काठमाडौं । भोटेकोशी बाढीपीडितको राहत तथा पुनस्र्थापनाका लागि निसर्ग हस्पिटलले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ ।
बाढीबाट ठूलो जनधनको क्षति भई कैयौं परिवार पीडामा रहेका बेला हस्पिटलले आफ्नो वार्षिक तीज कार्यक्रमसमेत नगर्ने निर्णय गर्दै उक्त कार्यक्रमका लागि छुट्याइएको रकम राहतका लागि समर्पण गरेको हो ।
निसर्ग हस्पिटलका कर्मचारी, स्टाफ नर्स, चिकित्सक तथा शेयर सदस्यहरूबाट कम्तीमा एक दिन बराबरकोे तलब/सुविधा सहयोग गर्ने निर्णयसँगै तीज कार्यक्रमका लागि छुट्याइएको रकमसमेत जोडेर कुल ११ लाख ११ हजार १ सय ११ रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि सहयोग गरिएको हस्पिटलले जनाएको छ ।
हस्पिटलले हरेक वर्ष आफ्ना महिला कर्मचारी तथा चिकित्सकहरूका लागि तीज कार्यक्रम आयोजना गर्दै आएको थियो ।
तर यसवर्ष भोटेकोशीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि तीज कार्यक्रम नगरी त्यसका लागि छुट्याइएको रकम पीडितको राहत तथा पुनस्र्थापनामा लगाउने निर्णय गरिएको हो ।
हस्पिटलका अध्यक्ष तीर्थराज पन्तले विपत्तिको समयमा आफ्नो खुसीभन्दा पीडित परिवारको आवश्यकता महत्वपूर्ण भएको बताए ।
‘चाडपर्व हाम्रो खुसीका अवसर हुन् । तर अहिले धेरै परिवार दुःख र अभावमा छन् । यस्तो अवस्थामा आफ्नो खुसीको एउटा हिस्सा पीडितका लागि समर्पण गर्नु हाम्रो मानवीय दायित्व हो,’ अध्यक्ष पन्तले भने ।
उनका अनुसार तीज कार्यक्रम नगर्ने निर्णय केवल एउटा कार्यक्रम स्थगित गर्नु नभई विपत्तिमा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउने प्रयास हो ।
‘हामीले गरेको सहयोगले बाढीले पुर्याएको सम्पूर्ण क्षतिको पूर्ति गर्न नसक्ला । तर पीडामा रहेका परिवारलाई हामी उनीहरूको साथमा छौं भन्ने भरोसा दिन सक्छौं,’ पन्तले भने ।
निसर्ग हस्पिटलका कर्मचारी, स्टाफ नर्स, चिकित्सक तथा संस्थाको तर्फबाट संकलित ११ लाख ११ हजार १ सय ११ रुपैयाँ नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ अन्तर्गत ग्लोबल आइएमई बैंकमा रहेको आधिकारिक बैंक खाता नं. ८८००४०१०१०००००५७८८ मा जम्मा गरिएको हस्पिटलले जनाएको छ ।

चाडपर्वको खुसीलाई केही समयका लागि थाती राख्दै विपत्तिमा परेका परिवारको साथमा उभिनु आफ्नो सामाजिक उत्तरदायित्व भएको हस्पिटलको भनाइ छ ।
निसर्ग हस्पिटलले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न मानवीय तथा सामाजिक सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
हस्पिटलका अनुसार समाजप्रतिको जिम्मेवारीलाई केवल स्वास्थ्य सेवा प्रदान गर्ने कार्यमा सीमित नराखी विपत्तिको समयमा सहयोग, सामाजिक अभियानमा सहभागिता तथा समुदायको आवश्यकता अनुसार विभिन्न सहयोगका कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।
