काठमाडौं । धितोपत्र सम्बन्धी ऐन, २०६३ र बीमा ऐन, २०७९ अन्तर्गतको कसूरमा संलग्न भई फरार रहेका दुई जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ ।
नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणको प्रारम्भिक जाँचबुझ प्रतिवेदनको आधारमा सीआईबीले थालेको अनुसन्धानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेहरूमा हिमालय सेक्युरिटी बैंकर लि. का सञ्चालक अध्यक्ष ६३ वर्षीय दीपक कुमार श्रेष्ठ र हिमालयन इन्भेष्टमेन्ट बैंकर लि. का लगानी संयोजक ४३ वर्षीय सुमेर शम्शेर जबरा रहेका छन् ।
सीआईबीका अनुसार ललितपुर महानगरपालिका वडा नं. १६ का स्थायी निवासी श्रेष्ठलाई बिहीबार हात्तीवनबाट र काठमाडौं महानगरपालिका वडा नं. ११ निवासी राणालाई बुधबार थापाथली क्षेत्रबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका दुवै प्रतिवादीलाई आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालत, बबरमहलमा पेश गर्ने प्रयोजनार्थ हिरासतमा राखिएको सीआईबीले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।