विकासन्युज

काठमाडौंमा डेङ्गी नियन्त्रणका लागि रेडक्रसको ‘खोज र नष्ट गर’ अभियान

काठमाडौं । काठमाडौंमा डेङ्गी ज्वरोको संक्रमण बढ्न थालेसँगै नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाले जोखिमयुक्त क्षेत्रहरूमा ‘लामखुट्टेको बासस्थान खोज र नष्ट गर’ अभियान आरम्भ गरेको छ । यसै अभियानअन्तर्गत मंगलबार काठमाडौं महानगरपालिकाको वडा नं. १६ र १७ तथा गोकर्णेश्वर नगरपालिकाको वडा नं. ८ मा रहेका गाडी वर्कसप, फलफूल पसल र कवाडी गोदाम क्षेत्रमा जनचेतना फैलाउने उद्देश्यले सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।  उक्त अभियानमा रेडक्रस उपशाखाका स्वयंसेवक, युवा रेडक्रस सर्कल, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय बासिन्दाहरूको सक्रिय सहभागिता रहेको थियो । नेपालमा साउनदेखि असोजसम्मको समयलाई डेङ्गी सार्ने लामखुट्टे वृद्धि हुने मुख्य यामका रूपमा लिने गरिन्छ ।  डेङ्गी लामखुट्टेको टोकाइबाट हुने संक्रमणले महामारीको रूप लिन नपाओस् भन्ने उद्देश्यका साथ नेपाल रेडक्रस सोसाइटीले यस्ता सचेतनामूलक अभियानलाई निरन्तरता दिने जनाएको छ ।

नाडा अटो शोको पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन

काठमाडौं । १८औं संस्करणको नाडा अटो शोको पहिलो दिन मंगलबार नै ३० हजारभन्दा बढी दर्शकले प्रदर्शनी अवलोकन गरेका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अनुसार पहिलो दिन नयाँ मोडलका कार, विद्युतीय सवारीसाधन, मोटरसाइकल, स्कुटर तथा बसबारे अवलोकनकर्ताको उल्लेख्य चासो देखिएको छ । प्रदर्शनीमा राखिएका नयाँ मोडलका सवारीसाधनसँगै रोबोट र नेपालमै डिजाइन तथा निर्माण गरिएको विद्युतीय स्कुटरले समेत दर्शकको ध्यान खिचेका छन् ।  विशेषगरी विद्युतीय सवारीसाधनमा उपलब्ध रेन्ज, मूल्य, पावर, चार्जिङ समय र वारेन्टीका विषयमा ग्राहकले कम्पनीका प्रतिनिधिसँग जानकारी लिएका थिए । यस वर्षको अटो शोमा कम्पनीहरूले सस्तो पारिवारिक सवारीसाधनदेखि २ करोड ३० लाख रुपैयाँसम्मका विलासी गाडी सार्वजनिक गरेका छन् ।  विभिन्न मूल्य वर्गका सवारीसाधनबीच मूल्य, प्रविधि, रेन्ज, पावर, चार्जिङ समय तथा वारेन्टीका आधारमा प्रतिस्पर्धा तीव्र देखिएको छ । अटो शोमा नेपालमै डिजाइन तथा निर्माण गरिएको यात्री पी-२ विद्युतीय स्कुटरको उपस्थितिले भने आयातित ब्रान्डबीचको प्रतिस्पर्धासँगै स्वदेशी विद्युतीय सवारीसाधनको सम्भावनालाई समेत चर्चामा ल्याएको छ । पी-२ तीनवटा भेरियन्टमा उपलब्ध छ । अटो शोमा विभिन्न कम्पनीले नयाँ मोडल सार्वजनिक गरेका छन् । एमएडब्लू वृद्धि मोटर्सले चिनियाँ सवारी उत्पादक डोङफेङका प्रिमियम विद्युतीय सेडान ईपाइ ००७, एसयूभी एमहिरो १ र अवतार ०७ सार्वजनिक गरेको छ ।  त्यस्तै, सिप्रदी ट्रेडिङले टाटा सिएरा ईभी सार्वजनिक गरेको छ । एसपीजी अटोमोबाइल्सले जेको जे–५ प्रो सार्वजनिक गरेको छ भने एलआरआर मोटर्सले चिनियाँ ब्रान्ड स्काईवेलको बीई ११ विभिन्न मूल्य र ब्याट्री विकल्पसहित बजारमा ल्याएको छ ।  यसैगरी, सीजी मोटर्सले हिरो एक्स्ट्रीम २५० आरको बिक्री सुरु गरेको छ । अटो शोमा २०० भन्दा बढी स्टल रहेका छन् भने ५३ वटा सवारीसाधन ब्रान्ड सहभागी छन् ।  प्रदर्शनीमा नयाँ सवारीसाधनसँगै अटोमोबाइलसम्बन्धी प्रविधि, उपकरण तथा सेवासमेत राखिएका छन् । नाडा अटो शोको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गरेका थिए । नाडाका अनुसार बुधबारदेखि अटोमोबाइल क्षेत्रसँग सम्बन्धित ज्ञान आदानप्रदान तथा नलेज सेयरिङका कार्यक्रमसमेत सञ्चालन हुनेछन्।

