बाढीपीडितका लागि राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघद्वारा १ लाखभन्दा बढी सहयोग
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले बाढीबाट प्रभावित नागरिकहरूका लागि १ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बुधबार चीनतर्फबाट अचानक आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लाहरूमा ठूलो जनधनको क्षति भएपछि संघले ’राबिया नेपाल रिलिफ फण्ड’ मार्फत आम कर्मचारीहरूको तर्फबाट सो रकम सहयोग स्वरूप उपलब्ध गराउने निर्णय गरेको हो । संघका अध्यक्ष रविन्द्र प्रसाद चौलागाईं र महासचिव ऋषिराम ज्ञवालीद्वारा जारी प्रेस विज्ञप्तिमा बाढीका कारण ठूलो संख्यामा नागरिकहरू विस्थापित हुनुका साथै पुगेको क्षतिप्रति गहिरो दुःख व्यक्त गरिएको छ । संघले बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुका साथै घाइतेहरूको यथाशीघ्र उद्धार तथा प्रभावकारी उपचारको व्यवस्था मिलाउन सरकारसँग अनुरोध गरेको छ । यसैगरी, बाढीबाट प्रभावित परिवारहरूलाई आवश्यक खाद्यान्न, स्वास्थ्य सामग्री, अस्थायी आवास लगायतका आधारभूत राहत उपलब्ध गराउन सरकार तथा सम्बन्धित सबै पक्षसँग आग्रह गरिएको छ । बाढीका कारण क्षति व्यहोरेका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय, कर्मचारी र उनीहरूका परिवारलाई आवश्यक राहत, सहयोग तथा पुनःस्थापनामा ध्यान पुर्याउन बैंक व्यवस्थापन तथा नेपाल सरकारको ध्यानाकर्षण गराउँदै विपद्को यस दुःखद् घडीमा सबैको साथ, सहयोग र ऐक्यबद्धता आवश्यक रहेको संघले जनाएको छ ।
बाढीपीडितको राहतका लागि नेपाल बैंकद्वारा प्रधानमन्त्री कोषमा ३ करोड १ लाख सहयोग
काठमाडौं । बुधबार बिहान त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितहरूका लागि नेपाल बैंक लिमिटेडले ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषमार्फत उक्त रकम ’प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा प्रदान गरेको हो । अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच बैंक सञ्चालक समितिका सदस्य अमृत लम्सालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सो रकम बराबरको चेक हस्तान्तरण गरे । हस्तान्तरण कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. वाग्लेले प्राकृतिक विपत्तिको कठिन समयमा बाढीपीडितका लागि ठूलो आर्थिक सहयोग पुर्याएकोमा नेपाल बैंक परिवारलाई धन्यवाद ज्ञापन गरे । सञ्चालक समिति सदस्य लम्सालले महाभूकम्प, महामारी तथा विभिन्न राष्ट्रिय विपद्का बेला बैंकले गर्दै आएको सहयोगकै निरन्तरता स्वरूप यो सहयोग उपलब्ध गराइएको स्पष्ट पार्दै आगामी दिनमा पनि यस्ता मानवीय कार्यलाई जारी राख्ने प्रतिबद्धता जनाए । साथै बैंकले बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य बद्री खनाल, प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय, नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर खड्का तथा सुशासन डिभिजन प्रमुख होमनाथ दाहालको उपस्थिति रहेको थियो ।
हिमालय सेक्युरिटीका अध्यक्ष श्रेष्ठ र लगानी संयोजक राणा पक्राउ
