त्रिशुली नदी छेउछाउका बस्ती, बजार क्षेत्र खाली गर्न प्रहरीको अनुरोध

काठमाडौं । नेपाल प्रहरीले पृथ्वी राजमार्ग, मुग्लिङ नारायणघाट लगायत बजारका बस्ती खाली गर्न अनुरोध गरेको छ । 

रसुवा भोटेकोसीमा आएको बाढीले हाल धादिङ–गल्छी आसपास पुगेको केही घण्टामा मुग्लिङ पार हुने क्रममा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले पृथ्वी राजमार्ग,  मुग्लिङ नारायणघाट राजमार्ग  लगायत त्रिशुली नदी छेउछाउका बस्ती, बजार क्षेत्र खाली गरी उच्च सतर्कता सहित  सुरक्षित स्थानमा जान अनुरोध गरेको छ ।

धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमका अनुसार जिल्लामा क्षतिको यकिन विवरण आइसकेको छैन । ‘अहिले ठूलो बाढी आएको छ । अन्य क्षतिको बारेमा विस्तृत जानकारी लिन सकिएको छैन, उनले भनिन् ।

बुधबार बिहान ९ बजे आएको बाढीले टिमुरे, स्याफ्रुबेसी लगायतका क्षेत्रदेखि खोला तटीय क्षेत्रमा क्षति पुर्याएको छ।

Share News