महिला सशक्तीकरण र सहकार्यमा जोड दिँदै मोरङमा मनाइयो तिजोत्सव

काठमाडौं । नेपाली नारीहरूको महान् हरितालिका तिज-२०८३ को अवसरमा मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिको आयोजनामा ‘तिजोत्सव २०८३’ तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।  संघको महिला उद्यम समितिकी संयोजक श्रुती शर्माको सभापतित्व तथा समितिकी सचिव जिना श्रेष्ठद्वारा सञ्चालित उक्त कार्यक्रममा कोशी प्रदेश सरकारकी सामाजिक विकास मन्त्री गीता तिम्सिना प्रमुख अतिथिको रूपमा उपस्थित थिए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै समितिकी संयोजक श्रुती शर्माले हरितालिका तिज नेपाली समाजको धार्मिक तथा सांस्कृतिक जीवनसँग अभिन्न रूपमा जोडिएको मौलिक पर्व रहेको बताइन् ।  यस्ता कार्यक्रमले व्यावसायिक व्यस्तताबीच महिला उद्यमीहरूलाई आपसी भेटघाट, अनुभव तथा विचार आदानप्रदान र पारस्परिक सम्बन्ध विस्तारको अवसर प्रदान गर्ने बताउँदै उनले आगामी दिनमा समेत यस्ता कार्यक्रमहरू ल्याउन समिति तत्पर रहेको जानकारी गराइन् । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष अनिल सारडाले महिलाहरूको भूमिका र योगदानप्रति सम्मान व्यक्त गरे ।  वर्तमान समयमा महिलाहरू घरपरिवारको सीमित दायरामा मात्र नरही आर्थिक, सामाजिक, शैक्षिक, व्यावसायिक तथा विकासका विविध क्षेत्रमा सशक्त रूपमा आफ्नो उपस्थिति स्थापित गर्दै अघि बढिरहेको उनले बताए ।  महिला सशक्तीकरण तथा समावेशी विकासका लागि महिलाहरूको सक्रिय र अर्थपूर्ण सहभागिता आवश्यक रहेको धारणा व्यक्त गर्दै उनले सम्पूर्णमा तिजको शुभकामना व्यक्त गरे ।

