उद्धारमा दुई हेलिकप्टर, जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिँदै

काठमाडौं । रसुवाको स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा बुधबार (आज) बिहान बाढी आएपछि सरकारले उद्धार, खोज तथा राहत कार्यलाई तीव्र बनाएको जनाएको छ ।

बाढीबाट प्रभावित तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न सरकारले सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । 

तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा सम्भावित जोखिममा रहेका अन्य नागरिकलाई पनि सुरक्षित स्थानतर्फ सर्न निरन्तर सूचना प्रवाह भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

बाढीका कारण सडकमार्गसमेत जोखिमपूर्ण बनेपछि सरकारले पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेंसी सडक तथा मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न तथा नगराउन आग्रह पनि गरेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहले तत्काल उद्धार, खोज तथा राहत कार्य अघि बढाउन निर्देशन दिएलगत्तै सरोकारवाला निकायले आफ्ना संयन्त्र परिचालन गरेका हुन् ।

जिल्लास्थित विपद् व्यवस्थापन संयन्त्रले सक्रियता बढाएको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई तीव्रता दिएका छन् । 

नेपाली सेनाले पनि आफ्ना जनशक्ति तथा स्रोतसाधन परिचालन गरी उद्धार तथा खोजी कार्य अघि बढाएको छ ।

प्रधानमन्त्री शाहको निर्देशनमा सम्भावित उद्धार तथा राहतका लागि मेडिकल टिमसहित नेपाली सेनाका दुईवटा हेलिकप्टर प्रभावित क्षेत्रतर्फ पठाइएको छ । 

आवश्यक परेको अवस्थामा तत्काल उद्धार तथा खोजीमा प्रयोग गर्न निजी कम्पनीका हेलिकप्टरलाई समेत तयारी अवस्थामा राखिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

यसैबीच, सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसिरहेको छ ।

बाढीबाट उत्पन्न अवस्थाबारे थप छलफल तथा आवश्यक निर्णय गर्न प्रधानमन्त्री शाहले बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकसमेत बोलाएका छन् ।

Share News