विकासन्युज

सामाजिक सञ्जालमा राहत, हेलिले झार्‍यो ५ बोरा चामल : उपाध्यक्ष तामाङ

काठमाडौं । रसुवाको बाढीले आमाछोदिङमो गाउँपालिकाको १ नम्बर वडा सबैभन्दा बढी प्रभावित भएको छ । बाढीले क्षति गरेपछि र प्रभावित गरेको ठाउँमा स्थानीय तहका प्रतिनिधिले गुनासो व्यक्त गरेका छन् ।  बाँकी वडामा सामान्य क्षति गरेको गाउँपालिकाकी उपाध्यक्ष चण्डिका तामाङले बताएकी छन् । रसुवाको भोटेकोशीमा आएको बाढीले गाउँपालिकामा २ सय जनाको ज्यान गुमाएको उनले जानकारी दिइन् । १ नम्बर वडाका सबैभन्दा बढी मानिसले ज्यान गुमाएको उनले बताएकी छन् । 'यस वडाका मानिसहरू चीनको सीमानातिर काम गर्ने थिए । बाढीको कारण उनीहरू भाग्न सकेनन् । केही जलविद्युत आयोजनामा काम गर्थे,’ उनले भनिन्,’ भन्सार क्षेत्रमा काम गर्ने मानिसहरू थिए । रोजगारीको सुविधा प्रशस्तै भएकाले चीनको सीमा आसपासमा यहाँका मानिसहरू काम गर्ने गरेका थिए ।' बाढीबाट प्रभावित भएका मानिसहरू आफन्तको घरमा बस्ने गरेको उनले जानकारी दिइन् । केही घरका ज्येष्ठ मानिसहरूलाई बाढीले बगाएको उनले बताइन् । ‘धेरै जनालाई चिने जानेका छिमेकीले सहारा र आश्रयस्थल दिएको छ,’ उनले सुनाइन् । यस गाउँपालिकामा केन्द्र सरकारको उपस्थिति न्यून देखिएको तामाङले उल्लेख गरिन् । ‘हिजो मात्र हेलिकोप्टरले ५ वटा चामलको बोरा र २ वटा पानीको बक्स झारेको छ,’ उनले अगाडि भनिन् । यहाँसम्म राहत आउन नसकेको तामाङले उल्लेख गरिन् । धुन्चेसम्म राहत आएको तर मुख्य प्रभावित क्षेत्रमा राहत उद्धारको सामग्री नआएको उनको भनाइ छ । सामाजिक सञ्जालमा राहत पुग्ने गरेको र फोटोमा मात्र हामीले राहत देख्ने गरेको उनले बताइन् । ‘हाम्रो ठाउँमा केन्द्र सरकारको उपस्थिति हुने भनेको सम्झना र कल्पनामा मात्र सीमित होला जस्तो छ,’ उनले भनिन् । बिजुली पनि नभएकाले हाम्रो वडा अन्धकारको युगमा जाने सम्भावना बढेको उनले बताइन् । 'केही दिन अघिसम्म सोलारको उज्यालो र पावरले काम गरेको थियो । अहिले सोलारले पनि काम गर्न छाडेको छ,'उनी भन्छिन्,' सोलारको पावरमा मोबाइल चार्ज गरिएको छ । गाउँभरिका मानिसहरू सोलारमा मोबाइल चार्ज गर्न लाइन लाग्या छ।' दुई सातासम्म पुग्ने खाद्यान्न रहेकाले अहिलेलाई समस्या नभएको तामाङले बताइन् । दुई सातापछि पनि खाद्य सामग्री ढुवानी नभएमा यस गाउँपालिकामा खाद्य संकट हुने उनको भनाइ छ ।  बाटाहरू पनि पूर्ण रुपमा क्षति भएको उनले जानकारी दिइन् । खाद्यान्न ढुवानी र राहत पुर्‍याउने कार्यमा केन्द्र सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ । बुधबार बिहान आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोर्खा लगायतका स्थानमा क्षति पुर्याएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन विभागका अनुसार हालसम्म ९ सय ३ जनाको शव फेला परेको छ । ४ हजार २४७ जना सम्पर्कविहिन भएका छन् । 

