काठमाडौं । बुधबार बिहान त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितहरूका लागि नेपाल बैंक लिमिटेडले ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषमार्फत उक्त रकम ’प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा प्रदान गरेको हो ।
अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच बैंक सञ्चालक समितिका सदस्य अमृत लम्सालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सो रकम बराबरको चेक हस्तान्तरण गरे ।
हस्तान्तरण कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. वाग्लेले प्राकृतिक विपत्तिको कठिन समयमा बाढीपीडितका लागि ठूलो आर्थिक सहयोग पुर्याएकोमा नेपाल बैंक परिवारलाई धन्यवाद ज्ञापन गरे ।
सञ्चालक समिति सदस्य लम्सालले महाभूकम्प, महामारी तथा विभिन्न राष्ट्रिय विपद्का बेला बैंकले गर्दै आएको सहयोगकै निरन्तरता स्वरूप यो सहयोग उपलब्ध गराइएको स्पष्ट पार्दै आगामी दिनमा पनि यस्ता मानवीय कार्यलाई जारी राख्ने प्रतिबद्धता जनाए ।
साथै बैंकले बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।
कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य बद्री खनाल, प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय, नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर खड्का तथा सुशासन डिभिजन प्रमुख होमनाथ दाहालको उपस्थिति रहेको थियो ।