काठमाडौं । धितोपत्र सम्बन्धी ऐन, २०६३ र बीमा ऐन, २०७९ अन्तर्गतको कसूरमा संलग्न भई फरार रहेका दुई जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ । नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणको प्रारम्भिक जाँचबुझ प्रतिवेदनको आधारमा सीआईबीले थालेको अनुसन्धानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेहरूमा हिमालय सेक्युरिटी बैंकर लि. का सञ्चालक अध्यक्ष ६३ वर्षीय दीपक कुमार श्रेष्ठ र हिमालयन इन्भेष्टमेन्ट बैंकर लि. का लगानी संयोजक ४३ वर्षीय सुमेर शम्शेर जबरा रहेका छन् । सीआईबीका अनुसार ललितपुर महानगरपालिका वडा नं. १६ का स्थायी निवासी श्रेष्ठलाई बिहीबार हात्तीवनबाट र काठमाडौं महानगरपालिका वडा नं. ११ निवासी राणालाई बुधबार थापाथली क्षेत्रबाट पक्राउ गरिएको हो । पक्राउ परेका दुवै प्रतिवादीलाई आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालत, बबरमहलमा पेश गर्ने प्रयोजनार्थ हिरासतमा राखिएको सीआईबीले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
हिमालयन रिइन्स्योरेन्सकी सीईओ पौडेल पक्राउ
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेल पक्राउ परेकी छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार उनलाई बबरमहलबाट पक्राउ गरेको हो । नेपाल बीमा प्राधिकरणको पत्रद्वारा ट्रस्ट इन्स्योरेन्स ब्रोकरमा गरिएको निरीक्षण प्रतिवेदनअनुसार बीमा ऐन कसुरमा असुन्धानका लागि पौडेललाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
प्रधानमन्त्री बालेनले भने- ‘अवस्था अझै चुनौतीपूर्ण छ, नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता’
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि स्थिति अझै पनि चुनौतीपूर्ण रहेको बताएका छन् । बिहीबार नुवाकोट पुगेर बाढीपहिरो प्रभावित क्षेत्रको स्वयं निरीक्षण गरी काठमाडौं फर्किएपछि उनले सामाजिक सञ्जालमार्फत प्रभावित क्षेत्रको वस्तुस्थितिबारे जानकारी गराएका हुन् । अवलोकनका क्रममा प्रधानमन्त्री शाहले बाढी प्रभावित नागरिक, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा उद्धार र राहत कार्यमा निरन्तर खटिएका सबैसँग प्रत्यक्ष रूपमा भेटघाट गरी अवस्थाबारे विस्तृत जानकारी लिएका थिए । ‘अवस्था अझै चुनौतीपूर्ण छ, तर राज्यका सम्पूर्ण संयन्त्रहरू पूर्ण क्षमताका साथ परिचालन गरिएका छन्,’ प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् । सरकारको वर्तमान प्राथमिकता स्पष्ट पार्दै उनले थप भनेका छन्, ‘अहिले हाम्रो पहिलो प्राथमिकता एकरएक नागरिकको जीवनरक्षा, बेपत्ता भएकाहरूको खोजी तथा द्रुत उद्धार, घाइतेहरूको प्रभावकारी उपचार र प्रभावित परिवारलाई तत्काल राहत सामग्री पुर्याउनु हो । ’ प्रधानमन्त्री वालेन्द्र शाहले लेखेको स्टाटस् जस्ताको त्यस्तै: १. खोजी तथा उद्धार कार्यलाई उच्च प्राथमिकता दिँदै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका कुल १३,२९५ सुरक्षाकर्मी परिचालन गरिएको छ। यसमा नेपाल प्रहरीका ७,२५०, नेपाली सेनाका ४,२०० र सशस्त्र प्रहरी बलका १,८४५ जना रहेका छन्। नेपाली सेनाको Joint Operation Committee, NDRRMA को Quick Action Team तथा PMO को Rapid Action Team मार्फत निरन्तर समन्वय र अनुगमन भइरहेको छ। २. हवाई तथा स्थलमार्गबाट