विकासन्युज

इप्पानले बाढीपीडितका लागि ५ करोड ५ लाखभन्दा बढी सहयोग गर्ने

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले भोटेकोशी नदीमा आएको बाढीका कारण जनधनको क्षति भोगेका पीडितहरूका लागि ५ करोड ५ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।  बिहीबार (भदौ ११ गते) बसेको कार्य समितिको २०६ औँ आकस्मिक तथा सल्लाहकारसहितको संयुक्त बैठकले इप्पान र यससँग सम्बद्ध जलविद्युत कम्पनीहरूको तर्फबाट सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गर्ने निर्णय गरेको हो ।  इप्पान अध्यक्ष मोहन कुमार डाँगीका अनुसार उक्त रकम ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा उपयुक्त समय मिलाएर हस्तान्तरण गरिनेछ । बैठकले बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँ लगायतका जिल्लाहरूमा ज्यान गुमाएका नागरिक, जलविद्युत आयोजनाका कर्मचारी तथा मजदूरहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । भोटेकोशीको बाढीले सञ्चालनमा रहेका तथा निर्माणाधीन धेरै विद्युत आयोजनाहरूमा ठूलो क्षति पुर्‍याएकोमा इप्पानले गहिरो दुःख व्यक्त गरेको छ। क्षति पुगेका आयोजनाहरूको पुनर्निर्माण र पुनस्र्थापनाका लागि नेपाल सरकारसँग आवश्यक समन्वय गरी पूर्ण सहायता पुर्‍याउने प्रतिबद्धतासमेत संस्थाले जनाएको छ। अध्यक्ष डाँगीले ऊर्जा क्षेत्र केवल देशको समृद्धिसँग मात्र नभई नेपाली जनताको सुख-दुःखसँग पनि प्रत्यक्ष जोडिएको उल्लेख गर्दै विपद्को यस कठिन घडीमा सम्पूर्ण सदस्य कम्पनीहरूलाई एकजुट भई राहत अभियानमा सक्रिय र उदारपूर्वक सहयोग गर्न आह्वान गरेका छन् । 

बाढीले ४१ पुल पूर्ण रूपमा क्षतिग्रस्त, वेत्रावतीमा बेलिब्रिज राखिने

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । वेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेसी-रसुवागढी जोड्ने सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।  गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडकसमेत बन्द अवस्थामा रहेको पूर्वाधार विकास मन्त्रालयले जानकारी दिएको छ ।  ‘पृथ्वीराजमार्गअन्तर्गत करिब १३ किलोमिटर सडक लेदोले भरिएको छ । लेदो हटाएर सडक सञ्चालनमा ल्याउने कार्यलाई पहिलो प्राथमिकतामा राखी काम भइरहेको छ’, मन्त्रालयले जनाएको छ । बाढीका कारण ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । सरकारसँग ५० मिटरसम्म लम्बाइका ७ वटा बेलिब्रिज छन् ।  आवश्यकता र सम्भावनाको पहिचान गरी ती बेलिब्रिज जडान गर्ने काम अघि बढाइएको मन्त्रालयले जनाएको छ । भारत र चीन सरकारबाट पनि आवश्यक बेलिब्रिज तत्काल उपलब्ध गराउने प्रतिबद्धता प्राप्त भएको छ ।  पहिलो चरणमा पृथ्वीराजमार्ग सञ्चालनमा ल्याउने र रसुवालाई सडक सञ्जालसँग जोड्ने गरी काम अघि बढाइएको छ। त्यसका लागि वेत्रावतीमा बेलिब्रिज राख्ने तयारी भइरहेको छ ।  वेत्रावतीसम्मको सडक सञ्चालनमा नआएसम्म धुन्चे हुँदै स्याफ्रुबेसी पुग्न सक्ने अवस्था छैन । सडक खुलाउने कार्यलाई तीव्रता दिन सरकारले उपलब्ध गराएका १० वटा र निजी क्षेत्रबाट उपलब्ध १० वटा गरी कुल २० वटा उपकरण परिचालन गरिएको छ ।  क्षतिग्रस्त सडक तथा पुलको पुनःनिर्माण र यातायात सञ्चालनलाई प्राथमिकतामा राख्दै काम तीव्र रूपमा अघि बढाइएको छ ।

