बाढीका कारण यी जलविद्युत आयोजनामा क्षति, बिजुली उत्पादन बन्द

फाइल फोटो

काठमाडौं । रसुवा जिल्लामा आएको आकस्मिक बाढीका कारण उत्पादन, प्रसारण तथा वितरणसँग सम्बन्धित विद्युत् संरचनामा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार बाढीका कारण रसुवागढी चिलिमे, त्रिशूली-३ ‘ए’, त्रिशूली-३ ‘बी’ हब २२० केभी सबस्टेसन, त्रिशूली तथा देविघाट जलविद्युत् केन्द्रलगायत संरचनामा क्षति पुगेको छ । विभिन्न वितरण संरचनामा समेत क्षति पुगेपछि विद्युत् आपूर्ति अवरुद्ध भएको हो ।

बाढीका कारण जनधनको ठूलो क्षति हुनुका साथै घर, सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले बाढीका कारण बेपत्ता तथा प्रभावित सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र सर्वसाधारणको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित सबै पक्षलाई तत्काल प्रभावकारी रूपमा परिचालित हुन आग्रह गरेको छ ।

बाढीको जोखिम अझै कायम रहन सक्ने भन्दै नदी तथा खोलाको आसपास, तटीय क्षेत्र र अन्य जोखिमयुक्त स्थानमा रहेका राष्ट्रसेवक, प्राधिकरणका कर्मचारी तथा सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ। थप जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुनसमेत अनुरोध गरिएको छ । विद्युत् आपूर्ति नियमित गर्न हरसम्भव प्रयास भइरहेको भन्दै प्राधिकरणले आपूर्ति सुचारु नहुन्जेल धैर्य गर्न र आधिकारिक सूचनामात्र प्रवाह गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

Share News