कांग्रेसको आधिकारिकतामा एक रुपैयाँ पनि चलखेल भएको छैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकता प्राप्त गर्ने प्रक्रियामा आर्थिक चलखेल भएको भन्ने आरोप अस्वीकार गरेका छन् । उनले आधिकारिकताका विषयमा एक रुपैयाँको पनि चलखेल नभएको दाबी गर्दै आफ्नो नैतिकता र इमानदारितामाथि प्रश्न नउठाउन आग्रह गरेका छन् ।

आफूमाथि उठाइएका प्रश्नको जवाफ दिँदै थापाले आफू स्वच्छ र इमानदार रहेको बताए । उनले आफ्नो राजनीतिक धरातल कमजोर नभएको उल्लेख गर्दै आफूलाई कमजोर ठान्नेहरूलाई जवाफ दिएका छन् ।

‘मेरो हात सफा छन् । म कमजोर छैन । इमानदार छु । मेरो नैतिकता बलियो छ । म स्वच्छ छु । ढुक्क हुनुहोस्,’ उनले भने ।

थापाले आफूलाई लक्षित गरेर विभिन्न प्रयोजित र उत्पादित विषय उठाइएको आरोपसमेत लगाए । यस्ता विषयले आफ्नो नैतिकता र राजनीतिक अडान कमजोर नबनाउने उनको भनाइ छ ।

कांग्रेसको विशेष महाधिवेशनलाई उनले पार्टीभित्रको विद्रोहका रूपमा व्याख्या गरे । विशेष महाधिवेशन पार्टीभित्र परिवर्तनको मागसहित भएको उनको संकेत थियो ।

त्यस्तै, उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग मधेश प्रदेशको सत्ता सञ्चालनका विषयमा कुराकानी भएको पनि स्पष्ट पारे ।

आधिकारिकता प्राप्त गर्ने प्रक्रियामा आर्थिक चलखेल भएको आरोप र अन्य राजनीतिक विषयलाई जोडेर आफूविरुद्ध भ्रम सिर्जना गर्न खोजिएको उनको भनाइ छ ।

Share News