६५ घण्टापछि स्याङ्जामा बिजुली
काठमाडौं । चट्याङका कारण ट्रान्सफर्मरमा क्षति पुगेपछि अवरुद्ध भएको स्याङ्जाको वालिङ र भीरकोट नगरपालिका क्षेत्रको विद्युत् सेवा करिब ६५ घण्टापछि पुनः सुचारु भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले सेवा पुनःस्थापनाका लागि समन्वयकारी भूमिका निर्वाह गरेको हो । आइतबार बिहानदेखि विद्युत् अवरुद्ध हुँदा करिब १३ हजार सेवाग्राही (घर, स्वास्थ्य, सञ्चार र अन्य अत्यावश्यक सेवाहरू) प्रभावित भएका थिए । उक्त सूचना मन्त्रालयमा प्राप्त भएसँगै सचिवालय सक्रिय भएको थियो । उक्त क्षेत्रमा बुटवल पावर कम्पनीको वितरण प्रणालीमार्फत विद्युत् आपूर्ति हुँदै आएको छ । कम्पनीको ट्रान्सफर्मर मर्मत गर्न तीन साताभन्दा बढी समय लाग्ने देखिएपछि वैकल्पिक उपाय अपनाइएको हो । समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरणको हेटौंडास्थित कार्यालयबाट ३ एमभीए क्षमताको ट्रान्सफर्मर झिकाएर स्याङ्जामा जडान गरिएको छ । कम्पनीको ट्रान्सफर्मर पूर्ण रूपमा मर्मत नहुन्जेलसम्मका लागि प्राधिकरणले उक्त ट्रान्सफर्मर भाडामा उपलब्ध गराएको हो । स्थानीयबासी, नेपाल विद्युत प्राधिकरणका सम्बन्धित शाखाका कर्मचारी तथा बुटवल पावर कम्पनीका प्राविधिक टोलीको सक्रियतासँगै आपतकालीन अवस्थामा छोटो अवधिमै अन्तरनिकायबीच समन्वय गरी सेवा सुचारु भएको हो ।
बुवाको पथ पछ्याउँदै प्रवलजंग
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डे निर्वाचित भएका छन् । उनले ज्योत्सना श्रेष्ठलाई पराजित गर्दै एसोसिएट उपाध्यक्षमा विजयी हासिल गरेका हुन् । निजी क्षेत्रको नेतृत्वमा उनको आगमनले नयाँ पुस्ताको उपस्थिति अझ स्पष्ट बनाएको छ । हाल महासंघको कार्यकारिणी सदस्यका रूपमा रहेका उनी अब उपाध्यक्ष बनेका हुन् । महासंघभित्र उनको बढ्दो प्रभाव र लामो समयदेखि गरिएको संस्थागत अभ्यासलाई उपहारस्वरूप उनलाई उद्योगी व्यवसायीले मत दिएर जिताएका छन् । व्यावसायिक परिवारमा जन्मिएका पाण्डे महासंघका पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेका छोरा हुन् । उनी बुवाको पथ पछ्याउँदै महासंघको पदाधिकारीमा पुगेका हुन् । उनले आफ्नो पहिचान केवल पारिवारिक विरासतमा सीमित नराखी दुई दशकभन्दा बढीको व्यावहारिक अनुभव र विविध क्षेत्रमा सक्रिय संलग्नतामार्फत आफूलाई एक सक्षम व्यवसायिक नेताका रूपमा स्थापित गरेका छन् । इन्जिनियरिङ पृष्ठभूमि भएका ५१ वर्षीय पाण्डेले आफ्नो करियरको सुरुआत नेपाल टेलिकमबाट गरेका थिए । त्यहाँ काम गर्दा उनले प्रविधि, संरचना र व्यवस्थापनका आधारभूत पक्षहरू नजिकबाट बुझ्ने अवसर पाए, जसले पछि व्यावसायिक यात्रामा विश्लेषणात्मक र प्रणालीगत सोच विकास गर्न सहयोग पुर्यायो । त्यसपछि उनी निजी क्षेत्रमा प्रवेश गर्दै सिमेन्ट, औषधि, बैंकिङ र बीमाजस्ता विविध क्षेत्रमा आफ्नो लगानी र संलग्नता विस्तार गर्दै गए । हाल उनी कसमस सिमेन्ट र इस्टर्न कसमसका निर्देशकका