यूएईमा रहेका अमेरिकी सैन्य अड्डामा इरानको हमला

काठमाडौं । इरानी सेनाले संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका अमेरिकी सैन्य अड्डालाई निशाना बनाएको दाबी गरेको छ । इरानी सेनाका अनुसार आक्रमणमा यूएईस्थित अल–मनहद सैन्य अड्डामा रहेका अमेरिकी हेलिकोप्टर तथा अमेरिकी सेनाका स्थानहरूलाई लक्षित गरिएको थियो । बीबीसीको फारसी सेवाका अनुसार इरानी सेनाको जनसम्पर्क विभागले यी हमला अघिल्लो रात लाराक द्वीपमा अमेरिकाले गरेको आक्रमणको जवाफमा गरिएको जनाएको छ । अमेरिकी सेनाले अघिल्लो रात लाराक द्वीपमा रहेका दुई इरानी मिसाइल प्रक्षेपकलाई निशाना बनाएको थियो । त्यसको जवाफमा इरानी रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले जोर्डनमा रहेका दुई अमेरिकी सैन्य अड्डामा मिसाइल र ड्रोनमार्फत हमला गरेको घोषणा गरेको थियो ।

खार्ग टापु उडाइदिने ट्रम्पको धम्की, इरानसँग फेरि चर्कियो तनाव

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सैन्य कारबाहीको धम्कीलाई थप विस्तार गर्दै देशको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुसम्म पु‍र्याएका छन् । उनले खार्ग टापु ‘टुक्राटुक्रा पारिने’ चेतावनी दिएका छन् । सोमबार इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले दक्षिणी होर्मुज जलडमरूमध्यमा एउटा सुपरट्याङ्करमा आगलागी भएको र उक्त जहाज सञ्चालनविहीन बनेको जनाएको छ ।  इरानी सञ्चारमाध्यमका अनुसार जहाजले समुद्री मार्गमा बिछ्याइएका दुईवटा नौसैनिक बारुदी सुरुङमा ठक्कर दिएको थियो । आईआरजीसीका अनुसार उक्त जहाजले इरानले तोकेको पारवहनसम्बन्धी नियम पालना गरेको थिएन । आईआरजीसीको नौसेनाले होर्मुज जलडमरूमध्य हुँदै सुरक्षित रूपमा पार हुन आफ्ना नियम पालना गर्न सबै पानीजहाजलाई आग्रह गरेको छ । यसैबीच, इरानको विदेश मन्त्रालयले सोमबार अमेरिका र उसका सहयोगी राष्ट्रहरू बढ्दो तनावबाट उत्पन्न हुने परिणामका लागि ‘पूर्ण रूपमा जिम्मेवार’ हुने चेतावनी दिएको छ । मन्त्रालयले ‘शत्रु’बाट हुने थप कुनै पनि सैन्य आक्रमणको निर्णायक रूपमा प्रतिकार गर्ने जनाएको छ । यी घटनाक्रम अमेरिका र इरानबीच सप्ताहन्तमा एकअर्कामाथि आक्रमण भएपछि आएका हुन् । पछिल्लो समय दुई देशबीच पुनः सैन्य तनाव चर्किएको छ ।  आइतबार अमेरिकी सेनाले लाराक टापुमा रहेका इरानका दुई रकेट प्रक्षेपण केन्द्रमा आक्रमण गरेको थियो । अमेरिकी सेनाका अनुसार आईआरजीसीले होर्मुज जलडमरूमध्यमा प्रहार गर्न समुद्री माइन बोकेका रकेट प्रक्षेपणको तयारी गरिरहेको थियो । अमेरिकी सेन्ट्रल कमान्डले उक्त घटनाको पुष्टि गरेको छ । अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता नेभी क्याप्टेन टिम हकिन्सले भने, ‘आज अमेरिकी सेनाले लाराक टापुमा रहेका इरानका दुई प्रक्षेपण केन्द्रमा आक्रमण गरेको छ । इस्लामिक रिभोल्युसनरी गार्ड कोप्र्सका सैनिकहरू होर्मुज जलडमरूमध्यमा समुद्री माइनसहितका रकेट प्रहार गर्ने तयारी गरिरहेको देखिएका थिए ।’ उनका अनुसार अमेरिकी सेन्ट्रल कमान्डले गत साता जलडमरूमध्यको अन्तर्राष्ट्रिय पानीजहाज आवागमन मार्गबाट समुद्री माइन हटाउने काम पूरा गरेको थियो । अमेरिकी सेनाले उक्त क्षेत्रलाई नजिकबाट निगरानी गरिरहेको र महत्त्वपूर्ण जलमार्गबाट व्यापार तथा पानीजहाजको स्वतन्त्र आवागमन सुनिश्चित गर्न आवश्यक कदम चाल्न तयार रहेको जनाएको छ । आइतबारको आक्रमण जुलाईको अन्त्ययता इरानका स्थानमा अमेरिकाले सार्वजनिक रूपमा स्वीकार गरेको पहिलो आक्रमण थियो । युद्ध सुरु भएको करिब छ महिना भइसकेको छ र यसले विश्वको ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिने हर्मुज जलडमरूमध्यमा पानीजहाजको आवागमनमा ठूलो असर पारेको छ । इरानी सञ्चारमाध्यमका अनुसार आईआरजीसीले लाराक टापुमा भएको अमेरिकी आक्रमणमा केही इरानी सैनिक मारिएको तथा केही घाइते भएको जनाएको छ । त्यसपछि इरानले जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा आक्रमण गरेको बताइएको छ । इरानी सञ्चारमाध्यमका अनुसार मिसाइल र ड्रोनबाट गरिएको संयुक्त आक्रमण किङ हुसेन र अल अज्राक सैन्य अड्डालाई लक्षित थियो । इरानी सैन्य अधिकारीहरूले ती आक्रमणबाट प्राविधिक तथा मर्मत संरचना र अमेरिकी लडाकु विमान तैनाथ गर्ने स्थलमा क्षति पुगेको तथा ठूलो क्षति भएको दाबी गरेका छन् । उनीहरूले आगामी दिनमा अझ कडा प्रतिकार गर्ने चेतावनीसमेत दिएका छन् । हर्मुज जलडमरूमध्यमा रहेको लाराक एउटा सानो इरानी टापु हो। पछिल्लो समय यो तेहरानका लागि महत्त्वपूर्ण सैन्य तथा पानीजहाज नियन्त्रण केन्द्रका रूपमा विकसित भएको छ । रिभोल्युसनरी गार्डले विश्वकै महत्त्वपूर्ण समुद्री मार्गमध्ये एक रहेको हर्मुज हुँदै जाने पानीजहाजको आवागमन निगरानी गर्न यसलाई प्रयोग गर्दै आएको छ । अमेरिकी नौसेनाले इरानी बन्दरगाहमाथि नाकाबन्दी जारी राखेको छ । यसको उद्देश्य इरानी सरकारलाई होर्मुज जलमार्ग पुनः खोल्न दबाब दिनु रहेको बताइएको छ । तर इरानले आफ्नो तट नजिकको उत्तरी पानीजहाज मार्ग प्रयोग नगर्ने जहाजहरूलाई निरन्तर निशाना बनाउँदै आएको छ । यसैबीच, शनिबार अर्को एउटा तेल ट्याङ्करमा अज्ञात वस्तु प्रहार भएको बेलायतको युके मेरिटाइम ट्रेड अपरेसनले जनाएको छ । उक्त ट्याङ्कर होर्मुज जलडमरूमध्य हुँदै ओमानको तटतर्फ रहेको दक्षिणी मार्ग प्रयोग गरेर प्रवेश गरिरहेको थियो । उक्त घटनामा कुनै मानवीय क्षति नभएको जनाउँदै बेलायती निकायले हर्मुज जलडमरूमध्य हुँदै यात्रा गर्ने पानीजहाजलाई अत्यन्त सावधानी अपनाउन आग्रह गरेको छ ।

