स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक कृष्णप्रसाद पौडेल
काठमाडौं । स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी डा. कृष्णप्रसाद पौडेलले पाएका छन् । स्वास्थ्य मन्त्री निशा मेहताले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. पौडेललाई विभागको निमित्त महानिर्देशकको जिम्मेवारी दिएकी हुन् । डा. पौडेल वरिष्ठ बालरोग विशेषज्ञ हुन् । उनी यसअघि सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत थिए । यसअघि स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी डा. अनुज भट्टचनले सम्हाल्दै आएका थिए । डा. पौडेलले अब स्वास्थ्य सेवा विभागअन्तर्गतका विभिन्न स्वास्थ्य कार्यक्रम, सेवा प्रवाह तथा विभागीय प्रशासनको नेतृत्व गर्नेछन् ।
राष्ट्रिय बीमा कम्पनीको सीईओको जिम्मेवारी हिक्मतबहादुर भण्डारीलाई
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी हिक्मतबहादुर भण्डारीलाई दिइएको छ । कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिएको जानकारीअनुसार अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाको पत्र र अर्थमन्त्रीस्तरीय निर्णयअनुसार भण्डारीलाई अर्को व्यवस्था नभएसम्मका लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकिएको हो । यसअघि अर्थ मन्त्रालयले २०८३ भदौ १८ गते गरेको निर्णयका आधारमा उनलाई कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा कार्य गर्ने जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ । यस्तै, राष्ट्रिय बीमा कम्पनीको भदौ २१ गते बसेको सञ्चालक समितिको ५३१औँ बैठकले भण्डारीलाई प्रमुख कार्यकारी अधिकृतको काम, कर्तव्य र अधिकार प्रयोग गर्ने अख्तियारी प्रदान गरेको छ । कम्पनीले उक्त निर्णयबारे नेप्सेमार्फत औपचारिक जानकारी गराएको जनाएको छ ।
मिड सोलु हाइड्रोपावरको १५.७८ प्रतिशत लाभांश घोषणा
काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको असोज ५ गते बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावअनुसार कम्पनीले ८६ करोड ६ लाख ६० हजार रुपैयाँ चुक्ता पूँजीका आधारमा करिब १२ करोड ९० लाख ९९ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । बोनस सेयरमा लाग्ने कर तिर्न ६७ लाख ९४ हजार ६८४ रुपैयाँ बराबरको नगद लाभांश पनि वितरण गरिनेछ । कम्पनीले प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृति प्राप्त भएपछि र आगामी पाँचौँ वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिने जनाएको छ ।
सिद्धार्थ बैंकको साधारण सभा असोज २८ मा, असोज १६ गते बुक क्लोज
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले २५औँ वार्षिक साधारण सभा आगामी असोज २८ गते आयोजना गर्ने भएको छ । बैंकको सञ्चालक समितिको असोज ५ गते बसेको ४८३औँ बैठकले साधारण सभा र बुक क्लोजको मिति तय गरेको हो । बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिएको जानकारीअनुसार वार्षिक साधारण सभा प्रयोजनका लागि असोज १६ गते एक दिन बुक क्लोज हुनेछ । यसअनुसार असोज १५ गतेसम्म नेप्सेमा कारोबार भई बैंकको सेयरधनी दर्ता किताबमा कायम रहेका सेयरधनीले मात्र साधारण सभामा सहभागी हुन, छलफल गर्न र मतदान गर्न पाउनेछन् । बैंकका अनुसार वार्षिक साधारण सभासम्बन्धी विस्तृत सूचना असोज ६ गते नयाँ पत्रिका राष्ट्रिय दैनिकमा प्रकाशित गरिनेछ । यस्तै, सञ्चालक समितिले ‘एसबिएल ८.२५% अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ को नगद लाभांश वितरण प्रयोजनका लागि पनि असोज १६ गते नै दर्ता पुस्तिका (बुक क्लोज) बन्द गर्ने निर्णय गरेको जनाएको छ ।
सर्वसाधारणको सुविधाका लागि कामना सेवाले राख्यो यात्रु प्रतिक्षा बेन्च