नाडा अटो शोमा दिपल एस०५ म्याक्स ६१ लाख ४९ हजारमै पाइने

काठमाडौं । नेपालका लागि लक्जरी तथा इन्टेलिजेन्ट दिपल ईभीहरूको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्प प्रा.लि.ले नाडा अटो शो २०२६ को अवसरमा दिपल एस०५ म्याक्स भेरियन्टका लागि विशेष मूल्य घोषणा गरेको छ । नेपालको सर्वाधिक बिक्री हुने लक्जरी ईभी अब ६१ लाख ४९ हजारदेखि उपलब्ध हुनेछ । यो विशेष मूल्य नाडा अटो शोको समापनसम्म लागू हुनेछ । नेपालमा सार्वजनिक भएदेखि नै दिपल एस०५ ले प्रिमियम विद्युतीय सवारी बजारमा बलियो उपस्थिति स्थापित गरेको छ ।  यसको विशिष्ट डिजाइन, परिष्कृत इन्टेरियर, इन्टेलिजेन्ट फिचर तथा आरामदायी ड्राइभिङ अनुभवले आधुनिक लक्जरी ईभी खोज्ने ग्राहकहरूमाझ यसलाई रोजाइको मोडल बनाएको छ । दिपल एस०५ म्याक्सले लक्जरी, स्टाइल र इन्टेलिजेन्ट टेक्नोलोजीको उत्कृष्ट सन्तुलन प्रस्तुत गर्छ ।    यसको आकर्षक बाहिरी डिजाइनमा सफा र भविष्यवादी प्रोफाइल तथा फ्रेमलेस ढोकाहरू समावेश छन् ।  त्यस्तै, यसको प्रिमियम क्याबिनले प्रत्येक यात्रालाई आरामदायी र परिष्कृत बनाउँछ । रिमोट स्मार्ट इन्टर्‍याक्सन अर्बिट (आरएसआईओ), एआर हेड-अप डिस्प्ले र इन्टेलिजेन्ट क्विन को-पाइलट सिटजस्ता अत्याधुनिक प्रविधिले दैनिक ड्राइभिङलाई अझ सुविधाजनक, सहज र आनन्ददायी बनाउँछन् । यी विशेषताहरूको संयोजनले एस०५ म्याक्सलाई प्रिमियम आराम, आकर्षक व्यक्तित्व र प्रविधिमैत्री चरित्र भएको विशिष्ट इलेक्ट्रिक एसयूभीका रूपमा स्थापित गरेको छ । नाडा अटो शोका लागि घोषणा गरिएको विशेष मूल्यले प्रिमियम इलेक्ट्रिक एसयूभीमा अपग्रेड गर्न चाहने ग्राहकका लागि दिपल एस०५ म्याक्सलाई अझ आकर्षक विकल्प बनाएको छ ।  लक्जरी, इन्टेलिजेन्ट टेक्नोलोजी, विशिष्ट डिजाइन र दैनिक प्रयोगमा आवश्यक व्यावहारिकताको संयोजनसहित एस०५ म्याक्सले नेपालको तीव्र रूपमा विस्तार भइरहेको ईभी बजारमा नयाँ मापदण्ड स्थापित गरिरहेको छ । आगन्तुकहरूले नाडा अटो शो २०२६ मा रहेको दिपल पेभिलियनमा दिपल एस०५ म्याक्स अवलोकन गर्न, यसका विशेषताबारे विस्तृत जानकारी लिन तथा विशेष मूल्यको लाभ उठाउन सक्नेछन् । 

सूचना प्रविधि क्षेत्रमा काम गर्ने उद्यमीहरूलाई निर्धक्क भएर लगानी बढाउनुहोस्, हामी साथमा छौं : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि क्षेत्रमा काम गर्ने युवा उद्यमीहरूलाई निर्धक्क भएर स्वदेशमा लगानी बढाउन आग्रह गरेका छन् । मंगलबार अर्थ मन्त्रालयमा सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका युवा उद्यमीहरूसँग छलफल गर्दै उनले सूचना प्रविधि क्षेत्र सरकारको विशेष प्राथमिकतामा रहेको बताए । “सूचना प्रविधि क्षेत्र छोटो समयमा ठूलो फड्को मार्न सकिने क्षेत्र हो, तपाईं युवा उद्यमीहरू लगानी बढाउनुहोस्। आफूलाई फैलाउनुहोस्,” उनले भने, “सरकार तपाईंको साथमा छ । के-के गर्नुपर्ने हो भन्नुहोस् ।”  विगतमा कृषिजन्य वस्तु उत्पादन र निर्यातमा नेपालमा लामो समय र धेरै लगानी गरेको स्मरण गर्दै उहाँले सूचना प्रविधि क्षेत्र लगानी गरेर पनि कम समयमा प्रतिफल प्राप्त गर्ने क्षेत्र रहेको बताए । सरकारले यस वर्षको बजेटमा सूचना प्रविधि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको, एआईको विकासका लागि बजेट विनियोजन गरेको र सूचना प्रविधि क्षेत्रमा काम गर्ने युवा उद्यमीहरूलाई प्रोत्साहनको नीति लिएको उनले बताए । “तपाईंहरूको कुरा भन्नुहोस् । तपाईंहरूको क्षेत्र फलोस्_फुलोस् । युवाहरू विदेशिन नपरोस् । अहिले अवस्था कस्तो छ ? सरकारले के गरिदिनुपर्यो भन्नुहोस्,” अर्थमन्त्री वाग्लेले सूचना प्रविधि क्षेत्रका युवा उद्यमीहरूलाई भने ।  सरकारले विश्वस्तरीय सूचना प्रविधिका प्रख्यात कम्पनीहरूलाई नेपाल भित्र्याउन पहल गरिरहेको पनि उनले जानकारी दिए । नेपाललाई सूचना प्रविधिको भ्यालु चेन विकास हुने हबका रूपमा विकास गर्ने रणनीतिमा सरकार रहेको उनले बताए । काम गर्दै जाँदा आउने कमीकमजोरीहरू फुकाउँदै यो क्षेत्रको विकास गर्दै अघि बढ्ने भन्दै उनले आफ्ना समस्याहरू खुलस्त भएर राख्न र सरकारसँग हातेमालो गरेर अघि बढ्न युवा उद्यमीहरूलाई आग्रह गरे ।  छलफलमा सहभागी भएका दुई दर्जनभन्दा बढी सूचना प्रविधि क्षेत्रका युवा उद्यमीहरूले सरकारले सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखेकामा धन्यवाद दिए । उनीहरूले सरकारले सूचना प्रविधि क्षेत्रको विकासका लागि सेवा प्रभावकारी बनाउन एकल विन्दु सेवा केन्द्र सञ्चालन गर्नुपर्ने, विदेशी मुद्रा सटही सुविधा सहज गरिनुपर्ने र कानुनी जटिलता फुकाउनुपर्नेमा जोड दिए ।