रूपमा कार्यरत छन् भने लोमस फर्मास्युटिकल्सका सञ्चालक पनि हुन् । यसका साथै, फर्चुना ग्रुपमार्फत औषधि प्याकेजिङ सामग्री उत्पादनमा उनको भूमिका छ । स्वास्थ्य उद्योगको आपूर्ति श्रृंखलामा समेत उनको योगदान छ । पाण्डेको संलग्नता केवल उत्पादन उद्योगमा मात्र सीमित छैन । उनी निजी क्षेत्रबाट सञ्चालित डाटा हबमा समेत आबद्ध छन्, जहाँ बैंक तथा वित्तीय क्षेत्रदेखि लिएर समग्र निजी क्षेत्रका तथ्यांकहरू संकलन र व्यवस्थापन गरिन्छ। यससँगै उनी सिटिजन्स बैंक इन्टरनेसनलका अध्यक्षका रूपमा पनि कार्यरत छन्, जसले वित्तीय क्षेत्रसँगको उनको गहिरो सम्बन्धलाई थप मजबुत बनाएको छ । महासंघमा उनले तीन कार्यकाल कार्यकारीणी सदस्यका रूपमा जिम्मेवारी सम्हालिसकेका छन्, जसले संगठनभित्रको प्रक्रियागत ज्ञान, नेटवर्क र नेतृत्व क्षमतालाई परिपक्व बनाएको छ । अघिल्लो निर्वाचनमा पनि उनले उपाध्यक्ष पदमा दाबी गरेका थिए । तर, टिम व्यवस्थापनको रणनीतिका कारण प्रतिस्पर्धाबाट पछि हटेका थिए । यसपटक भने उनले स्पष्ट तयारी र एजेन्डासहित मैदानमा उत्रिए र अन्ततः एसोसिएट उपाध्यक्ष बन्न सफल भए । अहिले निजी क्षेत्रको मनोबल निकै खस्किएको समय छ, लामो समयदेखि लगानीका लागि अनुकूल वातावरण बनेको छैन । उनी सरकार र निजी क्षेत्रको मध्येस्थता गरेर सुधार ल्याउने दाबी गर्दै आएका छन् । ‘यस बेलामा निजी क्षेत्रले आफ्नो धारणा स्पष्ट रूपमा लैजानु पर्ने हुन्छ । लामो समय यो क्षेत्रमा काम गरेको र महासंघमा विभिन्न भूमिका निभाएको कारण मैले यो पदको न्याय गर्छु,’ उनले भनेका छन्, ‘दोस्रो पटक म उपाध्यक्ष बन्दिनँ पनि ।’ उनका अनुसार मुलुकको अर्थतन्त्रलाई पुनः चलायमान बनाउन दोस्रो चरणको आर्थिक सुधार अपरिहार्य छ । उनी नीतिगत स्थिरतालाई लगानीको आधार मान्दै कर प्रणालीलाई वैज्ञानिक बनाउनु पर्ने, बहुदरको मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्नुपर्ने र कर चुहावट नियन्त्रणका लागि प्रभावकारी संयन्त्र आवश्यक रहेको बताउँछन् । आयकर दर घटाउने, उद्योगका लागि सहुलियत दरमा विद्युत उपलब्ध गराउने, उत्पादन लागत कम गर्ने र व्यवसायमैत्री वातावरण निर्माण गर्ने नीति आवश्यक रहेको उनको धारणा छ । उनले हवाई टिकटमा लगाइएको भ्याट खारेज गर्नुपर्ने, मुद्रास्फीतिका आधारमा श्रमिक र निजी क्षेत्रबीच सहकार्य गर्दै न्यूनतम तलब निर्धारण गर्नुपर्ने र भूतप्रवाही कर नलगाउने प्रतिबद्धता सुनिश्चित गर्नुपर्ने विषय उठाउँदै आएका छन् । प्रवलजंग पाण्डे एक यस्ता व्यवसायी हुन्, जसले इन्जिनियरिङ पृष्ठभूमि, विविध औद्योगिक अनुभव र संस्थागत संलग्नताको संयोजनमार्फत आफूलाई निजी क्षेत्रको उदीयमान नेताका रूपमा स्थापित गरेका छन् ।
महासंघको एसोसिएट उपाध्यक्षमा पाण्डे विजयी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डे विजयी भएका छन् । १ हजार ७९ मत ल्याउँदै उनी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी ज्योत्सना श्रेष्ठले ७५० मत ल्याइन् । पाण्डे लोमस फर्मास्युटिकल्स र कसमस सिमेन्टका सञ्चालक हुन् । उनी सिटिजन्स बैंकको अध्यक्षको रूपमा पनि कार्यरत छन् ।
