एनआईसी एशिया बैंकले बन्द गर्यो ७ वटा शाखारहित बैंकिङ सेवा
काठमाडौं । एनआईसी एशिया बैंकले देशका विभिन्न सात स्थानमा सञ्चालनमा रहेका शाखारहित बैंकिङ सेवा बन्द गरेको जनाएको छ । बैंकले सञ्चालक समितिको निर्णय तथा नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि देशभरका ७ वटा शाखारहित बैंकिङ सेवा बन्द गरिएको जनाएको हो । बैंकका अनुसार मोरङको अमरदह, सुनसरीको सिंगिया, सिराहाको भोक्राह र सारस्वर, काठमाडौंको टोखा– झोर माहाँकाल, सर्लाहीको श्रीनगर तथा दार्चुलाको धतुमा रहेका शाखारहित बैंकिङ सेवा बन्द गरिएका हुन् । यी स्थानका सेवाग्राहीले क्रमशः पथरी, झुम्का, मिर्चैया, सिराहा, टोखा, लालबन्दी र दार्चुला शाखाबाट बैंकिङ सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार बन्द गरिएका सेवा केन्द्रका ग्राहकले अब नजिकको बैंक शाखाबाट नियमित बैंकिङ सेवा लिन सक्नेछन् । सेवा लिन कुनै असुविधा भए कार्यालय समयभित्र सम्पर्क गर्न पनि बैंकले अनुरोध गरेको छ ।
एमबीएल इक्विटी फण्डको लाभांश घोषणा
काठमाडौं । माछापुच्छ्रे क्यापिटलको व्यवस्थापनमा सञ्चालित एमबीएल इक्विटी फण्डले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट आफ्ना इकाईधनीलाई करसहित ८ प्रतिशत नगद प्रतिफल वितरण गर्ने भएको छ । क्यापिटलको सञ्चालक समितिको बैठकले फण्डका इकाईधनीलाई करसहित ८ प्रतिशत अर्थात् करिब ९ करोड ७३ लाख रुपैयाँ नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । प्रतिफल वितरणका लागि फण्डले भदौ २ गते एक दिनका लागि इकाईधनी दर्ता किताब बन्द गर्ने जनाएको छ । त्यसैले भदौ १ गतेसम्म कायम रहेका वा सोही मितिसम्म इकाई खरिद गरेका लगानीकर्ता मात्र उक्त प्रतिफल प्राप्त गर्न योग्य हुनेछन् । एमबीएल इक्विटी फण्ड, माछापुच्छ्रे बैंक प्रवर्द्धक तथा माछापुच्छ्रे क्यापिटल योजना व्यवस्थापक रहेको एमबीएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित बन्दमुखी योजना हो । फण्डको आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण सम्पन्न भएपछि सञ्चालक समितिले उक्त प्रतिफल वितरण गर्ने निर्णय गरेको जनाएको छ ।
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको परीक्षाफल बिहीबार सार्वजनिक गरेको छ । गत साउन २ र ३ गते सञ्चालन भएको उक्त परीक्षाको नतिजा बोर्डले आज औपचारिक रूपमा प्रकाशन गरेको हो । बोर्डका अनुसार परीक्षामा कुल ७१ हजार ३१० परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये सबै विषयमा ग्रेड प्राप्त गरी सफलता हासिल गर्ने परीक्षार्थीको संख्या ५७ हजार ८९७ रहेको छ । यो कुल सहभागी परीक्षार्थीको ८१.१९ प्रतिशत हो । परीक्षामा सहभागी तीन जना परीक्षार्थीको भने परीक्षाफल रद्द गरिएको बोर्डले जनाएको छ । परीक्षार्थीहरूले आफ्नो नतिजा राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइट, एसएमएस तथा आईभीआर सेवामार्फत सजिलै हेर्न सक्नेछन् ।
किसानका समस्या र कृषि सुधारबारे तीन मन्त्रालयबीच के के भयो छलफल ?