उद्धार कार्य निरन्तर भइरहेको छ। आज ६९ वटा हवाई उडान सञ्चालन गरी ३५१ जनाको उद्धार गरिएको छ। थप हेलिकप्टरहरू standby अवस्थामा राखिएका छन् र निजी हेलिकप्टरलाई समेत सरकारी command तथा coordination प्रणालीअन्तर्गत उद्धार र राहतमा परिचालन गरिएको छ। हवाई उद्धारमा बिरामी, गर्भवती तथा सुत्केरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई प्राथमिकता दिइएको छ। ३. रसुवा, नुवाकोट र धादिङलगायतका प्रभावित क्षेत्रमा फसेका नागरिक तथा सुरक्षाकर्मीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य जारी छ। करिब ३,५०० जनालाई तत्काल बसोबास गराउन विद्यालय तथा सार्वजनिक/सामुदायिक भवनमा अस्थायी आवासको व्यवस्था गरिएको छ। ४. प्रभावित नागरिकको तत्काल राहतका लागि रसुवामा १ करोड, नुवाकोटमा १ करोड र धादिङमा ५० लाख रुपैयाँ परिचालन गरिएको छ। चाउचाउ, बिस्कुट, स्लिपिङ ब्याग, म्याट्रेस, ब्ल्याङ्केटलगायतका राहत सामग्री १० ट्रक पठाइएको छ भने थप खाद्य तथा गैरखाद्य सामग्री हेलिकप्टरमार्फत समेत प्रभावित क्षेत्रमा पुर्याइँदैछ। ५. प्रभावित क्षेत्रमा अस्थायी राहत शिविर सञ्चालन गरी खाना, खानेपानी र आवश्यक आधारभूत सेवाको व्यवस्था गरिएको छ। नेपाल रेडक्रस, नेपाल स्काउट, लायन्स क्लब तथा अन्य स्वयंसेवी संस्थाका संयन्त्रसमेत राहत र उद्धारमा परिचालित छन्। रेडक्रसबाट करिब ३०,००० जनालाई पुग्ने राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ। ६. स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (HEOC) सक्रिय गरिएको छ। वीर अस्पताल, ट्रमा सेन्टर, शिक्षण अस्पताल, सिभिल अस्पताल, पाटन अस्पताल तथा प्रहरी अस्पताललाई standby मा राखिएको छ। वीर र ट्रमा सेन्टरमा १००/१०० तथा पाटन अस्पतालमा ६० आपत्कालीन शय्या तयार गरिएको छ। आवश्यकताअनुसार मेडिकल टोली, औषधि, एम्बुलेन्स र रक्तसञ्चार सेवा परिचालन गरिएको छ। ७. प्रभावित तथा घाइते नागरिकको निःशुल्क उपचार सुनिश्चित गरिएको छ। ट्रमा सेन्टर, वीर अस्पताल, TUTH लगायतका अस्पतालबाट मेडिकल टोली आवश्यक औषधि र उपकरणसहित परिचालन गरिएको छ। धुलिखेल अस्पताललगायतका स्वास्थ्य संस्थालाई समेत तयारी अवस्थामा राखिएको छ। ८. प्रभावित क्षेत्रमा आवश्यक राहत तथा उद्धार सामग्रीको आपूर्ति प्रणाली व्यवस्थित गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपतकालीन गोदामघर, नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेक र धादिङको बैरेनी ब्यारेकमा राहत सामग्री संकलन गरी आवश्यकता र प्राथमिकताका आधारमा प्रभावित क्षेत्रमा पठाउने व्यवस्था गरिएको छ। ९. प्रभावित क्षेत्रमा जेनेरेटर, पोर्टेबल मोबाइल टावर, ब्याट्री, स्वास्थ्य सामग्री, टेन्ट तथा फलाम/ढुंगा काट्ने मेसिनरीलगायतका अत्यावश्यक सामग्री हवाई तथा स्थलमार्गबाट पठाइँदैछ। विपद् व्यवस्थापनमा प्रयोग हुने फिल्ड अस्पताल सेट (BHISHMA CUBE) समेत त्रिशूलीतर्फ पठाइएको छ। १०. दूरसञ्चार सेवा पुनःस्थापनालाई आपत्कालीन प्राथमिकतामा राखिएको छ। हालसम्म नेपाल टेलिकमका ३८ र Ncell का ३२ गरी कम्तीमा ७० वटा टावर/साइट बन्द भएका छन्। प्राविधिक टोली, जेनेरेटर र ब्याट्री हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुर्याई