प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक आह्वान
काठमाडौं । सर्वोच्च अदालतको रिक्त प्रधानन्यायाधीश पदमा नियुक्तिको प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक आह्वान भएको छ । परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनअनुसार संवैधानिक परिषद सचिवालयले बिहीबारका लागि बैठक बोलाएको बैठक २०८३ वैशाख २४ गते बिहीबार (भोलि) बेलुका ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने भएको हो । बैठकको प्रमुख एजेण्डा ‘प्रधानन्यायाधीशको नियुक्ति सिफारिस रहेको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने उक्त बैठकमा सहभागी हुनका लागि परिषद्का सदस्यहरूलाई पत्राचार गरिएको छ । बैठकमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता, भीष्मराज आङ्देम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारी ठाकुरको उपस्थित रहनेछ । संवैधानिक व्यवस्थाअनुसार परिषद्ले प्रधानन्यायाधीशका लागि सिफारिस गरेका व्यक्तिको नाम संसदीय सुनुवाइ समितिमा पठाइनेछ । समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिद्वारा प्रधानन्यायाधीश नियुक्त गर्ने प्रावधान रहेको छ ।
४१ करोड डलरका नयाँ परियोजनासँग भारतको चिप उद्योग विस्तार
काठमाडौं । विश्वव्यापी सेमिकन्डक्टर आपूर्ति शृङ्खलामा आफ्नो स्थान मजबुत बनाउने लक्ष्यसहित भारतले ४१ करोड ४० लाख डलर बराबरका दुई नयाँ सेमिकन्डक्टर परियोजनालाई स्वीकृति दिएको छ । यो निर्णयले देशलाई इलेक्ट्रोनिक्स उत्पादनको उदीयमान केन्द्रका रूपमा स्थापित गर्ने सरकारी प्रयासलाई थप गति दिने अपेक्षा गरिएको छ । सरकारले सोमबार राति स्वीकृति दिएका यी परियोजनामध्ये एक एलइडी डिस्प्ले उत्पादन सुविधा हो भने अर्को सेमिकन्डक्टर प्याकेजिङ युनिट हो । यी दुई थपिएसँगै भारतमा यस्ता परियोजनाको सङ्ख्या १२ पुगेको छ । यसमा करिब १७ अर्ब २० करोड डलर बराबरको कुल लगानी प्रतिबद्ध रहेको बताइएको छ । भारतले सन् २०२१ देखि घरेलु चिप उत्पादन क्षमतामा विस्तार गर्ने रणनीति अघि बढाउँदै आएको छ । आयातमा निर्भरता घटाउने, आपूर्ति प्रणालीलाई सुरक्षित बनाउने तथा प्रविधिमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले निर्माण, डिजाइन र प्याकेजिङसँग सम्बन्धित विभिन्न पूर्वाधारमा निरन्तर लगानी बढाइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले यी नयाँ परियोजनाहरूलाई भारतलाई विश्वव्यापी सेमिकन्डक्टर मूल्य शृङ्खलामा अग्रणी बनाउने दीर्घकालीन योजनाको महत्त्वपूर्ण हिस्सा भएको बताएका छन् । उनका अनुसार सेमिकन्डक्टर क्षेत्रमा भइरहेको प्रगतिले आर्थिक रूपान्तरणलाई तीव्र बनाउने, प्राविधिक आत्मनिर्भरता सुदृढ गर्ने र नवप्रवर्तनमा आधारित पारिस्थितिकी प्रणालीलाई थप ऊर्जा प्रदान गर्नेछ । सरकारी विवरणअनुसार एलइडी परियोजना मिनी र माइक्रो डिस्प्ले मोड्युल उत्पादनमा केन्द्रित रहनेछ । यसका लागि कम्पाउन्ड सेमिकन्डक्टर निर्माणसम्बन्धी एकीकृत सुविधा स्थापना गरिनेछ । त्यस्तै, प्याकेजिङ युनिटले अटोमोबाइल, औद्योगिक तथा उपभोक्ता इलेक्ट्रोनिक्स क्षेत्रमा आवश्यक पर्ने चिप समाधान उपलब्ध गराउने लक्ष्य राखेको छ । यी पहलहरूले देशभित्र विकास भइरहेको उच्चस्तरीय चिप डिजाइन क्षमतालाई पूरक सहयोग पुर्याउने र समग्र सेमिकन्डक्टर पारिस्थितिकी प्रणालीलाई उल्लेखनीय रूपमा सुदृढ बनाउने विश्वास सरकारको छ । भारतको चिप बजार पनि तीव्र रूपमा विस्तार भइरहेको छ । सन् २०२३ मा करिब ३८ अर्ब डलरको रहेको बजार सन् २०२४–२५ सम्म ४५ देखि ५० अर्ब डलरसम्म पुग्ने अनुमान गरिएको छ । सरकारले सन् २०३० सम्म यस क्षेत्रलाई एक खर्ब डलरको स्तरमा पुर्याउने महत्त्वाकांक्षी लक्ष्य अघि सारेको छ । यसअघि स्वीकृत कतिपय उत्पादन केन्द्रहरूले सञ्चालन सुरु गरिसकेका छन् भने दुई परियोजनाले त व्यावसायिक ढुवानीसमेत सुरु गरिसकेको बताइएको छ, जसले भारतको चिप उद्योग विस्तारको गति झन् स्पष्ट बनाएको छ । रासस
निगमलाई प्रतिसिलिन्डरमा १ हजार बढी घाटा
काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास (एलपी) मा ठूलो वित्तीय संकट झेलिरहेको बताएको छ । निगमका प्रवक्ता मनोज ठाकुरले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेर आएका कारण निगमले अहिले प्रति सिलिन्डर १ हजार ७८ रुपैयाँ घाटा बेहोरिरहेको जानकारी दिए । केही समय अघिसम्म प्रति सिलिन्डर ३३१ रुपैयाँ मात्र घाटा रहेकोमा भारतबाटै मूल्य बढेर आएपछि निगमको नोक्सानी ह्वात्तै बढेको निगमले जनाएको छ । पछिल्लो पटक भारतबाट प्रति सिलिन्डर ८२९ रुपैयाँ मूल्य बढेर आएको प्रवक्ता ठाकुरले बताए । ‘पहिले प्रति सिलिन्डर ३३१ रुपैयाँ घाटा थियो, अहिले बढेर १०७८ पुग्यो,’ उनले भने, ‘कमर्सियल ग्यासमा त एकै पटक ९५० रुपैयाँ बढेर आएको छ । ’ हाल बजारमा ग्यासको मूल्य २ हजार १६० रुपैयाँ भए पनि निगमलाई भने लागत मूल्य निकै महँगो परिरहेको छ ।बजारमा उपभोक्ताले फुल ग्यास अर्थात् पुरा तौलको सिलिन्डर कहिलेदेखि आउँछ भनी सोधिरहेका बेला निगमले भने तत्कालै यसमा निर्णय लिन नसकिएको जनाएको छ । मध्यपूर्वको युद्धका कारण अन्तर्राष्ट्रिय आपूर्ति प्रणालीमा परेको असर र भारतमा समेत ग्यासको आपूर्ति सहज भइनसकेकाले फुल ग्यास वितरण गर्न समय लाग्ने प्रवक्ता ठाकुरको भनाइ छ । उनले थपे, ‘हाम्रो आपूर्ति पूर्णतया भारतमा भर पर्छ । माग अनुसारको ग्यास उपलब्ध गराउन नसकिएला कि भन्ने डरले पनि भरी ग्यासमा जान केही समस्या भएको हो ।’ निगमका अनुसार ग्यासको आयातमा केही गिरावट देखिएको छ । अप्रिल महिनामा भारतबाट ३४ देखि ३५ हजार मेट्रिक टन आयात भइरहेको छ । यसअघि ४५ देखि ५१ हजार मेट्रिक टनसम्म आयात हुने गरेको थियो । अहिले काठमाडौं उपत्यकामा दैनिक ४५ देखि ५० हजार सिलिन्डर खपत भइरहेको निगमले जनाएको छ ।