६ जिल्लाका नदी किनारमा बसोबास गर्ने बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्राधिकरणले बुधबार (आज) विशेष सूचना जारी गर्दै भोटेकोशी, त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने सबै नागरिकलाई अर्को सूचना नआएसम्म विशेष सतर्कता अपनाउन अनुरोध गरेको हो ।

बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखा, चितवन र तनहुँका नदी तटीय क्षेत्रमा जोखिम बढेको भन्दै प्राधिकरणले ती जिल्लाका नदी किनारमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

त्यस्तै, खोज तथा उद्धार आवश्यक परेमा वा कुनै किसिमको सहयोग आवश्यक भएमा टोल फ्री नम्बर १००, १२३४ र १११४ मा सम्पर्क गर्न प्राधिकरणले अनुरोध गरेको छ ।

बाढीको जोखिमलाई मध्यनजर गर्दै पृथ्वी राजमार्ग, गल्छी नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक तथा मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न पनि आग्रह गरिएको छ । 

साथै उक्त सडकखण्डमा आवतजावत पूर्ण रूपमा रोक्न स्थानीय तह तथा प्रशासनलाई अनुरोध गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले विपद्को खोज, उद्धार तथा राहत कार्यमा समन्वय, सहयोग र सहजीकरण गर्न सम्बन्धित सबै निकायलाई समेत आग्रह गरेको छ ।

प्राधिकरणका अनुसार भोटेकोशी नदीमा आएको बाढी त्रिशूली हुँदै तल्लो तटीय क्षेत्रमा समेत प्रभाव पार्न सक्ने भएकाले नदी किनारका बासिन्दालाई थप सतर्क रहन भनिएको छ ।

प्राधिकरणले बाढीको अवस्था सामान्य नभएसम्म नदी किनारमा नजान, यात्रा स्थगित गर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ ।

तिब्बतबाट आएको भीषण बाढीले रसुवामा ठूलो क्षति

Share News