उच्च शिक्षा सुधारका लागि विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक तयार गर्ने क्रममा संघीय विश्वविद्यालयका उपकुलपतिसहित सरोकारवालासँग छलफल गरेको छ । सिंहदरबारस्थित मन्त्रालयमा मङ्गलवार भएको छलफलमा विश्वविद्यालयका ऐनमा गर्नुपर्ने संशोधन, विश्वविद्यालयको स्वायत्तता, सुशासन, शैक्षिक तथा प्रशासनिक सुधार र समसामयिक आवश्यकताअनुसार कानुनी व्यवस्था परिमार्जन गर्ने विषयमा सुझाव लिइएको हो ।  छलफलमा सहभागी विज्ञ तथा सरोकारवालाले उच्च शिक्षालाई गुणस्तरीय, अनुसन्धानमुखी, उत्पादनशील र व्यवहारिक बनाउन नीतिगत सुधार आवश्यक रहेको बताएका छन् । विश्वविद्यालयको क्षमता अभिवृद्धि, शैक्षिक गुणस्तर कायम तथा विद्यार्थीलाई प्रतिस्पर्धी बजारमा टिक्न सक्ने बनाउने विषयलाई आगामी कानुनमा प्राथमिकता दिनुपर्नेमा उनीहरूले जोड दिएका छन् । राष्ट्रिय योजना आयोगका सदस्य डा. सुदन झाले विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै ज्ञान उत्पादनमा केन्द्रित हुनुपर्ने बताए । उनले हरेक विश्वविद्यालयले अनुसन्धान र ज्ञान उत्पादनको अवधारणाअनुसार अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेलले विश्वविद्यालयको शैक्षिक सुधार, उत्कृष्ट विश्वविद्यालय निर्माण तथा उच्च शिक्षासम्बन्धी ठोस नीति बनाउन छलफल महत्त्वपूर्ण रहेको बताए ।  उनले विद्यालय शिक्षा ऐनको मस्यौदा लेखन प्रक्रिया अघि बढिसकेको र सातै प्रदेशबाट सुझाव प्राप्त भएको जानकारी दिए । सचिव पौडेलका अनुसार मन्त्रालयले चालु आर्थिक वर्षमा शिक्षा क्षेत्रसँग सम्बन्धित छ वटा विधेयक अघि बढाउने तयारी गरेको छ । शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले विश्वविद्यालयप्रति विद्यार्थीको आकर्षण बढाउने नीतिगत व्यवस्था आवश्यक रहेको बताए । उनले विश्वविद्यालयको संख्या, छात्रवृत्तिको पारदर्शिता र प्रभावकारितालगायत विषयलाई पनि कानुनमा समेट्नुपर्ने धारणा राखे । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. खड्गबहादुर केसीले उच्च शिक्षाको नीतिगत सुधारका लागि छलफल महत्त्वपूर्ण भएको बताउँदै नेपालका विश्वविद्यालय अनुसन्धानमुखी संस्थाका रूपमा विकास हुनुपर्नेमा जोड दिए । विश्वविद्यालयले अध्यापन मात्र नभई ज्ञान उत्पादनमा समेत केन्द्रित हुनुपर्ने उनको भनाइ थियो । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले विश्वविद्यालयका गतिविधिलाई प्रभावकारी र चलायमान बनाउन सम्बन्धित ऐन छिटो ल्याउनुपर्ने बताए । छलफलमा काठमाडौं विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति तथा प्रतिनिधिले उच्च शिक्षा सुधार र ऐनमा समेटिनुपर्ने विषयबारे सुझाव दिएका थिए । त्यसैगरी, विभिन्न विश्वविद्यालयका रजिस्ट्रार, डीन, प्राध्यापक, मन्त्रालयका उच्च अधिकारी, राष्ट्रिय योजना आयोगका प्रतिनिधि, नीति निर्माता तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।  मन्त्रालयका सहसचिव जयराम अधिकारीले विश्वविद्यालय तथा उच्च शिक्षासम्बन्धी विद्यमान कानुनी प्रावधानमा आवश्यक सुधारका विषयमा राय तथा सुझाव लिन छलफल आयोजना गरिएको बताए । छलफलमा नेपालको उच्च शिक्षा क्षेत्रको वर्तमान अवस्था, शैक्षिक गुणस्तर अभिवृद्धि, अनुसन्धानको विस्तार तथा उच्च शिक्षालाई थप प्रभावकारी र प्रतिस्पर्धी बनाउने विषयमा विचार-विमर्श गरिएको मन्त्रालयले जनाएको छ ।