काठमाडौं । कृषि, उद्योग र सञ्चार मन्त्रालयको संयुक्त आयोजनामा नुवाकोट, काभ्रे र धादिङका किसानहरूको कृषि उत्पादनको बजारीकरण, कृषि क्षेत्रका चुनौती तथा समाधानका उपायबारे विस्तृत छलफल सम्पन्न भएको छ । कार्यक्रममा कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधारी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादव, सञ्चार तथा सूचना प्रविधि मन्त्री बिक्रम तिमिल्सिना, सम्बन्धित क्षेत्रका पदाधिकारी, तीन जिल्लाका किसान तथा कृषि उद्यमीहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा नुवाकोटस्थित चिस्यान केन्द्रमा हाल करिब ३५ हजार मेट्रिक टन आलु मौज्दात रहेको जानकारी दिइँदै त्यसको प्रभावकारी व्यवस्थापन तथा शीघ्र बजारीकरण गर्न कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइन् । छलफलका क्रममा प्रदेशस्तरबाट हुने रासायनिक मलको कोटा निर्धारणप्रति किसानहरूले आपत्ति जनाउँदै आगामी खेतीपातीका लागि मल अभाव हुन नदिन अहिलेबाटै प्रभावकारी तयारी गर्न आग्रह गरिन् । साथै, भारतबाट आयात हुने आलुमा भन्सार व्यवस्थापन कडाइ गरिए नेपाली किसानको उत्पादनले सहज बजार पाउने अपेक्षा व्यक्त गरिएको थियो । किसानहरूले “सरकार खोज्दै किसान हिँड्ने होइन, सरकार नै किसानसम्म पुग्ने वातावरण निर्माण हुनुपर्छ“ भन्ने माग राख्दै बँदेल, दुम्सी, बाँदर र मृगका कारण अन्नबालीमा भइरहेको क्षतिबारे पनि गुनासो गरेका थिए । कार्यक्रममा सहभागीहरूले कृषि उद्यमीहरूका लागि न्यूनतम विद्युत् महसुल लागू गर्न पहल गर्न, किसानलाई गाउँबाट बजारसम्म उत्पादन ढुवानीका लागि निःशुल्क सवारी सुविधा उपलब्ध गराउन, जैविक (अर्गानिक) उत्पादनलाई प्राथमिकता दिन तथा आलुको पोषण र स्वास्थ्य लाभबारे मन्त्रालयबाट प्रभावकारी सूचना प्रवाह गर्नुपर्ने आवश्यकता औंल्याए । कृषि मन्त्रालयका सचिवले मन्त्रालयले रासायनिक मल वितरण प्रणालीमा सुधारको काम अघि बढाइरहेको, कृषि बजारका पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको तथा कृषि एम्बुलेन्स सञ्चालनको अवधारणामा काम भइरहेको जानकारी दिए । उनले कृषि उत्पादन ढुवानी गर्ने सवारी साधनलाई छुट्टै रङ्गमार्फत पहिचान गराई ट्राफिक व्यवस्थापन सहज बनाउने तयारी रहेको र कोल्ड स्टोर निर्माणका सामग्रीमा सरकारले भन्सार छुटको व्यवस्था गरिसकेको बताए । साथै, नुवाकोटको चिस्यान केन्द्रमा रहेको आलुको प्रभावकारी बजारीकरणको तयारी भइरहेको जानकारी पनि दिए । कार्यक्रमलाई सम्बोधन गर्दै कृषि तथा वन पर्यावरण मन्त्री चौधरीले कृषि तथा वन क्षेत्रलाई व्यापक रूपमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्दै स्वदेशी उत्पादनको प्रयोगलाई प्रोत्साहन गर्न सबैलाई आग्रह गरिन् । उनले “एक रुपैयाँ महँगो परे पनि नेपाली उत्पादन नै रोजौँ“ भन्दै स्वदेशी उत्पादनको प्रयोगले किसान, राष्ट्रिय अर्थतन्त्र र आत्मनिर्भर कृषिलाई बल पुग्ने विश्वास व्यक्त गरेकी थिइन् ।
गुणस्तर परिषद्को बैठकमा उद्योगमन्त्री यादवसहितको सहभागिता, विभिन्न गुणस्तर मापदण्ड स्वीकृत
काठमाडौं । नेपाल गुणस्तर परिषद्को ११९औँ बैठक उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवसहित सम्बन्धित मन्त्रालयका प्रतिनिधि तथा सरोकारवाला निकायका पदाधिकारीहरूको सहभागितामा सम्पन्न भएको छ । बैठकमा नेपाल गुणस्तर निर्धारण तथा पुनरावलोकनका लागि गठित प्राविधिक समितिहरूबाट सिफारिस भई आएका विभिन्न नेपाल गुणस्तर तथा अन्तर्राष्ट्रिय मापदण्डसम्बन्धी मस्यौदामाथि छलफल गरी स्वीकृत गर्ने निर्णय गरिएको छ । बैठकले मोटर ग्यासोलिनमा ब्लेन्डिङ कम्पोनेन्टका रूपमा प्रयोग हुने एन्हाइड्रस इथानोलको स्पेसिफिकेसन तथा इलास्टोमेरिक ब्रिज बेयरिङको आवश्यकतासम्बन्धी मापदण्ड स्वीकृत गरेको छ । त्यस्तै, रबरको कठोरता परीक्षणसँग सम्बन्धित ISO 48-1:2018 र ISO 48-2:2018, रबरको त्वरित एजिङ तथा ताप प्रतिरोध परीक्षणसम्बन्धी ISO 188:2023 लगायतका अन्तर्राष्ट्रिय मापदण्डहरू पनि बैठकमा स्वीकृत भएका छन् । यसैगरी, रबर तथा थर्मोप्लास्टिकको कम्प्रेसन सेट निर्धारणसम्बन्धी ISO 815-1:2019 र ISO 815-2:2019 मापदण्डलाई समेत बैठकले स्वीकृति प्रदान गरेको छ । गुणस्तरसम्बन्धी मापदण्डलाई समयानुकूल परिमार्जन तथा अन्तर्राष्ट्रिय अभ्यासअनुकूल बनाउने उद्देश्यले परिषद्को बैठक महत्वपूर्ण मानिएको छ । स्वीकृत मापदण्डले उद्योग तथा उत्पादन क्षेत्रको गुणस्तर सुधार, परीक्षण प्रणालीको प्रभावकारिता र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । उद्योगमन्त्री गौरीकुमारी यादवको सहभागितामा सम्पन्न बैठकले गुणस्तर निर्धारण तथा पुनरावलोकन प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण निर्णय गरेको छ ।