यसैगरी, आयात भइरहेको सबै सोझै खपत भइरहेको निगमको भनाइ छ । ग्यास भण्डारण गर्ने क्षमता नभएकाले आयात र खपत सँगसँगै भइरहेको निगमले जनाएको छ । के अब ग्यासको भाउ फेरि बढ्छ ? निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य धेरै बढे पनि नेपालमा भने पछिल्लो समय १५० रुपैयाँ मात्र मूल्य बढाइएको स्पष्ट पारेको छ । फेरि मूल्य बढ्छ त भन्ने प्रश्नमा प्रवक्ता ठाकुरले भने, ‘मूल्य निर्धारण गर्ने काम निगमको सञ्चालक समितिको हो ।अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दो क्रममा रहेकाले निगम ठूलो घाटामा छ, तर मूल्य बढ्ने वा नबढ्नेबारे अहिले नै भन्न सकिने स्थिति छैन ।’ हाललाई भारतबाट आपूर्तिमा कुनै समस्या नरहेको र बजारमा ग्यासको अभाव हुन नदिने निगमले बताएको छ ।
काठमाडौंदेखि पुग्थे रोयल क्यासिनोमा नेपाली, क्यासिनोले नै पठाउँथ्यो प्लेन टिकट
काठमाडौं । रोयल किङ क्यासिनोबाट म्यानेजरसहित १९ जना नेपाली पक्राउ परेका छन् । मंगलबार राति रुपन्देहीमा रहेको रोयल किङ क्यासिनोबाट लुम्बिनी प्रदेश प्रहरी कार्यालय र रुपन्देही जिल्ला प्रहरीबाट खटिएका टोलीले उनीहरूलाई पक्राउ गरेका हुन् । नेपालीहरूलाई नगदसहित जुवा खेलाउन संलग्न रहेको भन्दै क्यासिनो म्यानेजरलाई नियन्त्रणमा लिएको रुपन्देही जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णबहादुर चन्दले जानकारी दिए । उनका अनुसार नगद ९५ हजार ५ सय, मोबाइल १७ थान र क्यासिनो क्वाइन २ सय थान जफत गरिएको छ । क्यासिनोमा काठमाडौं, ललितपुर, गुल्मी र वीरगञ्जबाट क्यासिनोमा नेपालीहरू पुगेका थिए । एक प्रहरी अधिकृतका अनुसार काठमाडौंका क्यासिनोमा प्रहरीले कडाइ गर्न थालेपछि उपत्यका बाहिरका जिल्लामा नेपाली पुग्ने गरेका हुन् । क्यासिनोका कर्मचारीसँग मिलेमत्तो गरेर उनीहरू क्यासिनोमा प्रवेश गर्ने गरेको एक प्रहरीले बताए । ‘काठमाडौंबाट क्यासिनो खेल्न जाने खेलाडीलाई हवाईजहाजको आवतजावत टिकट र होटलमा बस्ने व्यवस्थासमेत मिलाइएको हुन्थ्यो,’ ती प्रहरीले विकासन्युजलाई भने, ‘ खेलाडीको सुविधाका लागि सम्पूर्ण व्यवस्था क्यासिनोले गरिदिने गरेका छन् ।’ क्यासिनोबाट को-को पक्राउ परे ? यी हुन म्यानेजरहरू : १.जिल्ला रुपन्देही सिद्धर्थनगर नगरपालिका वडा नं. ०६ गल्लामण्डी बस्ने वर्ष २२ का अभय कुमार गुप्ता २. जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. २ बस्ने वर्ष २६ का सुशान्त अधिकारी ३. जिल्ला रुपन्देही ओमसतिया गाउँपालिका वडा नं. ०२ बस्ने वर्ष २९ को निर्केष नेपाल ४. जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. १३ बस्ने वर्ष २८ को सञ्जय शाक्य यी हुन खेलाडीहरू १.जिल्ला काठमाडाैं चन्द्रागिरी नगरपालिका वडा नं. १३ बस्ने बर्ष ५० का जीवन थापा २.