तिहारको चौथो दिन आज गाईको पूजा

काठमाडौं । तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ । हिन्दू धर्ममा गाईलाई पवित्र जनावरका रूपमा पूजा गर्ने परम्परा रहिआएको छ ।

गाईको दूध आमाको दूधजत्तिकै पोषिलो हुने विश्वासका कारण गाईलाई गौमाताका रूपमा सम्मान गरिन्छ । दूध, गोबर र गहुँत प्राप्त हुने भएकाले पनि धार्मिक तथा सांस्कृतिक रूपमा गाईको विशेष महत्व रहेको छ ।

धार्मिक मान्यताअनुसार विधिपूर्वक गाईको पूजा गरी मीठा परिकार खान दिँदा पुण्य प्राप्त हुने विश्वास छ । नेपालका केही स्थान तथा समुदायमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने चलन रहे पनि शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको सुरुआतमा गाईपूजा गर्ने परम्परा छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीले विभिन्न धार्मिक कार्यमा गाईदान गर्ने परम्परासमेत अपनाउँदै आएका छन् । पछिल्लो समय गाईको अभावमा सङ्कल्प गरेर रकम राख्ने चलन बढेको धर्मशास्त्रका जानकार प्रा. डा. रामचन्द्र गौतमले बताएका छन् ।

गाईलाई राष्ट्रिय जनावरका रूपमा समेत सम्मान गरिएको छ । धार्मिक विश्वासअनुसार आज गाईको पूजा गरी साउन शुक्ल पूर्णिमाका दिन दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपछि गाईले वैतरणी नदी तारेर स्वर्ग पुर्याउने मान्यता रहिआएको छ ।

Share News