काठमाडौं । गर्भवती महिलाको स्वास्थ्य सचेतना अभिवृद्धि तथा सुरक्षित मातृत्व सेवामा पहुँच बढाउने उद्देश्यले काठमाडौंमा मातृ स्वास्थ्य प्रवर्द्धन शिविर आयोजना गरिएको छ।
काठमाडौं महानगरपालिका–१९ स्थित शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा आमा सुरक्षा नेपालको आयोजना तथा नेको इन्सुरेन्स लिमिटेडको सहकार्यमा शिविर सम्पन्न भएको हो। कात्तिक १९ गते आयोजित शिविरमा करिब ५० जनाको सहभागिता रहेको थियो।
शिविरमा १५ जना गर्भवती महिला, उनीहरूका परिवारका सदस्य तथा महिला स्वास्थ्य स्वयंसेविकाको सहभागिता थियो। सहभागीलाई गर्भावस्थामा अपनाउनुपर्ने स्वास्थ्य सावधानी, पोषण, मानसिक स्वास्थ्य, सुरक्षित शारीरिक गतिविधि तथा गर्भावस्थाका जोखिमका संकेतबारे जानकारी र परामर्श प्रदान गरिएको थियो।
कार्यक्रममा निकिता संग्रौलाले गर्भावस्थामा सुरक्षित रूपमा गर्न सकिने योग तथा शारीरिक अभ्यासबारे जानकारी दिएकी थिइन्। उनले गर्भावस्थामा परिवारको सहयोगको महत्वबारे समेत प्रकाश पारेकी थिइन्।
त्यस्तै, डा. सुष्मा ढकालले मातृ मानसिक स्वास्थ्य, पोषण तथा गर्भावस्थाका जोखिमका संकेतसम्बन्धी प्राविधिक सत्र सञ्चालन गरेकी थिइन्। उनले गर्भावस्थाका क्रममा देखिने असामान्य लक्षण समयमै पहिचान गरी स्वास्थ्य संस्थाबाट आवश्यक सेवा लिनुपर्नेमा जोड दिएकी थिइन्।
शिविरमा सहभागी गर्भवती महिलाले स्त्रीरोग विशेषज्ञबाट व्यक्तिगत स्वास्थ्य परामर्श तथा भ्रूणको मुटुको धड्कन परीक्षण सेवा प्राप्त गरेका थिए। उनीहरूलाई गर्भावस्थामा आवश्यक सामग्रीसहितको मातृत्व किट र मातृत्व पहिचान ब्याजसमेत वितरण गरिएको थियो।
कार्यक्रममा गर्भवती महिलाको स्वास्थ्य र सुरक्षित मातृत्वका लागि परिवारको भूमिकाबारे पनि जानकारी दिइएको थियो। गर्भावस्थाका क्रममा श्रीमान् तथा परिवारका सदस्यले भावनात्मक र व्यावहारिक सहयोग गर्नुपर्ने तथा आवश्यक स्वास्थ्य सेवा लिन सहजीकरण गर्नुपर्ने विषयमा सहभागीलाई सचेत गराइएको थियो।
नेको इन्सुरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य तथा समुदाय केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिँदै आएको जनाएको छ। मातृ स्वास्थ्यमा केन्द्रित यस सहकार्यले गर्भवती महिला तथा उनीहरूका परिवारमा स्वास्थ्य सचेतना बढाउनुका साथै समयमै आवश्यक स्वास्थ्य सेवा लिन प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।