करदाता प्रोत्साहन उपहार कार्यक्रम शुक्रबारदेखि, एक जनाले १० लाख रुपैयाँ जित्ने
काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको छ । बिहीबार विभागले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उपहार छनोट विधि र प्रणालीबारे जानकारीसमेत गराएको छ । सो क्रममा विभागका प्राविधिकहरूले नमुना उपहार छनोट विधि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष प्रस्तुत गरेका थिए । विभागका महानिर्देशक तथा सहसचिव डा. भीष्मकुमार भूसालका अनुसार विभागले पहिलो उपहार कार्यक्रम शुक्रबार घोषणा गर्नेछ । उनकाअनुसार साउन १ गतेदेखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता र नगदमा वस्तु तथा सेवाको कारोबार गरेर विभागको वेबसाइटमा भौतिक रूपमा बिल अपलोड गरेका उपभोक्ताका लागि शुक्रबार उपहार घोषणा गरिनेछ । जसमा साउन १ गतेदेखि १५ गतेसम्मको हरेक दिनको कारोबारका आधारमा १५ जनाले करकट्टी गरेर एक–एक लाख रुपैयाँ नगद उपहार पाउने छन् । यस्तै, साउन १ गतेदेखि १५ गतेसम्म वस्तु तथा सेवा खरिद गरेका सबै उपभोक्ताका लागि एउटा बम्पर उपहार घोषणा हुनेछ । जसमा एक जनाले १० लाख रुपैयाँ नगद जित्नेछन् । यो पुरस्कार रकममा भने कर लाग्नेछ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आर्थिक वर्ष २०८३/८४ को बजेटमा करदातालाई प्रोत्साहन गर्न उपहार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए । करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधिअनुसार अबदेखि हरेक महिनाको १६ गते (१ देखि १५ गतेसम्मको) र महिनाको अन्तिम दिन (१६ गतेदेखि बाँकी दिनको) वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताका लागि उपहार घोषणा गरिनेछ । बैंक तथा वालेटको क्युआरमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता यो कार्यक्रममा स्वतः जोडिने छन्। तर, उपहार प्राप्त गर्न बिल भने अनिवार्य रूपमा उपभोक्ताको साथमा हुनुपर्नेछ । नगदमा वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताले भने वस्तु तथा सेवाको खरिदपछि अनिवार्य रूपमा प्यान तथा भ्याट बिल मागेर आन्तरिक राजस्व विभागको वेबसाइटमा गएर अपलोड गरी उपहारमा सहभागी भएको कुपन लिनुपर्ने व्यवस्था छ ।
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष केसीले लिए शपथ
काठमाडौं । विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष प्रा. डा. खड्गबहादुर केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा उनलाई शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शपथ गराएका हुन् । त्यसपछि मन्त्रीको उपस्थितिमा अध्यक्ष केसीले सचिव श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराए । शपथग्रहणपछि मन्त्री पोखरेलले उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, विश्वविद्यालय सुधार तथा संस्थागत पुनःसंरचनालाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे । विश्वविद्यालय सुधारका लागि आवश्यक नीतिगत तथा प्रशासनिक सहजीकरण गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनले बताए । नवनियुक्त अध्यक्ष केसीले विश्वविद्यालयको नीतिगत र संरचनागत सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सचिव श्रेष्ठले पनि आफ्नो कार्यकालमा विश्वविद्यालय अनुदान आयोगलाई थप प्रभावकारी बनाउँदै उच्च शिक्षाको सुधारका लागि जिम्मेवारीपूर्वक काम गर्ने बताए । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको अध्यक्षमा प्रा. डा. खड्गबहादुर केसी र सचिवमा प्रा. डा. रोजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको थियो । अन्तर्राष्ट्रिय सम्बन्ध, भूराजनीति तथा नेपालको परराष्ट्र नीतिका विज्ञका रूपमा परिचित केसीले त्रिभुवन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि गरेका छन् ।
नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व
काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ । सरकारले काउन्सिलको अध्यक्षमा शकुन्तला प्रजापति, उपाध्यक्षमा बिमला कुमारी साह र रजिस्ट्रारमा पार्वती विष्टलाई नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष, उपाध्यक्ष र रजिस्ट्रारले बिहीबार (आज) स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे । शपथ ग्रहणसँगै उनीहरूले नेपाल नर्सिङ काउन्सिलको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका छन् ।