विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्र परिचालन गर्न सरकारलाई ध्यानाकर्षण

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि उद्धार तथा राहतका लागि सम्पूर्ण संयन्त्र परिचालन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले सरकारलाई आग्रह गरेका छन् ।

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा र नुवाकोटका तटीय क्षेत्रमा क्षति पुगेको तथा यसको असर मुग्लिन हुँदै चितवनसम्म पर्न सक्ने भन्दै बाढी पूर्वानुमान शाखाले जारी गरेको चेतावनीप्रति गम्भीर ध्यानाकर्षण भएको आचार्यले बताए ।

त्रिशूली नदी र यससँग जोडिएका सम्पूर्ण तटीय क्षेत्र उच्च जोखिममा रहेकाले सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि सरकार, स्थानीय प्रशासन र आम नागरिकलाई विशेष सतर्कता अपनाउन उनले आग्रह गरेका छन् । 

बाढी पूर्वानुमान शाखाको प्राविधिक सल्लाहलाई तत्काल कार्यान्वयन गर्दै विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रलाई उच्च सतर्कताका साथ परिचालन गर्न उनले सरकारको ध्यानाकर्षण गराएका छन् । साथै, जोखिमपूर्ण तटीय बस्तीका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने उनको भनाइ छ ।

विपद्को संवेदनशील घडीमा नदी किनार तथा जोखिमपूर्ण तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई संयमता अपनाउँदै तत्काल सुरक्षित तथा उच्च स्थानमा सर्न आचार्यले अपिल गरेका छन् ।

अवस्था सामान्य नभएसम्म अत्यावश्यक कामबाहेक सम्बन्धित नदी तटीय सडकमा कुनै पनि प्रकारको यात्रा नगर्न उनले सर्वसाधारणलाई आग्रह गरेका छन् । 

 

null

Share News