गुण्डुमा एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय सदस्यलाई पालिका इञ्चार्ज तोक्ने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा दिउँसो १ बजे बैठक बस्ने तय भएको छ । एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्मराज अधिकारीका अनुसार बैठकको मुख्य एजेन्डा नेताहरूको कार्य विभाजन रहेको छ । पार्टीको ११औँ महाधिवेशनपछि हालसम्म केन्द्रीय तहका नेताहरूको कार्य विभाजन हुन नसकेको कारण यो विषयलाई प्राथमिकतामा राखिएको हो । यसअघि जेठ २ गते बस्ने भनिएको बैठक तयारी नपुगेका कारण आजका लागि सारिएको थियो । पार्टीभित्रका एक पदाधिकारीका अनुसार केन्द्रीय सदस्यहरूलाई पालिकास्तरको जिम्मेवारी दिने तयारी गरिएको छ । प्रत्येक केन्द्रीय सदस्यलाई कुनै न कुनै स्थानीय तहको इन्चार्ज तोकेर संगठन सुदृढीकरण तथा आगामी स्थानीय तह निर्वाचनमा पार्टीको स्थिति बलियो बनाउने योजना रहेको छ । त्यसैगरी विभिन्न केन्द्रीय विभाग तथा निकायहरूको जिम्मेवारी बाँडफाँट पनि बैठकको एजेन्डामा रहेको छ । बैठकले गत फागुन २१ गते सम्पन्न निर्वाचनको समीक्षा गर्न केन्द्रीय कमिटी बैठक बोलाउने मिति पनि तय गर्ने जनाइएको छ ।
माछापुच्छ्रे बैंकले ८ वटा शाखा बन्द गर्ने
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले विभिन्न स्थानका ८ वटा शाखा बन्द गर्ने भएको छ । बैंकले विभिन्न स्थानका ८ वटा शाखा कार्यालय (समायोजन (मर्ज) गरी बन्द गर्ने भएको हो । बैंकका अनुसार साउन १८ गतेदेखि लागू हुने गरी शाखा समायोजन प्रक्रिया अघि बढाइनेछ । समायोजनपछि सम्बन्धित ग्राहकहरूले तोकिएको नजिकको शाखाबाट सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन् । बैंकका अनुसार चितवनको हाकिमचोक शाखा नारायणगढ शाखासँग गाभिनेछ । काठमाडौंको बालाजु शाखा गोंगबु शाखासँग समायोजन हुनेछ । त्यस्तै खुसीबु शाखा डल्लु शाखामा, कलंकी शाखा स्वयम्भु शाखामा, कोटेश्वर शाखा नयाँ बानेश्वर शाखामा, ठमेल शाखा दरबारमार्ग शाखामा गाभिनेछ । गण्डकी प्रदेशको लामाचौर शाखा बगर शाखामा र मधेश प्रदेशको वीरगञ्ज (लिंकरोड) शाखा आदर्शनगर शाखामा समायोजन हुने बैंकले जनाएको छ ।
नेपाल एयरलाइन्सले पाइलटसहित ५ जनालाई बर्खास्त गर्दै
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पाइलटसहित ५ जना कर्मचारीलाई सेवाबाट हटाउने प्रक्रिया अघि बढाएको छ । लामो समयदेखि बिनाअनुमति कार्यालयमा अनुपस्थित रहेका कर्मचारीविरुद्ध निगमले कारबाही प्रक्रिया सुरु गरेको हो । निगम सञ्चालक समितिको वैशाख ४ गते बसेको बैठकले लगातार लामो समयसम्म गैरहाजिर रहेका कर्मचारीलाई सेवाबाट हटाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार निगमले अन्तिम पटक स्पष्टीकरण पेश गर्न मौका दिएको हो । नेपाल वायुसेवा निगमका कर्मचारीहरूको सेवा शर्त सम्बन्धी विनियमावली, २०५८ को विनियम ९३ (१) (क) अनुसार विदा स्वीकृत नगराई लगातार ३० दिनभन्दा बढी कार्यालयमा अनुपस्थित रहने कर्मचारीलाई भविष्यमा निगमको सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने व्यवस्था छ । निगमको मानव संसाधन विभागले जारी गरेको सूचनाअनुसार बाटोको म्यादबाहेक सात दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पेश नगरे सेवाबाट हटाउने कारबाही अघि बढाइनेछ । कारबाही प्रक्रियामा परेका कर्मचारीमा प्रशासन अधिकृत उमेश कुमार साह, क्याप्टेन सञ्जय यांदे श्रेष्ठ, को-पाइलट विवेक प्याकुरेल, अटोमोबाइल इन्जिनियर सरोज कार्की र अटोमोबाइल इन्जिनियर विदित देवकोटा रहेका छन् ।
निजी क्षेत्रले भन्यो- बजेट नियमित दस्तावेज नहोस्, अर्थमन्त्रीले भने- पुरानो ढाँचा तोड्छौं
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आर्थिक रूपान्तरणको आधार बन्ने गरी ल्याउन सरकारलाई सुझाव दिएको छ । महासंघले आगामी बजेटलाई केवल नियमित वार्षिक दस्तावेज नभई नेपालको अर्थतन्त्रलाई नयाँ दिशातर्फ लैजाने अवसरका रूपमा लिन आग्रह गरेको हो । अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सुझाव पत्र बुझाउँदै महासंघले खस्किएको व्यावसायिक मनोबल उकास्ने, बजारमा माग सिर्जना गर्ने, रोकिएको निजी लगानी पुनः आकर्षित गर्ने तथा रोजगारी विस्तार गर्ने खालका नीतिगत सुधार बजेटमार्फत आउनुपर्ने बताएको छ । महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले महासंघले सार्वजनिक गरेको ‘६ स्तम्भ, ६० पहल’ सहितको साझा राष्ट्रिय रूपरेखाले सरकारको नीति तथा कार्यक्रमलाई सहयोग गर्ने बताए । उनले विप्रेषण (रेमिट्यान्स) र आयातमा आधारित अर्थतन्त्रले दीर्घकालीन समृद्धि दिन नसक्ने भन्दै उत्पादनमुखी अर्थतन्त्रतर्फ रूपान्तरण आवश्यक रहेको धारणा राखे । उनले बारम्बार कर नीति परिवर्तन हुँदा लगानीकर्ताको विश्वास कमजोर बनेको उल्लेख गर्दै स्थिर कर प्रणाली आवश्यक रहेको बताए । ‘हरेक वर्ष कर नीति फेरिने प्रवृत्तिले लगानीकर्ता निरुत्साहित भएका छन् । सालबसाली आर्थिक ऐनमार्फत हुने अस्थिर अभ्यास अन्त्य गरी व्याख्यासहितको एकीकृत राजस्व संहिता लागू गर्नुपर्छ,’ उनले भने । उनले अधिकारसम्पन्न राजस्व बोर्ड गठन तथा कर कानुन भूत प्रभावी रूपमा लागू नहुने स्पष्ट प्रत्याभूति आवश्यक रहेको पनि बताए । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले संरचनागत सुधार गर्ने गरी रूपान्तरणकारी बजेट ल्याउने तयारी गरिरहेको बताए । निजी क्षेत्रलाई सरकारको प्रमुख साझेदारका रूपमा लिइएको उल्लेख गर्दै उनले निजी क्षेत्रलाई आशावादी रहन आग्रह गरे । ‘हामीले राजनीतिमा परिवर्तन ल्याएका छौं, अब अर्थतन्त्रमा परिवर्तन ल्याउनुपर्छ । नयाँ जनादेश प्राप्त सरकारको यो पहिलो पूर्ण बजेट भएकाले यसले परम्परागत ढाँचा तोड्नुपर्छ,’ अर्थमन्त्री वाग्लेले भने, ‘निजी क्षेत्रको मनोबल खस्किएको र बजारमा माग घटेको अवस्थाप्रति सरकार संवेदनशील छ । आगामी बजेटले अर्थतन्त्रको मोडेलमै रूपान्तरणको आधार तयार गर्नेछ ।’ महासंघले हाल औद्योगिक उत्पादन क्षमता ४० प्रतिशतमा सीमित भएको, निर्माण क्षेत्र गम्भीर संकटमा पुगेको तथा कुल गार्हस्थ पुँजी निर्माणमा निजी क्षेत्रको योगदान चार वर्षमा २८ प्रतिशतबाट घटेर १६ प्रतिशतमा झरेको उल्लेख गरेको छ । महासंघका अनुसार पछिल्ला दुई दशकमा नेपालको औसत आर्थिक वृद्धिदर ४ प्रतिशत मात्रै रहँदा कर राजस्व वृद्धिदर भने ११ प्रतिशत पुगेको छ । जिडिपीको अनुपातमा राजस्व १९ प्रतिशत नाघेकाले नेपाल दक्षिण एसियाकै उच्च कर भार भएको मुलुकमध्ये एक बनेको महासंघको भनाइ छ । महासंघले उच्च करका कारण अनौपचारिक कारोबार, अवैध व्यापार र उद्यम पलायन बढेको दाबी गरेको छ । साथै मध्यपूर्वमा विकसित भू-राजनीतिक संकटका कारण नेपालको वैदेशिक रोजगारी, विप्रेषण र विदेशी मुद्रा सञ्चितिमा असर पर्न सक्ने तथा समग्र अर्थतन्त्रमा करिब १.८ प्रतिशत नकारात्मक प्रभाव पर्न सक्ने अनुमान पनि सार्वजनिक गरेको छ । अध्यक्ष श्रेष्ठले २०४५ सालपछि नेपालले पाएको जनसांख्यिक लाभ क्रमशः समाप्त हुँदै गएको उल्लेख गर्दै रेमिट्यान्सले धानेको अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा रूपान्तरण गर्नुको विकल्प नभएको बताए । उनले ‘स्वदेशी मन, स्वदेशी धन र स्वदेशी बन’ भन्ने सोचलाई नीतिगत प्राथमिकता दिन सरकारसँग आग्रह गरे । नेपाल अतिकम विकसित मुलुक (एलडिसी)बाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने चरणमा रहेको उल्लेख गर्दै महासंघले स्तरोन्नतिपछि प्राथमिकता प्राप्त बजार पहुँच गुम्ने जोखिम औंल्याएको छ । ढुवानी र वित्तीय लागतका कारण नेपाली उत्पादन अझ कमजोर हुन सक्ने भन्दै महासंघले कपडा, कार्पेट, गार्मेन्ट, पश्मिना र फेल्ट उद्योगका लागि दीर्घकालीन एकीकृत नीति ल्याउन माग गरेको छ । अर्थमन्त्री वाग्लेले पोस्ट-एलडिसी अवस्थाबारे सरकार गम्भीर रहेको बताउँदै तयारीसहित अगाडि बढ्नुपर्नेमा जोड दिए । महासंघले नेपाली कम्पनीलाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्न निर्यातबाट आर्जित आम्दानीको निश्चित हिस्सा विदेशमा लगानी गर्न पाउने कानुनी व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ । साथै खुला सीमाबाट हुने चोरी पैठारी नियन्त्रण गर्न र साफ्टा अन्तर्गत तयारी वस्तु कच्चा पदार्थभन्दा सस्तो आयात हुने अवस्थालाई रोक्न माग गरेको छ । रूग्ण उद्योग पुनः सञ्चालनका लागि विशेष योजना ल्याउन, ऊर्जा, प्रसारण लाइन, पम्प स्टोरेज, सुरुङमार्ग तथा औद्योगिक पूर्वाधारमा बुट र पीपीपी मोडल प्रभावकारी बनाउन तथा ‘भायबिलिटी ग्याप फण्ड’मार्फत निजी लगानी प्रोत्साहन गर्न पनि महासंघले सरकारलाई सुझाव दिएको छ । महासंघले कृषि, पर्यटन, जडीबुटी, चिया, कफी, सूचना प्रविधि र सेवा निर्यातलाई उच्च प्राथमिकतामा राख्न आग्रह गर्दै नेपाललाई उपभोक्ता बजारबाट उत्पादन तथा सेवा निर्यात गर्ने अर्थतन्त्रमा रूपान्तरण गर्न बजेटमार्फत ठोस कदम चाल्नुपर्ने जनाएको छ । अर्थमन्त्री वाग्लेले सरकार र निजी क्षेत्र मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी बजेट सुशासन कायम गर्ने, निजी क्षेत्रको विकासलाई प्रोत्साहन गर्ने, लगानी वृद्धि र रोजगारी सिर्जनामा सहयोग पुग्ने गरी ल्याइने बताए ।
नेपालगञ्जमा गर्मी बढेपछि प्राधिकरणले थग्यो ५ वटा नयाँ फिडर