काठमाडौं । कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत ललितपुरको कुमारीपाटी–जावलाखेल क्षेत्रमा पाँच वटा यात्रु प्रतिक्षा बेन्च स्थापना गरेको छ । बैंकले कुमारीपाटी–जावलाखेल व्यापार संघसँगको सहकार्यमा सर्वसाधारण तथा यात्रुहरूको सुविधा लक्षित गर्दै प्रतिक्षा बेन्च निर्माण तथा स्थापना गरेको जनाएको छ । प्रतिक्षा बेन्च स्थापना कार्यक्रम बैंकका काठमाडौं प्रदेश प्रमुख केदारनाथ शर्माको अध्यक्षता तथा कुमारीपाटी–जावलाखेल व्यापार संघका अध्यक्ष वीरेन्द्र शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । बैंकका अनुसार दैनिक आवतजावत गर्ने यात्रु तथा स्थानीय बासिन्दालाई केही समय विश्राम गर्न सहज होस् भन्ने उद्देश्यले सार्वजनिक स्थानमा प्रतिक्षा बेन्च राखिएको हो । कार्यक्रममा व्यापार संघका अध्यक्ष शाक्यले सर्वसाधारणको प्रत्यक्ष उपयोगमा आउने संरचना निर्माण गरेकोमा कामना सेवा विकास बैंकलाई धन्यवाद दिँदै यसबाट स्थानीयवासी र यात्रु दुवैलाई सुविधा पुग्ने विश्वास व्यक्त गरे । काठमाडौं प्रदेश प्रमुख शर्माले बैंकले बैंकिङ सेवासँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै समुदायको आवश्यकता अनुसार यस्ता सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले स्थानीय समुदायको हितमा यस्ता गतिविधिलाई आगामी दिनमा पनि निरन्तरता दिइने जानकारी दिए । कार्यक्रममा बैंकका कर्मचारी तथा कुमारीपाटी–जावलाखेल व्यापार संघका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
ओली-पोखरेल भेट, विधि मिचे प्रतिवादको चेतावनी
काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलबीच दूरी बढेको संकेत देखिएको छ । बैठक सञ्चालनको प्रक्रिया, एजेण्डा तय गर्ने शैली र नेताहरूमाथि प्रस्तावित कारबाहीका विषयमा असन्तुष्टि जनाउँदै पोखरेलले ओलीलाई पार्टीको स्थापित विधि मिचेर अघि बढे आफूहरूले प्रतिवाद गर्ने चेतावनी दिएका छन् । सोमबार ललितपुरमा सुरु भएको केन्द्रीय कमिटी बैठकको उद्घाटन सत्र सकिएपछि महासचिव पोखरेल ओलीसँग छलफल गर्न भक्तपुरको गुण्डुस्थित निवास पुगेका थिए । साँझ करिब ७ बजे गुण्डु पुगेका पोखरेल राति १०ः३० बजे त्यहाँबाट फर्किएका थिए । ओलीको सचिवालयका अनुसार भेटवार्ता अधिकांश समय अध्यक्ष र महासचिवबीच मात्रै भएको थियो । बीचमा सुदूरपश्चिमका केही नेतासँग करिब १५ मिनेट छलफल भए पनि बाँकी समय ओली र पोखरेलबीचै कुराकानी भएको सचिवालयका एक सदस्यले बताए । पोखरेलनिकट एक पदाधिकारीका अनुसार महासचिवले बैठकलाई एकलौटी ढंगले सञ्चालन गर्ने प्रयास दोहोरिए त्यसको प्रतिवाद हुने स्पष्ट संकेत ओलीलाई दिएका छन् । सोमबारको बैठकमा प्रस्तुत प्रस्ताव र एजेण्डाबारे पर्याप्त छलफल तथा सरसल्लाह नभएको भन्दै पोखरेलले असन्तुष्टि जनाएका थिए । बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेका प्रस्तावलाई तत्काल अनुमोदन गराउने र त्यसपछि बैठक टुंग्याउने तयारी भएको सूचना पाएपछि पोखरेल छलफलका लागि गुण्डु पुगेको स्रोतको दाबी छ । पोखरेलले बैठक सञ्चालनको स्थापित विधि र पार्टीभित्रको संस्थागत प्रक्रियालाई बेवास्ता गरेर अघि नबढ्न ओलीलाई आग्रह गरेको बताइएको छ । यसैबीच, उपमहासचिव योगेश भट्टराई, पूर्वपोलिट्ब्यूरो सदस्य कर्ण थापालगायत नेतामाथि ‘पार्टी अनुशासन उल्लंघन’ को आरोपमा कारबाही प्रक्रिया अघि बढाउने तयारी भएको चर्चाले पनि एमालेभित्र असन्तुष्टि बढाएको छ। यही विषयमा समेत पोखरेलले ओलीसँग चासो राखेको उनीनिकट नेताहरूको भनाइ छ । यसअघि भानुभक्त ढकाल र विशाल भट्टराई पनि गुण्डु पुगेका थिए । उनीहरूसहित केहीबेर छलफल भएपछि ओली र पोखरेलबीच छुट्टै भेटवार्ता भएको थियो । एमाले केन्द्रीय कमिटीको बैठकमा मंगलबार महासचिव पोखरेलको सांगठनिक प्रतिवेदन तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदलको प्रतिवेदन पेश गर्नुपर्ने माग केही केन्द्रीय सदस्यहरूले उठाउने तयारी गरेका छन् । बैठकमा यी प्रतिवेदन प्रस्तुत हुने वा अध्यक्ष ओलीले अघि सारेका प्रस्तावकै आधारमा छलफल अगाडि बढ्ने भन्ने विषयले आजको बैठकमा थप तनाव सिर्जना गर्न सक्ने देखिएको छ ।
