रसुवामा बाढीको बहाब घट्यो
काठमाडौं । रसुवामा आएको बाढीको बहाब घटेको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले रसुवामा आएको बाढीको बहाब नुवाकोटतर्फ घट्दै गएको जानकारी दिए । नेपाली सेनाको बाढीले क्षति पुर्याएको क्षेत्रमा उद्धार गर्न तीन वटा हेलिकोप्टर परिचालित गरेको छ । सेनाका अनुसार एमआइ १७ सहित तीनवटा हेलिकोप्टर परिचालित छन् । स्याफ्रुबेँसी, टिमुरे र मैलुङ क्षेत्रमा सेनाको हेलिकोप्टर परिचालित छन् । केही ठाउँमा सेनाको हेलिकोप्टर ल्याण्ड हुन नसकेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए । बुधबार बिहान ९ बजे आएको बाढीले टिमुरे, स्याफ्रुबेसी लगायतका क्षेत्रदेखि खोला तटीय क्षेत्रमा क्षति पुर्याएको छ । प्रहरीका तीन वटा युनिट बगाएको छ । केही प्रहरी सम्पर्कविहिनसमेत भएका छन् । स्याफ्रुबेसी, मैलुङ र टिमुरेमा रहेका प्रहरीका युनिट बगाएको प्रहरीले जनाएको छ ।
बाढीका कारण यी जलविद्युत आयोजनामा क्षति, बिजुली उत्पादन बन्द
काठमाडौं । रसुवा जिल्लामा आएको आकस्मिक बाढीका कारण उत्पादन, प्रसारण तथा वितरणसँग सम्बन्धित विद्युत् संरचनामा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार बाढीका कारण रसुवागढी चिलिमे, त्रिशूली-३ ‘ए’, त्रिशूली-३ ‘बी’ हब २२० केभी सबस्टेसन, त्रिशूली तथा देविघाट जलविद्युत् केन्द्रलगायत संरचनामा क्षति पुगेको छ । विभिन्न वितरण संरचनामा समेत क्षति पुगेपछि विद्युत् आपूर्ति अवरुद्ध भएको हो । बाढीका कारण जनधनको ठूलो क्षति हुनुका साथै घर, सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले बाढीका कारण बेपत्ता तथा प्रभावित सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र सर्वसाधारणको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित सबै पक्षलाई तत्काल प्रभावकारी रूपमा परिचालित हुन आग्रह गरेको छ । बाढीको जोखिम अझै कायम रहन सक्ने भन्दै नदी तथा खोलाको आसपास, तटीय क्षेत्र र अन्य जोखिमयुक्त स्थानमा रहेका राष्ट्रसेवक, प्राधिकरणका कर्मचारी तथा सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ। थप जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुनसमेत अनुरोध गरिएको छ । विद्युत् आपूर्ति नियमित गर्न हरसम्भव प्रयास भइरहेको भन्दै प्राधिकरणले आपूर्ति सुचारु नहुन्जेल धैर्य गर्न र आधिकारिक सूचनामात्र प्रवाह गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ ।
भोटेकोशी र त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन गगन थापाको आग्रह
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवामा आएको अप्रत्याशित र आकस्मिक बाढीका कारण स्थिति गम्भीर र चिन्ताजनक बनेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । थापाले सामाजिक सञ्जालमार्फत भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित रहन र सम्भावित जोखिमबाट जोगिन आग्रह गरेका हुन् । उनले संघीय सरकारलाई राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्दै सबै तहका सरकारसँग समन्वय गरी उद्धार र राहत कार्यमा केन्द्रित हुन अनुरोध गरेका छन् । थापाले विपद् व्यवस्थापनका सरकारी प्रयासमा नेपाली कांग्रेसको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । साथै कांग्रेसका सबै तहका समिति, विशेषगरी रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका नेतृत्व तथा कार्यकर्तालाई तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा सार्न, उद्धार तथा राहत कार्यमा तत्काल जुट्न र आवश्यक सहयोग गर्न अपिल गरेका छन् ।