बाढीपीडितका लागि एनआईसी एशिया बैंकले दियो २ करोड २१ लाख

काठमाडौं । भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि एनआईसी एशिया बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड २१ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत २ करोड रुपैयाँ तथा सञ्चालक र कर्मचारीबाट संकलित २१ लाख रुपैयाँ गरी कुल २ करोड २१ लाख रुपैयाँ नगद सहयोग गरेको हो । बैंकका अध्यक्ष अशोक कुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजित कुमार शाक्यले संयुक्त रूपमा बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । राहत तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले बैंकले उक्त रकम उपलब्ध गराएको जनाएको छ । बैंकले बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।  साथै सम्पर्कविहीन नागरिकको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि निजी क्षेत्रबाट सहयोग जुट्ने क्रम बढिरहेको छ ।

बैंकहरूले सीएसआरको रकम राहत, उद्धार र औषधी उपचारमा खर्च गर्न पाउने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत छुट्याएको रकम प्राकृतिक प्रकोपका पीडितको औषधोपचार, राहत तथा उद्धारमा समेत खर्च गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१’ को पहिलो संशोधन गर्दै सामाजिक उत्तरदायित्वको रकम उपचार, राहत तथा उद्धारमा समेत प्रयोग गर्न सक्ने व्यवस्था गरेको हो । रसुवामा आएका बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएपछि केन्द्रीय बैंकले प्राकृतिक प्रकोपबाट प्रभावितलाई लक्षित गर्दै यस्तो व्यवस्था थप गरेको हो । संशोधित मार्गदर्शनअनुसार प्राकृतिक प्रकोप तथा महामारीबाट प्रभावितलाई वितरण गरिने लत्ताकपडा, खाद्यान्न, टेन्ट, भाँडाकुँडालगायत बन्दोबस्तीका सामग्रीका साथै पीडितको औषधोपचार, उद्धार तथा राहत कार्यमा हुने खर्च सामाजिक उत्तरदायित्वको रकमबाट व्यहोर्न सकिनेछ ।  यसले प्राकृतिक विपद्का पीडितको उपचार तथा उद्धारमा बैंक तथा वित्तीय संस्थाको सामाजिक उत्तरदायित्वको रकम परिचालन गर्न सहज बनाउनेछ । 

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ६ घण्टामै २७ करोड ३३ लाख सहयोग

काठमाडौं । रसुवामा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ । सरकारले बाढीपीडितका लागि प्राप्त हुने सहयोगलाई एकद्वार प्रणालीमार्फत व्यवस्थापन गर्न थालेको हो ।  पछिल्लो ६ घण्टामा विभिन्न दाता तथा कम्पनीबाट २७ करोड ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार उक्त रकम बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि परिचालन गरिनेछ । बाढीबाट रसुवालगायत प्रभावित जिल्लामा ठूलो जनधनको क्षति भएपछि निजी क्षेत्र तथा विभिन्न संघसंस्थाले सरकारको राहत कोषमा सहयोग गर्ने क्रम बढेको छ ।