पुष्पलाल इन्भेष्टमेन्टले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज
काठमाडौं । पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सम्झौताअनुसार कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित दरका १५ लाख कित्ता साधारण सेयर निष्काशन गर्नेछ । यसबाट कम्पनीले १५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने तयारी गरेको हो । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धनसम्बन्धी सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका अध्यक्ष राजीव सापकोटा र पुष्पलाल इन्भेष्टमेन्टका अध्यक्ष लालप्रसाद सावा लिम्बुले हस्ताक्षर गरेका छन् । सम्झौता कार्यक्रममा लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठको पनि उपस्थिति रहेको थियो । पुष्पलाल इन्भेष्टमेन्ट कम्पनीले नेपालको अर्थतन्त्रमा दिगो वृद्धि र विकासमा योगदान पुर्याउने लक्ष्यसहित लगानी गर्दै आएको जनाएको छ । कम्पनीले ‘सानो लगानी, ठूलो अवसर, राष्ट्र निर्माणमा’ भन्ने नारासहित ऊर्जा, सूचना तथा प्रविधि, सञ्चार र पर्यटनलगायत विभिन्न क्षेत्रमा रणनीतिक लगानी गर्दै आएको जनाएको छ ।
जापानमा वृद्धवृद्धाको संख्या ऐतिहासिक उचाइमा : हरेक दशमध्ये तीनजना ज्येष्ठ नागरिक
काठमाडौं । जापानमा ६५ वर्ष वा सोभन्दा बढी उमेरका नागरिकको संख्या हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । जापान सरकारले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार मुलुकको कुल जनसंख्याको २९.६ प्रतिशत अर्थात् करिब ३ करोड ६२ लाख ४० हजार नागरिक ६५ वर्षमाथिका छन् । ‘ज्येष्ठ नागरिक सम्मान दिवस’को पूर्वसन्ध्यामा सार्वजनिक यो तथ्यांकले जापानको गहिरिँदो जनसांख्यिक संकटलाई पुनः उजागर गरेको छ । जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार गत वर्षको तुलनामा ज्येष्ठ नागरिकको संख्यामा करिब २० हजारले वृद्धि भएको छ । लिङ्गका आधारमा हेर्दा पुरुषको तुलनामा महिला ज्येष्ठ नागरिकको संख्या बढी छ । जसमा महिला २ करोड ५४ लाख र पुरुष १ करोड ५७ लाख रहेका छन् । उमेर समूहका आधारमा ७० वर्षमाथिका २ करोड ९१ लाख, ७५ वर्षमाथिका २ करोड १६ लाख र ८० वर्षमाथिका १ करोड २८ लाख नागरिक रहेका छन् । जनसंख्याको वृद्धिसँगै जापानको श्रम बजारमा ज्येष्ठ नागरिकको सहभागिता पनि बढ्दो छ । तथ्यांकअनुसार सन् २०२४ मा ६५ वर्ष वा सोभन्दा बढी उमेरका करिब ९४ लाख ३० हजार मानिस रोजगारमा संलग्न छन् । यो संख्या लगातार २२औँ वर्षसम्म बढेको हो । कुल जापानी रोजगारीमा ज्येष्ठ नागरिकको हिस्सा १३.८ प्रतिशत पुगेको छ, जुन आफैँमा एउटा नयाँ कीर्तिमान हो । विशेषगरी थोक तथा खुद्रा व्यापार क्षेत्रमा सबैभन्दा धेरै करिब १३ लाख १० हजार ज्येष्ठ नागरिक सक्रिय रहेको पाइएको छ । जापानको जनसंख्याको बनोटमा आइरहेको यो बदलावले भविष्यका लागि गम्भीर चुनौती खडा गरेको छ । नेसनल इन्स्टिच्युट अफ पपुलेसन एन्ड सोसल सेक्युरिटी रिसर्चका अनुसार सन् २०४० सम्ममा ६५ वर्षमाथिका नागरिकको हिस्सा बढेर ३४.८ प्रतिशत पुग्ने अनुमान गरिएको छ । सन् १९७१ देखि १९७४ सम्म जन्मिएको पुस्ता (सेकेन्ड बेबी बुमर्स) ६५ वर्ष उमेर पार गरेपछि यो अनुपात अझ तीव्र गतिमा बढ्ने निश्चितप्रायः छ । घट्दो जन्मदर र बढ्दो आयुका कारण उत्पन्न यो जनसांख्यिक संरचनाले जापानको सामाजिक सुरक्षा र अर्थतन्त्रमा दीर्घकालीन प्रभाव पार्ने विज्ञहरूको चेतावनी छ ।