सेवा पुनःस्थापनाको काम भइरहेको छ। ११. प्रभावित नागरिकलाई तत्काल निःशुल्क सञ्चार सुविधा उपलब्ध गराइएको छ। नेपाल टेलिकमले दैनिक २ जीबी डाटा, ५० एसएमएस र निःशुल्क भ्वाइस कल तथा Ncell ले समेत निःशुल्क भ्वाइस/डाटा र एसएमएस सुविधा उपलब्ध गराएका छन्। अस्थायी मोबाइल कनेक्टिभिटी तथा मोबाइल चार्जिङ सुविधा विस्तार भइरहेको छ। १२. सडक, पुल, खानेपानी, विद्युत् तथा दूरसञ्चारलगायत अत्यावश्यक पूर्वाधारको तत्काल पुनःसञ्चालनलाई उच्च प्राथमिकता दिइएको छ। सम्बन्धित मन्त्रालय, विभाग तथा निकायलाई आवश्यक जनशक्ति, उपकरण र स्रोत तत्काल परिचालन गरी क्षतिग्रस्त संरचनाको क्षति मूल्यांकन र पुनःसञ्चालनको काम द्रुत गतिमा अघि बढाउन निर्देशन गरिएको छ। १३. नेपाल विद्युत् प्राधिकरणसँगको समन्वयमा OPGW तथा विद्युत् संरचनाको पुनःस्थापनाको काम अघि बढाइएको छ। अत्यधिक प्रभावित क्षेत्र र उद्धार तथा राहत कार्यमा प्रत्यक्ष सहयोग पुर्याउने संरचनालाई प्राथमिकताका साथ पुनःसञ्चालन गरिँदैछ। १४. प्रभावित क्षेत्रमा इन्धनको अभाव हुन नदिन आवश्यक व्यवस्था गरिएको छ। नुवाकोटका भैरवी, सूर्यमती तथा पञ्चकन्या आयल स्टोरमा डिजल २३ हजार लिटर र पेट्रोल ६ हजार लिटर मौज्दात रहेको छ। आज थप डिजल १५ हजार लिटर र पेट्रोल १५ हजार लिटर पठाइएको छ। हवाई इन्धन ८ हजार लिटर मौज्दात रहेकोमा थप ९ हजार लिटर पठाइएको छ। १५. प्रभावित क्षेत्रको वास्तविक अवस्था र क्षतिको यथार्थ विवरण संकलन गर्न ड्रोन सर्वेक्षण तथा स्थलगत मूल्यांकन भइरहेको छ। फसेका नागरिक, अवरुद्ध सडक तथा पहुँचको अवस्था पहिचान गरी उद्धार र राहतलाई अझ लक्षित र प्रभावकारी बनाइँदैछ। १६. सम्भावित थप जोखिमलाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। भोटेकोशी तथा त्रिशूली नदीको बहाव, सम्भावित पहिरो तथा अन्य जोखिमको निरन्तर निगरानी भइरहेको छ। रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनका जोखिमयुक्त नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। १७. राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन संघ, प्रदेश, स्थानीय तह, सुरक्षा निकाय, स्वास्थ्य संस्था, रेडक्रस, स्वयंसेवी संस्था तथा विकास साझेदारबीच निरन्तर समन्वय भइरहेको छ। सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा स्थानीय तहलाई आवश्यकता पहिचान गरी तत्काल प्रतिकार्य गर्न निर्देशन गरिएको छ। १८. मृतकका परिवारलाई प्रचलित कानूनबमोजिम आर्थिक सहायता उपलब्ध गराउने तथा मृतकको पहिचान र शव व्यवस्थापनलाई व्यवस्थित रूपमा अघि बढाइएको छ। १९. विपद्पछिको राहत तथा पुनःस्थापनाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग परिचालन भइरहेको छ। भारतबाट राहत सामग्री प्राप्त भएको छ भने अमेरिका, EU, WHO, IFRC लगायतका अन्तर्राष्ट्रिय साझेदारसँग आवश्यक सहयोग र समन्वय भइरहेको छ। निजी क्षेत्र तथा नागरिकस्तरबाट प्राप्त सहयोगलाई समेत एकीकृत रूपमा परिचालन गरिँदैछ। २०. सरकारले अबको सम्पूर्ण ध्यान नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार, प्रभावित परिवारलाई तत्काल राहत र सुरक्षित बसोबास तथा क्षतिग्रस्त अत्यावश्यक पूर्वाधारको शीघ्र पुनःस्थापनामा केन्द्रित गरेको छ। सबै तहका सरकारी संयन्त्रलाई पूर्ण क्षमतामा परिचालन गरिएको छ। उद्धार तथा राहत कार्यका लागि आवश्यक स्रोत र साधनको कुनै कमी हुन दिइने छैन।हामी अहिले पनि काममै छौँ। यो संकटको घडीमा सरकार प्रभावित नागरिकसँगै छ। उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्।
