रसुवा र नुवाकोटका जोखिम क्षेत्रमा बस्नेलाई सतर्क रहन आग्रह

काठमाडौं । भीषण बाढीका कारण रसुवाको स्याफ्रुबेँसी, टिमुरेलगायत क्षेत्रमा गम्भीर क्षति पुगेपछि सरकारले उद्धार, राहत र विपद् व्यवस्थापनका सबै निकायलाई उच्च सतर्कतामा राखेको जनाएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जाल फेसबुकमार्फत बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै सम्बन्धित निकायलाई आवश्यक सबै कदम चाल्न निर्देशन दिइसकिएको जानकारी दिएका छन् ।

उनका अनुसार सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, विपद् व्यवस्थापन निकाय तथा अन्य सरोकारवाला संस्थालाई उद्धार र राहत तयारी अवस्थामा रहन तथा प्रभावित क्षेत्रमा तत्काल आवश्यक समन्वय गर्न निर्देशन दिइएको छ ।

मन्त्री तिमिल्सिनाले विशेषगरी रसुवा र नुवाकोटका नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । उनले नदी किनार, पहिरोको जोखिम भएका स्थान तथा अनावश्यक यात्रा नगर्न अनुरोध गरेका छन् ।

उनले स्थानीय प्रशासन, सुरक्षा निकाय र आधिकारिक निकायबाट जारी हुने सूचना तथा चेतावनीको पालना गर्न सबैलाई आग्रह गरेका छन् ।

मन्त्री तिमिल्सिनाले बाढीको अवस्था अझै विकसित हुन सक्ने भन्दै अफवाहमा विश्वास नगरी आधिकारिक सूचनालाई मात्रै आधार बनाउन र आवश्यक परे तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन पनि अनुरोध गरेका छन् ।

Share News