धितोपत्र र बीमा कसुरमा फरार ४ जना पक्राउ

काठमाडौं । धितोपत्र सम्बन्धी ऐन, २०६३ तथा बीमा ऐन, २०७९ अन्तर्गतका कसुरमा संलग्न रही फरार रहेका चार जना प्रतिवादी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरूलाई पक्राउ गरेको हो । नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा उनीहरू पक्राउ परेका हुन् । उक्त कसुरमा उनीरूलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालत, बबरमहलमा पेश गरिएको ब्यूरोले जनाएको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ बस्ने हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडका लगानी सदस्य ४२ वर्षीय सुभाष पौडेल रहेका छन् । उनी धितोपत्र सम्बन्धी ऐन, २०६३ र बीमा ऐन, २०७९ अन्तर्गतको कसुरमा संलग्न रहेको आरोपमा फरार थिए । त्यस्तै, ललितपुर महानगरपालिका–२ बस्ने क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडकी सञ्चालक सदस्य ४१ वर्षीया सुनिता महर्जन पक्राउ परेकी छन् । उनी धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा संलग्न रहेको आरोपमा फरार रहेकी थिइन् । बीमा ऐन, २०७९ अन्तर्गतको कसुरमा फरार रहेका काठमाडौं महानगरपालिका–१६ बस्ने नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडका सञ्चालक सदस्य ४५ वर्षीय अनुप मालाकार पनि पक्राउ परेका छन् । त्यस्तै, काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थायी वतन भएकी तथा हाल भुम्लुटार–६ बस्ने नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडकी सञ्चालक सदस्य ३९ वर्षीया सुनिता श्रेष्ठ पनि पक्राउ परेकी छन् । उनीमाथि पनि बीमा ऐन, २०७९ अन्तर्गतको कसुरमा संलग्न रहेको आरोप छ । प्रहरीका अनुसार चारै जनालाई सोमबार पक्राउ गरी आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको हो ।

४७ वर्षपछि अमेरिकाको ‘आतंकवादी सूची’बाट हट्यो सिरिया

काठमाडौं । अमेरिकाले ४७ वर्षपछि सिरियालाई ‘आतंकवादी सूची’बाट हटाएको छ । अमेरिकी प्रशासनका अनुसार सिरियालाई सूचीबाट हटाउने निर्णयको उद्देश्य त्यहाँ विदेशी लगानीको बाटो सहज बनाउनु र सिरियालाई पुनः विश्व अर्थतन्त्रमा जोड्नु हो । सिरिया सूचीबाट हटेपछि अमेरिकाको ‘आतंकवादलाई बढावा दिने देश’को सूचीमा अब इरान, उत्तर कोरिया र क्युबा गरी तीन देश मात्र बाँकी छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यो निर्णयले सिरियालाई आर्थिक समृद्धितर्फ अघि बढ्ने बाटो खोल्ने बताएका छन् ।  यससम्बन्धी प्रस्ताव पहिलोपटक गत वर्ष जुलाईमा अघि सारिएको थियो । अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले पनि निर्णयको स्वागत गर्दै यस कदमले सिरियामा थप लगानी भित्र्याउन सहयोग गर्ने र राजनीतिक तथा आर्थिक स्थायित्व बलियो बनाउने बताएका छन् । यसअघि ट्रम्प प्रशासनले सिरियाका नयाँ राष्ट्रपति अहमद अल–शरासँग पनि सम्बन्ध विस्तार गरेको छ ।  अल–शरा यसअघि एक उग्रवादी संगठनका नेता थिए र कुनै समय अमेरिकाले उनको पक्राउका लागि पुरस्कारसमेत घोषणा गरेको थियो ।  उनले अल–कायदासँग सम्बन्धित एउटा संगठनको नेतृत्व गरिसकेका छन् । गत वर्ष अमेरिकाले अहमद अल–शराको नेतृत्वमा रहेको इस्लामिक संगठन हयात तहरीर अल–शाम (एचटीएस) लाई आफ्नो ‘आतंकवादी संगठन’को सूचीबाट हटाएको थियो ।