भोटेकोशी पीडितलाई निसर्ग हस्पिटलको ११ लाख भन्दा बढी सहयोग, तीज कार्यक्रम नगर्ने
काठमाडौं । भोटेकोशी बाढीपीडितको राहत तथा पुनस्र्थापनाका लागि निसर्ग हस्पिटलले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ । बाढीबाट ठूलो जनधनको क्षति भई कैयौं परिवार पीडामा रहेका बेला हस्पिटलले आफ्नो वार्षिक तीज कार्यक्रमसमेत नगर्ने निर्णय गर्दै उक्त कार्यक्रमका लागि छुट्याइएको रकम राहतका लागि समर्पण गरेको हो । निसर्ग हस्पिटलका कर्मचारी, स्टाफ नर्स, चिकित्सक तथा शेयर सदस्यहरूबाट कम्तीमा एक दिन बराबरकोे तलब/सुविधा सहयोग गर्ने निर्णयसँगै तीज कार्यक्रमका लागि छुट्याइएको रकमसमेत जोडेर कुल ११ लाख ११ हजार १ सय ११ रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि सहयोग गरिएको हस्पिटलले जनाएको छ । हस्पिटलले हरेक वर्ष आफ्ना महिला कर्मचारी तथा चिकित्सकहरूका लागि तीज कार्यक्रम आयोजना गर्दै आएको थियो । तर यसवर्ष भोटेकोशीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि तीज कार्यक्रम नगरी त्यसका लागि छुट्याइएको रकम पीडितको राहत तथा पुनस्र्थापनामा लगाउने निर्णय गरिएको हो । हस्पिटलका अध्यक्ष तीर्थराज पन्तले विपत्तिको समयमा आफ्नो खुसीभन्दा पीडित परिवारको आवश्यकता महत्वपूर्ण भएको बताए । ‘चाडपर्व हाम्रो खुसीका अवसर हुन् । तर अहिले धेरै परिवार दुःख र अभावमा छन् । यस्तो अवस्थामा आफ्नो खुसीको एउटा हिस्सा पीडितका लागि समर्पण गर्नु हाम्रो मानवीय दायित्व हो,’ अध्यक्ष पन्तले भने । उनका अनुसार तीज कार्यक्रम नगर्ने निर्णय केवल एउटा कार्यक्रम स्थगित गर्नु नभई विपत्तिमा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउने प्रयास हो । ‘हामीले गरेको सहयोगले बाढीले पुर्याएको सम्पूर्ण क्षतिको पूर्ति गर्न नसक्ला । तर पीडामा रहेका परिवारलाई हामी उनीहरूको साथमा छौं भन्ने भरोसा दिन सक्छौं,’ पन्तले भने । निसर्ग हस्पिटलका कर्मचारी, स्टाफ नर्स, चिकित्सक तथा संस्थाको तर्फबाट संकलित ११ लाख ११ हजार १ सय ११ रुपैयाँ नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ अन्तर्गत ग्लोबल आइएमई बैंकमा रहेको आधिकारिक बैंक खाता नं. ८८००४०१०१०००००५७८८ मा जम्मा गरिएको हस्पिटलले जनाएको छ । चाडपर्वको खुसीलाई केही समयका लागि थाती राख्दै विपत्तिमा परेका परिवारको साथमा उभिनु आफ्नो सामाजिक उत्तरदायित्व भएको हस्पिटलको भनाइ छ । निसर्ग हस्पिटलले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न मानवीय तथा सामाजिक सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको छ । हस्पिटलका अनुसार समाजप्रतिको जिम्मेवारीलाई केवल स्वास्थ्य सेवा प्रदान गर्ने कार्यमा सीमित नराखी विपत्तिको समयमा सहयोग, सामाजिक अभियानमा सहभागिता तथा समुदायको आवश्यकता अनुसार विभिन्न सहयोगका कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।
