिस, ठाउँ वा काम बिर्सने, बारम्बार एउटै कुरा सोध्ने, आर्थिक कारोबार गर्न कठिन हुने वा घरबाट बाहिर निस्कँदा बाटो बिर्सिने जस्ता समस्या देखिएमा बेवास्ता गर्नु हुँदैन । किनभने सबै स्मरणशक्तिको समस्या अल्जाइमर्स हुँदैन । थाइराइडको कमी वा भिटामिन बी–१२ को कमीजस्ता उपचार गर्न सकिने अवस्थाले पनि यस्तो समस्या ल्याउन सक्छन् । त्यसैले पहिले सही निदान आवश्यक छ । अल्जाइमरको जोखिम कम गर्न वा मस्तिष्कलाई सक्रिय राख्न के गर्न सकिन्छ ? नियमित शारीरिक गतिविधि र व्यायाम उपयोगी हुन्छ । मस्तिष्कलाई सक्रिय राख्न पढ्ने, लेख्ने तथा आफूलाई रुचि लाग्ने बौद्धिक र सामाजिक गतिविधिमा संलग्न भइरहन सकिन्छ । समग्र स्वास्थ्यको राम्रो हेरचाह पनि महत्त्वपूर्ण हुन्छ । परिवारमा अल्जाइमर्सको बलियो इतिहास भएका व्यक्तिले चिकित्सकसँग सल्लाह गरेर आवश्यक परीक्षण र जोखिम मूल्यांकन गराउन सक्छन् । अन्त्यमा, विश्व अल्जाइमर्स दिवसको अवसरमा आम मानिसलाई तपाईं के सन्देश दिन चाहनुहुन्छ ? अल्जाइमर्सलाई बिर्सने रोग भनेर मात्रै बुझ्नु हुँदैन । स्मरणशक्तिमा आएको परिवर्तनको कारण समयमै पहिचान गर्नु महत्त्वपूर्ण छ । बिर्सने समस्या देखिँदैमा ‘यो त बुढ्यौलीको सामान्य समस्या हो’ भनेर बेवास्ता गर्नु हुँदैन । अल्जाइमर्सको व्यवस्थापनमा औषधी मात्र पर्याप्त हुँदैन । बिरामी, परिवार र हेरचाहकर्तालाई समेटेर निरन्तर हेरचाह, सुरक्षित वातावरण र आवश्यकताअनुसार विभिन्न स्वास्थ्यकर्मीको सहयोग आवश्यक हुन्छ । त्यसैले समस्या देखिएपछि जति छिटो पहिचान र मूल्यांकन गर्‍यो, त्यति नै राम्रो व्यवस्थापन गर्न सकिन्छ ।

आज सेयर कारोबार नहुने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज सोमबारको नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२ वटा कारोबार सदस्य कम्पनीको सर्भर राखिएको डाटा हब प्रालिको डाटा सेन्टरमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या आएको थियो । समस्या समाधानका लागि प्रयास भइरहेको भए पनि हालसम्म पूर्ण रूपमा समाधान हुन सकेको छैन । यस्तो अवस्थामा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने देखिएपछि आजको कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ । स्टक ब्रोकर एसोसिएसन अफ नेपालले समेत प्राविधिक समस्या समाधान नभएसम्म आजको नियमित कारोबार सत्र स्थगित गर्न नेप्सेसमक्ष निवेदन दिएको थियो । सोही आधारमा नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१(१०) अनुसार २०८३ असोज ५ गतेको सम्पूर्ण नियमित कारोबार स्थगित गरेको हो । नेप्सेले कारोबार स्थगित हुँदा लगानीकर्ता तथा सम्बन्धित पक्षमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ ।