विकासन्युज

महिलालाई जिस्काएको भिडियो भाइरल भएपछि तीन युवक पक्राउ

काठमाडौं । बाटोमा हिँडिरहेका महिलाहरूलाई पछ्याउँदै तथा जिस्काउने समूहका तीन युवक पक्राउ परेका छन् ।  बझाङको केदारस्यूँ गाउँपालिका–३ घर भई हाल कीर्तिपुर नगरपालिका–७ भाजङ्गल बस्ने २२ वर्षीय सत्यराज खत्री, कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ घर भई हाल कीर्तिपुर नगरपालिका–५ पाँगा बस्ने २२ वर्षीय ललित दमाई तथा कञ्चनपुरकै कृष्णपुर नगरपालिका–३ घर भई हाल पाँगामै बस्ने २१ वर्षीय अशोक भण्डारी पक्राउ परेका छन् । काठमाडौं जिल्ला प्रहरीका अनुसार शुक्रबार साँझ उनीहरूले सुपप्र ००४ प ८७८ नम्बरको मोटरसाइकलमा सवार तीन जनाले बाटोमा हिँडिरहेका महिलाहरूलाई पछ्याउँदै फोन नम्बर माग्ने तथा अश्लील शब्द प्रयोग गरी सार्वजनिक रूपमा दुर्व्यवहार गरेका थिए । महिलालाई जिस्काएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले उनीहरूको खोजी थालेको थियो ।  आइतबार १० बजे कीर्तिपुर नगरपालिका–७ स्थित विष्णुदेवी मन्दिर नजिकबाट तीन जनालाई नियन्त्रणमा लिएको परिसरका प्रवक्ता दानबहादुर थापाले जानकारी दिए । उनका अनुसार युवकहरूमाथि घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ ।

प्राधीरकणले भन्योः हेली आवश्यक नभएकाले वैकल्पिक सडक मार्ग प्रयोग गर्नू

काठमाडौं । सरकारले हेली उद्धार आवश्यक नभएका व्यक्तिहरूलाई सडकमार्ग प्रयोग गर्न आग्रह गरेको छ। विभिन्न वैकल्पिक सडकमार्गहरू सञ्चालनमा आउन थालेकाले सुरक्षित रूपमा सडकमार्ग प्रयोग गर्न सक्ने व्यक्तिहरूले हेली उद्धारको माग नगर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ।  उपलब्ध भएका वैकल्पिक सडकमार्गको प्रयोग गर्न प्राधीकरणले अनुरोध गरेको छ । वैकल्पिक मार्गहरूमा धादिङ जोड्ने मार्ग धादिङबेँसी–परेवादार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेलिनटार–केउरिनीटार हुँदै मास्टारस्थित ह्याम्लेट रेष्टुरेन्टबाट पृथ्वी राजमार्गसम्म सञ्चालनमा रहेको छ। त्यस्तै, रसुवा जोड्ने वैकल्पिक मार्ग विदुर–ढिकुरे–चौघडा–आपनज–लच्या–सरमथले–पाटिखर्क हुँदै बोगटीटारबाट पासाङल्हामु राजमार्गसम्म सञ्चालनमा आएको प्राधीकरणले जनाएको छ । कालिकास्थान–धुन्चे जाने बाटोमा चारचक्के साना सवारीसाधन सञ्चालन हुन सक्ने गरी सडक सुचारु भएको छ । सीमित साधन र स्रोतलाई अत्यावश्यक कार्यमा मात्र प्रयोग हुने वातावरण बनाउन सबै सरोकारवालालाई सहयोग गर्न प्राधीकरणले अनुरोध गरेको छ ।

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि सेनाको टोली फर्कियो

काठमाडाैं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र मानिस फसेको आशंकामा गरिएको खोजी कार्यमा कुनै पनि मानवीय उपस्थिति फेला नपरेपछि नेपाली सेनाको उद्धार टोली फर्किएको छ । सुरुङको अन्तिम भागमा मानिसहरू फसेको हुनसक्ने आशंकापछि नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोलीसहितको उद्धार टोली सुरुङभित्र प्रवेश गरी खोजीमा जुटेको थियो । टोलीले सुरुङको भित्री भाग हुँदै अन्तिम बिन्दुसम्म पुगेर विस्तृत खोजी गर्नुका साथै ड्रोनसमेत उडाएर निरीक्षण गरेको थियो । तर, खोजीका क्रममा सुरुङभित्र कुनै पनि मानिस रहेको संकेत वा मानवीय उपस्थिति भेटिएन । सुरुङभित्र कोही पनि व्यक्ति नरहेको पुष्टि भएपछि नेपाली सेनाको टोली रसुवाको धुन्चेतर्फ फर्किएको छ ।

