रसुवा बाढीपछि उद्धारका लागि यस्तो छ सरकारको तयारी

काठमाडौं । तिब्बततर्फबाट आएको बाढीका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले उद्धार तथा राहतका लागि तयारी गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार विपद्को सम्भावित जोखिम न्यूनीकरण तथा उद्धार र राहत कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई परिचालन गरिएको छ । 

सरकारले विपद् व्यवस्थापन प्राधिकरणलाई पनि सक्रिय बनाएको छ। साथै, तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई निर्देशन दिइएको छ ।

सम्भावित उद्धार तथा राहत कार्यका लागि देशभरका हेलिकप्टरलाई स्ट्यान्डबाइमा राख्नसमेत भनिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । 

यसैबीच, भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन हुँदै बग्ने नदी तथा खोलाका तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ ।

Share News