रसुवा बाढीपछि उद्धारका लागि सेना, एपीएफ र प्रहरी परिचालन : बालेन शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह ले रसुवामा आएको भीषण बाढीपछि उद्धार, राहत र विपद् व्यवस्थापनका लागि सुरक्षा निकाय परिचालन गरिएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा बस्न र आधिकारिक उद्धार सूचनाको प्रतीक्षा गर्न आग्रह गरेका छन्  ।

बालेनले नेपाली सेना, सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल प्रहरीलाई उद्धार तथा राहत कार्यमा परिचालन गरिएको उल्लेख गरेका छन् । प्रभावित क्षेत्रमा अन्य जिल्लाबाट समेत अतिरिक्त जनशक्ति पठाउने प्रक्रिया सुरु भइसकेको उनले बताएका छन् ।

उनका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सक्रिय रूपमा समन्वयमा जुटेको छ । मेडिकल टोली, नेपाल स्काउट, नेपाल रेडक्रस लगायतका निकायसँग समन्वय गर्दै आवश्यक उद्धार र राहतका काम अघि बढाइएको छ । अतिरिक्त एम्बुलेन्स र स्वास्थ्यकर्मी पनि प्रभावित क्षेत्रमा पठाउने तयारी भइरहेको उनले उल्लेख गरेका छन्  ।

बालेनले रसुवा र तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई तत्काल सुरक्षित स्थानमा सार्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको जानकारी दिएका छन् । जोखिममा रहेका बासिन्दालाई एसएमएस र फोनमार्फत सतर्कता सूचना पठाउने काम पनि भइरहेको उनले बताएका छन् ।

सम्भावित उद्धारका लागि सबै सरकारी हेलिकप्टरलाई स्ट्यान्डबाइमा राख्न निर्देशन दिइएको र निजी हेलिकप्टर कम्पनीलाई समेत तयारी अवस्थामा रहन भनिएको बालेनले उल्लेख गरेका छन् ।

उनले केहीबेरमै आवश्यक निर्णयका लागि उच्चस्तरीय बैठक बस्ने जानकारी दिँदै प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा बस्न र आफन्तसँग सम्पर्क हुन नसकेमा सम्बन्धित निकायबाट आउने उद्धार अद्यावधिकको प्रतीक्षा गर्न आग्रह गरेका छन् ।

बालेनले राहत तथा उद्धारसम्बन्धी थप जानकारीका लागि १२३४ नम्बरमा सम्पर्क गर्न सकिने जानकारी पनि दिएका छन् ।

Share News