बाढी प्रभावितलाई कर्जा पुनर्तालिकीकरण र पुनर्संरचना गर्न सिबिफिनको माग

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित व्यक्ति, व्यवसाय तथा परियोजनाका लागि कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचनाको व्यवस्था गर्न माग गरेको छ । सिबिफिनले वास्तविक रूपमा प्रभावित व्यक्ति, व्यवसाय तथा परियोजनाको क्षतिको यथार्थ मूल्याङ्कन गरी आवश्यकताअनुसार कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचना, किस्ता तथा ब्याज भुक्तानीमा सहजीकरण गर्न सदस्य बैंक तथा वित्तीय संस्थालाई आवश्यक समन्वय र सहजीकरण गर्ने जनाएको हो । सिबिफिनका अनुसार बाढीका कारण बैंक तथा वित्तीय संस्थाका शाखा तथा अन्य बैंकिङ पूर्वाधारसँगै मानवीय बस्ती, जलविद्युत् आयोजना, सडक, पुल, व्यापारिक प्रतिष्ठान तथा केरुङ नाकाबाट भित्रिएका मालवस्तु र सवारीसाधनमा ठूलो क्षति पुगेको छ । प्रभावित क्षेत्रमा जलविद्युत्, व्यापार, पर्यटन, पूर्वाधारलगायतका क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको उल्लेख्य कर्जा तथा लगानी रहेकाले बाढीको असर ऋणी, व्यवसाय, बैंकिङ सेवा र समग्र आर्थिक गतिविधिमा समेत पर्न सक्ने सिबिफिनको भनाइ छ । सिबिफिनले प्रभावित व्यवसाय तथा परियोजनाको पुनःसञ्चालन र पुनर्निर्माणका लागि समेत आवश्यक सहयोग उपलब्ध गराउन सदस्य संस्थाका सञ्चालक समितिमार्फत पहल गर्ने जनाएको छ । साथै, नेपाल सरकार र नेपाल राष्ट्र बैंकसँग समन्वय गरी आवश्यक नीतिगत तथा कार्यगत उपाय अवलम्बन गर्नसमेत प्रयास गर्ने बताएको छ । बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सिबिफिनले घटनामा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै बेपत्ता नागरिक, सुरक्षाकर्मी तथा बैंक तथा वित्तीय संस्थाका कर्मचारीलगायत सबैको शीघ्र खोजी तथा उद्धारको अपेक्षा गरेको छ । यस कठिन परिस्थितिमा मानवीय उद्धार तथा राहत, कर्मचारी र ग्राहकको सुरक्षा पहिलो प्राथमिकता रहेको सिबिफिनले जनाएको छ । प्रभावित क्षेत्रमा ग्राहकको बैंकिङ पहुँचलाई सहज बनाउन बैंक तथा वित्तीय संस्थाले वैकल्पिक सेवा प्रवाहसहित आवश्यक व्यवस्था गरिरहेको पनि जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि सरकारले प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई तीव्र पारेको छ । बाढी प्रभावित नागरिकको उद्धार र सुरक्षाका लागि गृह प्रशासनले १३ हजार २९५ जना सुरक्षाकर्मी परिचालन गरेको छ । गृह प्रशासनका अनुसार नेपाल प्रहरीका ७ हजार २५०, नेपाली सेनाका ४ हजार २०० र सशस्त्र प्रहरी बल नेपालका १ हजार ८४५ जना सुरक्षाकर्मी प्रत्यक्ष रूपमा प्रभावित क्षेत्रमा खटिएका छन् । सडक सञ्जाल अवरुद्ध भएका कारण कतिपय क्षेत्रमा उद्धार टोलीलाई स्थलमार्गबाट पुग्न कठिन भएपछि हवाई तथा पैदल मार्गबाट उद्धार अभियान सञ्चालन भइरहेको छ ।  विशेषगरी स्थलगत पहुँच कठिन र जोखिमपूर्ण स्थानमा हेलिकप्टरमार्फत उद्धारलाई प्राथमिकता दिइएको छ । नेपाली सेना तथा निजी हवाई कम्पनीका हेलिकप्टरले हालसम्म ६९ पटक उडान भरेर ३५१ जना नागरिकको हवाई उद्धार गरेका छन् ।  सुरक्षाकर्मीहरूले ज्यान जोखिममा राखेर उद्धार कार्यलाई निरन्तरता दिएका छन् ।  स्थानीय प्रशासन तथा सुरक्षा निकायले प्रभावित क्षेत्रको खोजी, उद्धार र राहत वितरणलाई थप प्रभावकारी बनाउँदै लगेका छन् । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा अझै पनि जोखिम कायम रहेकाले बेपत्ता तथा जोखिममा रहेका नागरिकको खोजी र उद्धारलाई प्राथमिकतामा राखिएको प्रशासनले जनाएको छ ।

बाढी प्रभावितका लागि सानिमा बैंकले २ करोड २५ लाख सहयोग गर्ने

काठमाडौं । सानिमा बैंक लिमिटेडले बाढी प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि रु २ करोड २५ लाख सहयोग गर्ने भएको छ । बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषमार्फत रु। २ करोड २५ लाख सहयोग गर्ने निर्णय गरेको हो । बुधबार भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोबाट भएको क्षतिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पु‍र्याउने उद्देश्यले उक्त रकम प्रदान गर्न लागिएको बैंकले जनाएको छ । बैंकले बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना पनि व्यक्त गरेको छ ।