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले विद्युत् आपूर्ति सुधार गर्न ५ वटा नयाँ फिडर थप गरेको छ । १६ वटा फिडरबाट आपूर्ति हुँदै आएकामा नेपालगञ्जमा हुने गर्मीलाई मध्यनजर गर्दै ५ वटा नयाँ फिडर थप गरेर विद्युत् आपूर्ति सुधारलाई निरन्तरता दिएको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रले जानकारी दिए । ‘विगतमा १६ वटा फिडरबाट गाउँ र सहरसम्म विद्युत् आपूर्ति हुँदै आएको अहिले ५ वटा नयाँ फिडर थप गरी गाउँ र सहरको फिडर छुट्याएका छौँ,’ उनले भने, ‘छुट्टा छुट्टै फिडर भएकाले गाउँ र सहर दुवै ठाउँमा विद्युत् वितरण र भोल्टेजमा सुधार आएको छ ।’ वितरण लाइनको मसिनो तारलाई पनि व्यवस्थापन गर्दै फिडर थप गरेपछि अहिले बाँके जिल्लामा भोल्टेज कम भएको गुनासो आउन छाडेको छ । फिडरसँगै आवश्यक ठाउँमा नयाँ ट्रान्सफर्मरसमेत थप गरिएको मिश्रले बताए । विद्युतको बढ्दो मागलाई व्यवस्थापन गर्नका लागि पनि पूर्वाधार विकासलाई प्राथमिकता दिँदै आएको उनको भनाइ छ । बाँके जिल्लामा विद्युत् सेवा सुधार र चुहावट नियन्त्रणका लागि नेपालगन्ज वितरण केन्द्रले मिटर अनुगमन, हुकिङ गर्ने वा मिटरमा गडबडी गर्ने ग्राहकमाथि सार्वजनिक बिदाको दिनसमेत स्थलगत निरीक्षण गर्दै सिँचाइ, घरेलु तथा अन्य ग्राहकको सेवा अवस्थाबारे अनुगमन गरिरहेको छ । सेवा सुधार, चुहावट नियन्त्रण अभियानले पछिल्ला महिनाहरूमा बाँकेमा विद्युत् आपूर्तिमा सुधार देखिएको छ । नयाँ फिडर थपिएपछि ओभरलोडको समस्या घटेका कारण गर्मीयाममा समेत आपूर्ति अवरुद्ध नहुने केन्द्र प्रमुख मिश्रको दाबी छ । नेपालगन्ज वितरण केन्द्र नोलाइट शाखामार्फत महत्त्वपूर्ण स्थानहरूमा नाङ्गो तार हटाई केबुल विस्तारको काम भइरहेको छ । मर्मत शाखाले पनि नियमित अनुगमनमार्फत आपूर्ति अवरोध हुन नदिन आवश्यक सतर्कता अपनाएको कारण विद्युत् चोरी नियन्त्रण, दुरुपयोग न्यूनीकरण तथा सेवा प्रवाहमा थप सुधार आएको उनको भनाइ छ ।
कोरला नाकामा बिटिएस उपकरण जडान, २४सै घण्टा नेटवर्क र इन्टरनेटको सुविधा
काठमाडौं । मुस्ताङको नेपाल-चीन उत्तरी कोरला नाका दशगजा क्षेत्रमा माइक्रोवेब बिटिएस टावरका लागि थप उपकरण जडान गरिएको छ । लोमान्थाङ गाउँपालिकाको समन्वयमा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखरा र नेपाल टेलिकम जोमसोम कार्यालयको टोलीद्वारा शनिबार कोरला नाकामा थप सञ्चार उपकरण जडान गरिएको जनाएको छ । कोरला नाकामा तीन वर्षअघि नेपाल टेलिकम जोमसोमले सञ्चारको पहुँच स्थापित गर्न माइक्रोवेब रेडियो लिङ्कको बिटिएस टावर जडान गरेको थियो । कोरला नाकामा त्रिपाल टाँगेर व्यापार गरी बस्ने व्यवसायी र अवलोकनका लागि जाने पर्यटकको सहजताका लागि सञ्चारको पहुँच स्थापित गरिएको थियो । कोरला नाकामा सञ्चारको पहुँच स्थापना गरिएको भए पनि माइक्रोवेब रेडियो लिङ्कका लागि उपकरण क्षमता कम हुँदा सञ्चार सुविधा भरपर्दो बन्न सकेको थिएन । नेपाल विद्युत प्राधिकरणले विद्युत् पोल विस्तार गरिसकेको भए पनि प्रसारण लाइन सञ्चालनमा आएको छैन । नाकामा विद्युतीय सेवा