भोटेकोशी र त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन गगन थापाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवामा आएको अप्रत्याशित र आकस्मिक बाढीका कारण स्थिति गम्भीर र चिन्ताजनक बनेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

थापाले सामाजिक सञ्जालमार्फत भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित रहन र सम्भावित जोखिमबाट जोगिन आग्रह गरेका हुन् ।

उनले संघीय सरकारलाई राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्दै सबै तहका सरकारसँग समन्वय गरी उद्धार र राहत कार्यमा केन्द्रित हुन अनुरोध गरेका छन् ।

थापाले विपद् व्यवस्थापनका सरकारी प्रयासमा नेपाली कांग्रेसको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

साथै कांग्रेसका सबै तहका समिति, विशेषगरी रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका नेतृत्व तथा कार्यकर्तालाई तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा सार्न, उद्धार तथा राहत कार्यमा तत्काल जुट्न र आवश्यक सहयोग गर्न अपिल गरेका छन् ।

Share News