जिल्ला रुपन्देही देवदह नगरपालिका वडा नं. ५ खैरनी बस्ने वर्ष ३२ का आकाश गुप्ता ३. जिल्ला रुपन्देही देवदह नगरपालिका वडा नं। ५ खैरनी बस्ने बर्ष ३३ को सुनारी मगर ४. जिल्ला गुल्मी रेसुङ्गा नगरपालिका वडा नं. ६ बस्ने वर्ष ४२ का नेत्र पोख्रेल ५. जिल्ला रुपन्देही कोटहीमाई गाँउपालिका वडा नं. ३ बस्ने वर्ष २९ का अब्दुल कलाम जोलहा ६. जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ९ बस्ने वर्ष ५८ का अभिषेक शर्मा ७. जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं. १५ बस्ने वर्ष ४४ का शिव पाण्डे ८. जिल्ला ललितपुर ललितपुर महानगरपालिका वडा नं. ५ बस्ने वर्ष ५० का बाबुराजा महर्जन ९. जिल्ला रुपन्देही सैनामैना नगरपालिका वडा नं. ४ बस्ने वर्ष ३४ का रोहन विक भन्ने तिल बहादुर विक १०. जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं‍ ७ बस्ने वर्ष ४४ का जंगकुमार अग्रवाल ११. जिल्ला रुपन्देही मायादेवी गाउँपालिका वडा नं. ५ बस्ने वर्ष २८ का निरज गुप्ता १२. जिल्ला रुपन्देही मायादेवी गाउँपालिका वडा नं. ५ बस्ने वर्ष २१ का सुरज जयसवाल १३. जिल्ला रुपन्देही मायादेवी गाउँपालिका वडा नं. ५ बस्ने वर्ष १८ का रमेश यादव १४. जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं. ६ बस्ने वर्ष ३८ को निर्मल बस्याल १५. जिल्ला रुपन्देही सैनामैना नगरपालिका वडा नं. ४ बस्ने वर्ष ३० को भरत थापा
ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकाल एफएनसीसीआईको सदस्यमा निर्वाचित
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनमा वस्तुगत संघतर्फ केन्द्रीय कार्यकारिणी सदस्यमा सागर ढकाल विजयी भएका छन् । महासंघको ६०औँ वार्षिक साधारणसभा अन्तर्गत सम्पन्न निर्वाचनमा ढकालले ६८ मत प्राप्त गर्दै सदस्यमा निर्वाचित भएका हुन् । वस्तुगत समूहबाट उनी दोस्रो उच्च मत प्राप्त गर्ने उम्मेदवारसमेत हुन् । स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष समेत रहेका ढकालले वस्तुगततर्फ उपाध्यक्ष पदका उम्मेदवार नरेशलाल श्रेष्ठको समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए । निर्वाचित भएसँगै उनले देशको अर्थतन्त्र सुधार र व्यवसायीमैत्री नीति निर्माणमा सक्रिय भूमिका खेल्ने बताए । उनका अनुसार वस्तुगत संघअन्तर्गत रहेका विभिन्न कानुनी तथा व्यवहारिक समस्याहरू समाधानका लागि महासंघमार्फत सरकारसँग समन्वय, बहस र नीतिगत पहल गरिनेछ । ढकालले नेपालको पुँज िबजारलाई सशक्त बनाउनेतर्फ पनि आफू केन्द्रित हुने बताए । उनका अनुसार हाल ७२ लाखभन्दा बढी लगानीकर्ता आबद्ध रहेको पुँजी बजारलाई अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा अघि बढाउन आवश्यक छ। ‘नेपालको पुँजी बजारको मार्केट क्याप करिब ५० खर्बको हाराहारीमा पुगेको छ । अब यसलाई केवल बजारको सीमाभित्र राख्ने होइन, समग्र अर्थतन्त्रको प्रतिबिम्बका रूपमा विकास गर्नुपर्छ,’ उनले भने । ढकाल पूँजी बजारसँगै जलविद्युत्, होटल तथा पर्यटन, कृषि लगायतका क्षेत्रमा पनि सक्रिय रूपमा आबद्ध छन् ।