टाटाको नयाँ सिएरा ईभी नेपाली बजारमा, टियागो र पञ्च ईभीमा १ लाख रुपैयाँ छुट

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नाडा अटो शो २०२६ मा टाटाको नयाँ प्रिमियम विद्युतीय एसयूभी सिएरा ईभी सार्वजनिक गरेको छ । कम्पनीले सिएरा ईभीको औपचारिक प्रि–बुकिङ समेत खुला गरेको छ भने ग्राहकलाई आगामी दसैंदेखि डेलिभरी सुरु गरिने जनाएको छ ।

नेपाली विद्युतीय सवारी बजारमा अग्रणी रहेको टाटाले सिएरा ईभीसँगै आफ्नो ईभी लाइनअप थप विस्तार गरेको छ । सिप्रदीले हाल टियागो ईभी, पञ्च ईभी, नेक्सन ईभी र कर्भ ईभी बिक्री गर्दै आएको छ ।

सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा टाटा ईभीको यात्रा नयाँ चरणमा पुगेको बताए । उनका अनुसार नयाँ टियागो ईभी र पञ्च ईभीप्रति ग्राहकबाट प्राप्त विश्वासले कम्पनीलाई थप उत्साहित बनाएको छ ।

श्रेष्ठले सिएरा ईभीले प्रिमियम विद्युतीय एसयूभी खोज्ने ग्राहकका लागि नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरे । आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, फराकिलो इन्टेरियर र २०५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स सिएरा ईभीका प्रमुख विशेषता रहेको कम्पनीको दाबी छ । 

नेक्सन ईभी रिलोड पनि सार्वजनिक

सिप्रदीले नाडा अटो शोमै आफ्नो लोकप्रिय एसयूभी नेक्सन ईभी रिलोड पनि सार्वजनिक गरेको छ । कम्पनीले यसको आधिकारिक मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

नाडा अटो शो विशेष अफरअन्तर्गत ग्राहकले नेक्सन ईभी रिलोड ४२ लाख ४९ हजार रुपैयाँमै खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । 

टियागो र पञ्च ईभीमा १–१ लाख रुपैयाँ छुट

नाडा अटो शोको अवसरमा सिप्रदीले टियागो ईभी र पञ्च ईभी फेसलिफ्ट मोडलमा १–१ लाख रुपैयाँसम्म छुट दिएको छ ।

अफरअन्तर्गत ग्राहकले पञ्च ईभी ३२ लाख ९९ हजार रुपैयाँ र टियागो ईभी २७ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार नाडा अटो शो अवधिभर यी विशेष अफर लागू हुनेछन् ।

Share News