बाढीपीडितका लागि राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघद्वारा १ लाखभन्दा बढी सहयोग

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले बाढीबाट प्रभावित नागरिकहरूका लागि १ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । 

बुधबार चीनतर्फबाट अचानक आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लाहरूमा ठूलो जनधनको क्षति भएपछि संघले ’राबिया नेपाल रिलिफ फण्ड’ मार्फत आम कर्मचारीहरूको तर्फबाट सो रकम सहयोग स्वरूप उपलब्ध गराउने निर्णय गरेको हो । 

संघका अध्यक्ष रविन्द्र प्रसाद चौलागाईं र महासचिव ऋषिराम ज्ञवालीद्वारा जारी प्रेस विज्ञप्तिमा बाढीका कारण ठूलो संख्यामा नागरिकहरू विस्थापित हुनुका साथै पुगेको क्षतिप्रति गहिरो दुःख व्यक्त गरिएको छ । 

संघले बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुका साथै घाइतेहरूको यथाशीघ्र उद्धार तथा प्रभावकारी उपचारको व्यवस्था मिलाउन सरकारसँग अनुरोध गरेको छ ।

यसैगरी, बाढीबाट प्रभावित परिवारहरूलाई आवश्यक खाद्यान्न, स्वास्थ्य सामग्री, अस्थायी आवास लगायतका आधारभूत राहत उपलब्ध गराउन सरकार तथा सम्बन्धित सबै पक्षसँग आग्रह गरिएको छ । 

बाढीका कारण क्षति व्यहोरेका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय, कर्मचारी र उनीहरूका परिवारलाई आवश्यक राहत, सहयोग तथा पुनःस्थापनामा ध्यान पुर्याउन बैंक व्यवस्थापन तथा नेपाल सरकारको ध्यानाकर्षण गराउँदै विपद्को यस दुःखद् घडीमा सबैको साथ, सहयोग र ऐक्यबद्धता आवश्यक रहेको संघले जनाएको छ ।

Share News