नहुँदाको विकल्पमा सौर्य ऊर्जाको सहायताबाट टावर सञ्चालन गरिएको थियो । जोमसोमस्थित टेलिकम कार्यालयका प्रमुख हुमबहादुर भुजेलका अनुसार कोरलानाकामा देखिएको टेलिफोन र इन्टरनेट समस्या समाधान गर्न सौर्य ऊर्जाको बिटिएस टावर क्षमता वृद्धि गर्न ब्याट्री र सोलार प्यानलको क्षमता दोब्बर पारिएको छ । कोरला नाकामा खटिएका प्राविधिकसहितको टोलीले यहाँ रहेको माइक्रोवेब रेडियो लिङ्कको बिटिएस टावरलाई सहज रूपमा सञ्चालन गर्न तथा टुजी र फोरजी बिटिएस टावरको ब्याट्री ब्याकअफ र सोलार प्यानलको सङ्ख्या बढाइएको प्रमुख भुजेलको भनाइ छ । उनका अनुसार बिटिएस टावरका लागि २० वटा सोलार प्यानल र १५० एम्पियरको तीनवटा ब्याट्री ब्याकअफ थप गरिएको हो । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले बिटिएस टावरको क्षमता बढाइपछि २४सै घण्टा मोबाइल नेटवर्क र इन्टरनेटको सुविधा राम्रो भएको बताए । कोरलानाका टुजी र फोरजीसहितको मोबाइल नेटवर्कमा सुधार गरिएसँगै व्यापारी तथा पर्यटकलाई सहज भएको छ ।
आजको मौसम: केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम पानी परिरहेको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा र हिमपात तथा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी पहाडी र हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागमा तापक्रम बढ्ने सम्भावना रहेको छ । आज राति कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ, बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
नेपाल र स्कटल्याण्ड भिड्दै, नेपालले जित्नै पर्ने दबाब
काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान ९:३० बजे सुरु हुनेछ । नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा हालसम्म तीन खेल सकिएका छन् । जसमध्ये स्कटल्याण्ड आफ्ना दुवै खेलमा विजयी भएको छ । स्कटल्याण्डले पहिलो खेलमा नेपाललाई डकवर्थ लिइस नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि स्कटल्याण्डले अमेरिकालाई सोही नियमका आधारमा दुई रनले नै पराजित गरेको थियो । तेस्रो खेल नेपाल र अमेरिकाबीच भएको थियो । गत शनिबार सम्पन्न उक्त खेलमा नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेको थियो । आजको खेलमा नेपाल स्कटल्याण्डलाई पराजित गर्दै विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुने सम्भावनालाई जीवितै राख्न चाहन्छ । आइसिसी क्रिकेट विश्वकप लिग-२ को अङ्क तालिकामा नेपाल सातौं स्थानमा छ । नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन अब बाँकी सबै १० वटा खेल जित्नुपर्छ भने एक दिवसीय मान्यता जोगाउन शीर्ष छ स्थानमा रहनु आवश्यक छ । त्यसैले आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ । नेपाल अहिले २६ खेलपछि नौमा जित, १५ मा हार र दुई खेलमा अनिर्णित हुँदै २० अङ्कका साथ तालिकाको सातौं स्थानमा छ । साथै स्कटल्याण्ड पहिलो स्थानमा छ । स्कटल्याण्डले ३० खेलमध्ये १६ मा जित, ८ मा हार र ६ वटा खेल अनिर्णित हुँदा कूल ३८ अङ्क जोडेको छ ।