सरकारको बाढी प्रभावित क्षेत्रमा ९ करोड बढी रकम निकासा

काठमाडौं । सरकारले बाढी प्रभावित जिल्ला र स्थानीय तहलाई हालसम्म ९ करोड २५ लाख रुपैयाँ निकासी गरेको छ । रसुवा, नुवाकोट र धादिङसहित विभिन्न स्थानीय तहमा रकम निकासी गरिसकेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधीकरणका अनुसार हालसम्म ९ करोड २५ लाख रुपैयाँ निकासी भएको छ । रसुवामा १ करोड, नुवाकोटमा १ करोड र धादिङमा ५० लाख रुपैयाँ निकासी गरिएको छ । प्राधीकरणले बाढी प्रभावित १५ स्थानीय तहलाई ६ करोड ७५ लाख रुपैयाँ निकासी भइसकेको जनाएको छ । ३७ ट्रक र ३५ वटा बोलेरो मार्फत खाद्य र अखाद्य सामग्री पठाइसकेको छ । आठ हेलिकोप्टरको उडानबाट खाद्य तथा अखाद्य सामग्री पठाएको प्राधीकरणले जनाएको छ । शनिवार  २ टन उत्तरगया र बेत्रावती गाउँपालिकामा खाद्य अखाद्य सामग्री पठाइएको प्राधीकरणले उल्लेख गरेको छ । आइतबार ५ वटा पोर्टेबल जेनेरेटरसहित खाद्य, अखाद्यसहित औषधिजन्य सामग्री पठाइएको प्राधीकरणले बताएको छ। नुवाकोटमा १६ वटा सवारीसाधनसहित र हेलिकोप्टर परिचालन गरेर सामग्री वितरण गरिएको छ । गत बुधबार बिहान आएको बाढीले रसुवाको बाढीले ठूलो जनधनको क्षति गरेको छ । रसुवा, नुवाकोट, धादिङ र गोर्खा लगायतको क्षेत्रमा बाढीले असर गरेको छ । प्राधीकरणका अनुसार ७ हजार ८९४ नेपाल प्रहरी,  नेपाली सेना ८ हजार ७२२ र शसस्त्र प्रहरी बल नेपाल ४ हजार २ सय ३ जना प्रहरी परिचालन गरिएको छ । हालसम्म रसुवा लगायतका विभिन्न स्थानबाट ९ सय बढी शव फेला परेको छ ।   

डिभाइन हेल्थकेयरले आईपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । डिभाइन हेल्थकेयर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । यससम्बन्धी सम्झौतामा डिभाइन हेल्थकेयरका अध्यक्ष युवराज श्रेष्ठ र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्र विक्रम ध्वज जोशीले हस्ताक्षर गरेका छन् । सम्झौता मुक्तिनाथ क्यापिटलको कार्यालयमा आयोजित कार्यक्रममा भएको हो । कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने तयारी गरेको छ । कार्यक्रममा कम्पनीका प्रबन्ध सञ्चालक सुसान्त मुरारका तथा सञ्चालकहरू मनोज केसी र विनय तोदीको समेत उपस्थिति थियो । वि.सं. २०७४ सालमा स्थापना भएको डिभाइन हेल्थकेयर भरतपुर महानगरपालिका–१६, विजय नगर, चितवनमा अवस्थित औषधि उत्पादक कम्पनी हो । कम्पनीले औषधि व्यवस्था विभाग तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट उत्पादन र बजारीकरणसम्बन्धी आवश्यक दर्ता तथा स्वीकृति प्राप्त गरेको जनाएको छ । कम्पनीले हाल ६७ प्रकारका औषधि उत्पादन गरी नेपाली बजारमा बिक्री–वितरण गर्दै आएको छ । कम्पनीका विभिन्न औषधि बजारमा उल्लेख्य मात्रामा बिक्री–वितरण हुँदै आएका छन् । कम्पनीले आगामी माघदेखि मिर्गौला रोगीका लागि आवश्यक पर्ने केही औषधिको उत्पादनसमेत सुरु गर्ने तयारी गरेको जनाएको छ । करिब एक बिघा क्षेत्रफलमा फैलिएको कम्पनी विगत तीन आर्थिक वर्षदेखि नाफामा सञ्चालन हुँदै आएको दाबी गरेको छ । कम्पनीका अनुसार हालसम्म बैंक तथा वित्तीय संस्थाबाट ऋण नलिई मुख्य रूपमा स्वपुँजीबाट व्यवसाय सञ्चालन हुँदै आएको छ । कम्पनीको देशभर १२५ भन्दा बढी वितरक रहेको जनाएको छ । आईपीओ निष्कासनबाट प्राप्त हुने पुँजीलाई नयाँ प्रविधिको विस्तार, नयाँ औषधिको विकास तथा विद्यमान औषधिको गुणस्तर सुधारमा उपयोग गर्ने कम्पनीको योजना छ । साथै, उत्पादन प्रक्रियालाई थप प्रभावकारी, सुरक्षित र गुणस्तरीय बनाउन अनुसन्धान तथा विकासमा समेत पुँजी परिचालन गर्ने कम्पनीले जनाएको छ ।

बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखसँग लिए ब्रिफिङ

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट उत्पन्न संकट समाधानका लागि सुरक्षा निकायका प्रमुखहरूसँग निरन्तर छलफल गरिरहेका छन् । प्रधानमन्त्री शाहले सोमबार (आज) प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरी हालसम्म भएका खोज, उद्धार, राहत तथा समग्र व्यवस्थापनका प्रयासबारे विस्तृत ब्रिफिङ लिएका छन् । त्यसपछि शाहले सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा राहत कार्यबारे जानकारी लिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस्तै, प्रधानमन्त्री शाहले आजै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि ब्रिफिङ लिने कार्यक्रम रहेको छ ।

‘गोरखामा पहिरो गए पनि बाढी थुनिएको छैन ’

काठमाडौं । गोरखामा पहिरो मात्र गएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले पहिरो गए पनि नदीमा बाढी नथुनिएको बताएका छन् । ३५०० मिटरको उचाईमा रहेको चुमनुव्री गाउँपालिकाको छेकम्पार क्षेत्रमा पहिरो गएको शर्माले जानकारी दिए । ‘पहिरो गएको र बाढी आए पनि नदी थुनिएको छैन,’ शर्माले विकासन्युजसँग भने । नदीको तटीय क्षेत्रमा रहेका मानिसहरूले थप सतर्कता अपनाउनु पर्ने उनले बताए । अहिले कसैले आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ। जिल्लामा आवश्यक सतर्कता तथा सम्भावित क्षति हुन नदिनका लागि बैठक बसेर छलफल गरिरहेको उनले बताए । केही समयअघि मात्र सामाजिक सञ्जालमा गोर्खाको बूढीगण्डकी थुनिएको कुराहरू सार्वजनिक भएका थिए । सामाजिक सञ्जालमा जस्तो चर्चा बाहिर वास्तविकता नभएको उनले जानकारी दिए ।

बाढीपीडितका लागि कांग्रेस काभ्रेले दियो १७ लाख ६२ हजार

काठमाडौं । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले भोटेकोशी बाढी प्रभावितका लागि पार्टीको केन्द्रीय कार्यालयले स्थापना गरेको विपद् कोषमा १७ लाख ६२ हजार ९५७ रुपैयाँ सहयोग गरेको छ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ र चितवनलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो । बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि कांग्रेस काभ्रेले उक्त रकम हस्तान्तरण गरेको हो । पार्टीका सदस्य तथा शुभेच्छुकबाट संकलन गरिएको रकम केन्द्रीय कोषमा जम्मा गरिएको नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति तीर्थ लामाले जानकारी दिए । कांग्रेस काभ्रेको टोलीले पार्टीको केन्द्रीय कार्यालय सानेपामा पुगेर सहमहामन्त्री उदयशमशेर राणा र प्रवक्ता देवराज चालिसेलाई रकम हस्तान्तरण गरेको हो । कांग्रेसका अनुसार उक्त रकम केन्द्रीय विपद् व्यवस्थापन कोषमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइनेछ । नेपाली कांग्रेसले यसअघि सरकारी कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेको छ । सहमहामन्त्री राणाले विपद्को घडीमा पीडित नागरिकलाई सहयोग गर्न कांग्रेस काभ्रेपलाञ्चोकले गरेको योगदानप्रति आभार व्यक्त गरे । प्रवक्ता चालिसेले कांग्रेस काभ्रेका नेता तथा कार्यकर्ताले विपद्को समयमा ठूलो सहयोगको भावना देखाएको बताए । उनले प्राप्त सहयोगले बाढीपीडितको घाउमा मल्हम लगाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । कांग्रेस काभ्रेपलाञ्चोकका सभापति लामाले विपद्को कठिन घडीमा पीडित नागरिकको दुःखमा साथ दिनु सबैको साझा दायित्व भएको बताए । राहत तथा उद्धारमा हातेमालो गर्दै मानवीय सहयोग जुटाउन पार्टी सदस्य, शुभेच्छुक तथा आम नागरिकलाई समेत आह्वान गर्दै उनले कांग्रेस काभ्रेले गरेको सहयोगले पीडितको पीडामा केही भए पनि मल्हम लगाउने विश्वास व्यक्त गरे ।