काठमाडाैं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र मानिस फसेको आशंकामा गरिएको खोजी कार्यमा कुनै पनि मानवीय उपस्थिति फेला नपरेपछि नेपाली सेनाको उद्धार टोली फर्किएको छ ।
सुरुङको अन्तिम भागमा मानिसहरू फसेको हुनसक्ने आशंकापछि नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोलीसहितको उद्धार टोली सुरुङभित्र प्रवेश गरी खोजीमा जुटेको थियो ।
टोलीले सुरुङको भित्री भाग हुँदै अन्तिम बिन्दुसम्म पुगेर विस्तृत खोजी गर्नुका साथै ड्रोनसमेत उडाएर निरीक्षण गरेको थियो । तर, खोजीका क्रममा सुरुङभित्र कुनै पनि मानिस रहेको संकेत वा मानवीय उपस्थिति भेटिएन ।
सुरुङभित्र कोही पनि व्यक्ति नरहेको पुष्टि भएपछि नेपाली सेनाको टोली रसुवाको धुन्चेतर्फ फर्किएको छ ।