इप्पानले बाढीपीडितका लागि ५ करोड ५ लाखभन्दा बढी सहयोग गर्ने

फाइल तस्विर ।

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले भोटेकोशी नदीमा आएको बाढीका कारण जनधनको क्षति भोगेका पीडितहरूका लागि ५ करोड ५ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । 

बिहीबार (भदौ ११ गते) बसेको कार्य समितिको २०६ औँ आकस्मिक तथा सल्लाहकारसहितको संयुक्त बैठकले इप्पान र यससँग सम्बद्ध जलविद्युत कम्पनीहरूको तर्फबाट सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गर्ने निर्णय गरेको हो । 

इप्पान अध्यक्ष मोहन कुमार डाँगीका अनुसार उक्त रकम ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा उपयुक्त समय मिलाएर हस्तान्तरण गरिनेछ ।

बैठकले बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँ लगायतका जिल्लाहरूमा ज्यान गुमाएका नागरिक, जलविद्युत आयोजनाका कर्मचारी तथा मजदूरहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

भोटेकोशीको बाढीले सञ्चालनमा रहेका तथा निर्माणाधीन धेरै विद्युत आयोजनाहरूमा ठूलो क्षति पुर्याएकोमा इप्पानले गहिरो दुःख व्यक्त गरेको छ।

क्षति पुगेका आयोजनाहरूको पुनर्निर्माण र पुनस्र्थापनाका लागि नेपाल सरकारसँग आवश्यक समन्वय गरी पूर्ण सहायता पुर्याउने प्रतिबद्धतासमेत संस्थाले जनाएको छ।

अध्यक्ष डाँगीले ऊर्जा क्षेत्र केवल देशको समृद्धिसँग मात्र नभई नेपाली जनताको सुख-दुःखसँग पनि प्रत्यक्ष जोडिएको उल्लेख गर्दै विपद्को यस कठिन घडीमा सम्पूर्ण सदस्य कम्पनीहरूलाई एकजुट भई राहत अभियानमा सक्रिय र उदारपूर्वक सहयोग गर्न आह्वान गरेका छन् । 

Share News