सुमित प्रधान र मनिष ढकालले हाथवे इन्भेष्टमेन्टको सेयर बिक्री गर्ने

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडका दुई आधारभूत (संस्थापक) सेयरधनीले आफूले धारण गरेको ५ प्रतिशतभन्दा बढी सेयर बिक्री गर्ने मनसाय सार्वजनिक गरेका छन् ।

कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिएको जानकारीअनुसार संस्थापक सेयरधनी सुमित प्रधान र मनिष ढकाल ले आगामी तीन महिनाभित्र आफ्नो नाममा रहेको सेयर बिक्री गर्ने मनसायसहित कम्पनीमा निवेदन दिएका हुन् ।

कम्पनीका अनुसार सुमित प्रधानको नाममा ३ लाख ४८ हजार ६८६ कित्ता र मनिष ढकालको नाममा ३ लाख ३७ हजार ६१ कित्ता सेयर रहेको छ ।

नेपाल धितोपत्र बोर्डले जारी गरेको निर्देशनअनुसार कुनै आधारभूत सेयरधनीले आफूले धारण गरेको ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुअघि कम्तीमा १५ दिनअघि कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था छ ।

उक्त व्यवस्थाअनुसार दुवै सेयरधनीको सेयर बिक्री गर्ने मनसायबारे कम्पनीले नेप्सेमार्फत सार्वजनिक जानकारी गराएको जनाएको छ ।

Share News