त्रिशुली नदी छेउछाउका बस्ती, बजार क्षेत्र खाली गर्न प्रहरीको अनुरोध
काठमाडौं । नेपाल प्रहरीले पृथ्वी राजमार्ग, मुग्लिङ नारायणघाट लगायत बजारका बस्ती खाली गर्न अनुरोध गरेको छ । रसुवा भोटेकोसीमा आएको बाढीले हाल धादिङ–गल्छी आसपास पुगेको केही घण्टामा मुग्लिङ पार हुने क्रममा रहेको प्रहरीले जनाएको छ । प्रहरीले पृथ्वी राजमार्ग, मुग्लिङ नारायणघाट राजमार्ग लगायत त्रिशुली नदी छेउछाउका बस्ती, बजार क्षेत्र खाली गरी उच्च सतर्कता सहित सुरक्षित स्थानमा जान अनुरोध गरेको छ । धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमका अनुसार जिल्लामा क्षतिको यकिन विवरण आइसकेको छैन । ‘अहिले ठूलो बाढी आएको छ । अन्य क्षतिको बारेमा विस्तृत जानकारी लिन सकिएको छैन, उनले भनिन् । बुधबार बिहान ९ बजे आएको बाढीले टिमुरे, स्याफ्रुबेसी लगायतका क्षेत्रदेखि खोला तटीय क्षेत्रमा क्षति पुर्याएको छ।
६ जिल्लाका नदी किनारमा बसोबास गर्ने बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणले बुधबार (आज) विशेष सूचना जारी गर्दै भोटेकोशी, त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने सबै नागरिकलाई अर्को सूचना नआएसम्म विशेष सतर्कता अपनाउन अनुरोध गरेको हो । बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखा, चितवन र तनहुँका नदी तटीय क्षेत्रमा जोखिम बढेको भन्दै प्राधिकरणले ती जिल्लाका नदी किनारमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ । त्यस्तै, खोज तथा उद्धार आवश्यक परेमा वा कुनै किसिमको सहयोग आवश्यक भएमा टोल फ्री नम्बर १००, १२३४ र १११४ मा सम्पर्क गर्न प्राधिकरणले अनुरोध गरेको छ । बाढीको जोखिमलाई मध्यनजर गर्दै पृथ्वी राजमार्ग, गल्छी नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक तथा मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न पनि आग्रह गरिएको छ । साथै उक्त सडकखण्डमा आवतजावत पूर्ण रूपमा रोक्न स्थानीय तह तथा प्रशासनलाई अनुरोध गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले विपद्को खोज, उद्धार तथा राहत कार्यमा समन्वय, सहयोग र सहजीकरण गर्न सम्बन्धित सबै निकायलाई समेत आग्रह गरेको छ । प्राधिकरणका अनुसार भोटेकोशी नदीमा आएको बाढी त्रिशूली हुँदै तल्लो तटीय क्षेत्रमा समेत प्रभाव पार्न सक्ने भएकाले नदी किनारका बासिन्दालाई थप सतर्क रहन भनिएको छ । प्राधिकरणले बाढीको अवस्था सामान्य नभएसम्म नदी किनारमा नजान, यात्रा स्थगित गर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ । तिब्बतबाट आएको भीषण बाढीले रसुवामा ठूलो क्षति
सेनाले गर्यो तीनजनाको उद्धार, हेलिकप्टर ल्याण्डमा समस्या
काठमाडौं । नेपाली सेनाले रसुवाको स्याफ्रुबेँसीबाट तीनजनालाई उद्धार गरेको छ । बाढीले क्षति पुर्याएको क्षेत्रमा तीन जना मानिसको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाको बाढीले क्षति पुर्याएको क्षेत्रमा उद्धार गर्न तीन वटा हेलिकोप्टर परिचालित रहेको सेनाले जनाएको छ । सेनाका अनुसार एमआइ १७ सहित तीनवटा हेलिकोप्टर परिचालित छन् । स्याफ्रुबेँसी, टिमुरे र मैलुङ क्षेत्रमा सेनाको हेलिकोप्टर परिचालित छन् । केही ठाउँमा सेनाको हेलिकोप्टर ल्याण्ड हुन नसकेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए । बुधबार बिहान ९ बजे आएको बाढीले टिमुरे, स्याफ्रुबेसी लगायतका क्षेत्रदेखि खोला तटीय क्षेत्रमा क्षति पुर्याएको सेनाले जनाएको छ ।
विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्र परिचालन गर्न सरकारलाई ध्यानाकर्षण
काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि उद्धार तथा राहतका लागि सम्पूर्ण संयन्त्र परिचालन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले सरकारलाई आग्रह गरेका छन् । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा र नुवाकोटका तटीय क्षेत्रमा क्षति पुगेको तथा यसको असर मुग्लिन हुँदै चितवनसम्म पर्न सक्ने भन्दै बाढी पूर्वानुमान शाखाले जारी गरेको चेतावनीप्रति गम्भीर ध्यानाकर्षण भएको आचार्यले बताए । त्रिशूली नदी र यससँग जोडिएका सम्पूर्ण तटीय क्षेत्र उच्च जोखिममा रहेकाले सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि सरकार, स्थानीय प्रशासन र आम नागरिकलाई विशेष सतर्कता अपनाउन उनले आग्रह गरेका छन् । बाढी पूर्वानुमान शाखाको प्राविधिक सल्लाहलाई तत्काल कार्यान्वयन गर्दै विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रलाई उच्च सतर्कताका साथ परिचालन गर्न उनले सरकारको ध्यानाकर्षण गराएका छन् । साथै, जोखिमपूर्ण तटीय बस्तीका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने उनको भनाइ छ । विपद्को संवेदनशील घडीमा नदी किनार तथा जोखिमपूर्ण तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई संयमता अपनाउँदै तत्काल सुरक्षित तथा उच्च स्थानमा सर्न आचार्यले अपिल गरेका छन् । अवस्था सामान्य नभएसम्म अत्यावश्यक कामबाहेक सम्बन्धित नदी तटीय सडकमा कुनै पनि प्रकारको यात्रा नगर्न उनले सर्वसाधारणलाई आग्रह गरेका छन् ।
बैंकिङ प्रणालीको तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ९० अर्ब रुपैयाँ तान्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीको अतिरिक्त तरलता व्यवस्थापन गर्न ९० अर्ब रुपैयाँको चार महिने निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले भदौ १० गते ११९ दिन अवधिको निक्षेप संकलनका लागि बोलकबोल आह्वान गरेको हो । सूचना अनुसार बोलकबोल आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम मार्फत मात्रै गर्न सकिनेछ । राष्ट्र बैंकका अनुसार निक्षेपको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ । निक्षेपको साँवा र ब्याज एकैपटक आगामी पुस ८ गते भुक्तानी गरिनेछ । यो बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले मात्रै सहभागिता जनाउन पाउनेछन् । न्यूनतम १० करोड रुपैयाँ र त्यसपछि १० करोडकै गुणकमा अधिकतम आह्वान गरिएको रकमसम्म बोल लगाउन सकिने व्यवस्था गरिएको छ । राष्ट्र बैंकले सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बोललाई पहिलो प्राथमिकतामा राखेर रकम बाँडफाँट गर्ने जनाएको छ । एउटै ब्याजदरमा माग गरिएको रकम आह्वान रकमभन्दा बढी भएमा ‘प्रो–राटा’ आधारमा बाँडफाँट गरिने व्यवस्था छ । यसअघि पनि राष्ट्र बैंकले बैंकिङ प्रणालीमा बढेको तरलता व्यवस्थापनका लागि विभिन्न अवधिका निक्षेप संकलन उपकरणमार्फत रकम तान्दै आएको छ ।