इप्पानले बाढीपीडितका लागि ५ करोड ५ लाखभन्दा बढी सहयोग गर्ने
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले भोटेकोशी नदीमा आएको बाढीका कारण जनधनको क्षति भोगेका पीडितहरूका लागि ५ करोड ५ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बिहीबार (भदौ ११ गते) बसेको कार्य समितिको २०६ औँ आकस्मिक तथा सल्लाहकारसहितको संयुक्त बैठकले इप्पान र यससँग सम्बद्ध जलविद्युत कम्पनीहरूको तर्फबाट सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गर्ने निर्णय गरेको हो । इप्पान अध्यक्ष मोहन कुमार डाँगीका अनुसार उक्त रकम ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा उपयुक्त समय मिलाएर हस्तान्तरण गरिनेछ । बैठकले बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँ लगायतका जिल्लाहरूमा ज्यान गुमाएका नागरिक, जलविद्युत आयोजनाका कर्मचारी तथा मजदूरहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । भोटेकोशीको बाढीले सञ्चालनमा रहेका तथा निर्माणाधीन धेरै विद्युत आयोजनाहरूमा ठूलो क्षति पुर्याएकोमा इप्पानले गहिरो दुःख व्यक्त गरेको छ। क्षति पुगेका आयोजनाहरूको पुनर्निर्माण र पुनस्र्थापनाका लागि नेपाल सरकारसँग आवश्यक समन्वय गरी पूर्ण सहायता पुर्याउने प्रतिबद्धतासमेत संस्थाले जनाएको छ। अध्यक्ष डाँगीले ऊर्जा क्षेत्र केवल देशको समृद्धिसँग मात्र नभई नेपाली जनताको सुख-दुःखसँग पनि प्रत्यक्ष जोडिएको उल्लेख गर्दै विपद्को यस कठिन घडीमा सम्पूर्ण सदस्य कम्पनीहरूलाई एकजुट भई राहत अभियानमा सक्रिय र उदारपूर्वक सहयोग गर्न आह्वान गरेका छन् ।
बाढीले ४१ पुल पूर्ण रूपमा क्षतिग्रस्त, वेत्रावतीमा बेलिब्रिज राखिने
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । वेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेसी-रसुवागढी जोड्ने सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडकसमेत बन्द अवस्थामा रहेको पूर्वाधार विकास मन्त्रालयले जानकारी दिएको छ । ‘पृथ्वीराजमार्गअन्तर्गत करिब १३ किलोमिटर सडक लेदोले भरिएको छ । लेदो हटाएर सडक सञ्चालनमा ल्याउने कार्यलाई पहिलो प्राथमिकतामा राखी काम भइरहेको छ’, मन्त्रालयले जनाएको छ । बाढीका कारण ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । सरकारसँग ५० मिटरसम्म लम्बाइका ७ वटा बेलिब्रिज छन् । आवश्यकता र सम्भावनाको पहिचान गरी ती बेलिब्रिज जडान गर्ने काम अघि बढाइएको मन्त्रालयले जनाएको छ । भारत र चीन सरकारबाट पनि आवश्यक बेलिब्रिज तत्काल उपलब्ध गराउने प्रतिबद्धता प्राप्त भएको छ । पहिलो चरणमा पृथ्वीराजमार्ग सञ्चालनमा ल्याउने र रसुवालाई सडक सञ्जालसँग जोड्ने गरी काम अघि बढाइएको छ। त्यसका लागि वेत्रावतीमा बेलिब्रिज राख्ने तयारी भइरहेको छ । वेत्रावतीसम्मको सडक सञ्चालनमा नआएसम्म धुन्चे हुँदै स्याफ्रुबेसी पुग्न सक्ने अवस्था छैन । सडक खुलाउने कार्यलाई तीव्रता दिन सरकारले उपलब्ध गराएका १० वटा र निजी क्षेत्रबाट उपलब्ध १० वटा गरी कुल २० वटा उपकरण परिचालन गरिएको छ । क्षतिग्रस्त सडक तथा पुलको पुनःनिर्माण र यातायात सञ्चालनलाई प्राथमिकतामा राख्दै काम तीव्र रूपमा अघि बढाइएको छ ।