अत्यावश्यकबाहेक हेलिकप्टर नबोलाउन विपद् प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी तथा पहिरो प्रभावित क्षेत्रका नागरिकलाई अत्यावश्यक अवस्थाबाहेक हेलिकप्टर उद्धारको माग नगर्न आग्रह गरेको छ । न्यून प्रभावित, प्रभावित नभएका तथा उच्च स्थानमा सुरक्षित रहेका व्यक्तिहरूबाट समेत हेलिकप्टर उद्धारको माग बढ्न थालेपछि प्राधिकरणले सीमित हवाई साधनलाई अत्यावश्यक खोज, उद्धार तथा राहत सामग्री ढुवानीमा केन्द्रित गर्न अनुरोध गरेको हो । प्राधिकरणले केही वैकल्पिक सडक मार्ग सञ्चालनमा आइसकेकाले सम्भव भएसम्म ती मार्ग प्रयोग गर्नसमेत आग्रह गरेको छ ।  हेलिकप्टरको स्रोत अत्यावश्यक कार्यमा मात्र प्रयोग हुने वातावरण बनाउन सबैले सहयोग गर्नुपर्ने प्राधिकरणले जनाएको छ । धादिङतर्फ धादिङबेसी–परैवाटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेलिनटार–केउरिनीटार हुँदै मास्तार (ह्याम्लेट रेष्टुरेन्ट) सम्मको मार्गबाट पृथ्वी राजमार्गमा जोडिन सकिने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार रसुवातर्फ विदुर–ढिकुरे–चौघडा–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार (पासाङ ल्हामु राजमार्ग)–कालिकास्थान–धुन्चे जाने मार्ग सञ्चालनमा आएको छ । यो बाटो हाल चारचक्के साना सवारीसाधन चल्न सक्ने अवस्थामा रहेको छ । प्राधिकरणले रसुवाको उत्तरगया, गोसाईँकुण्ड, आमाछोदिङ्मो र कालिका; नुवाकोटको तारकेश्वर, किस्पाङ, विदुर र बेलकोटगढी; धादिङको गल्छी, गजुरी, बेनिघाट रोराङ र सिद्धलेक लगायतका क्षेत्रलाई बढी प्रभावित क्षेत्रका रूपमा सूचीकृत गरेको छ । गोरखा र तनहुँका विभिन्न वडाहरू पनि बढी प्रभावित क्षेत्रमा परेका छन् । प्राधिकरणका अनुसार हालसम्म हेलिकप्टरमार्फत २५२ जना विदेशी र ३ हजार ३४४ जना नेपाली गरी ३ हजार ५९६ जनाको उद्धार भइसकेको छ। विपद्को कठिन परिस्थितिमा धैर्य अपनाउँदै सरकारी संयन्त्रलाई सहयोग गर्न प्राधिकरणले आग्रह पनि गरेको छ । थप जानकारी तथा आवश्यक समन्वयका लागि टोल फ्री नम्बर ११४९ मा सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ ।

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २० अर्बको निक्षेप संकलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट तरलता व्यवस्थापन गर्न २० अर्ब रुपैयाँ बराबरको तीनमहिने निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । मौद्रिक व्यवस्थापन विभागले सोमबार ८६ दिन अवधिको निक्षेप संकलनका लागि बोलकबोल आह्वान गरेको हो । राष्ट्र बैंकका अनुसार बोलकबोल भदौ १५ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम मार्फत मात्र हुनेछ। सोही दिन निक्षेप संकलन उपकरण निष्कासन गरिनेछ भने यसको अवधि ८६ दिन रहनेछ । संकलित रकमको साँवा र ब्याज मंसिर ९ गते भुक्तानी गरिने केन्द्रीय बैंकले जनाएको छ । बोलकबोलबाट नै ब्याजदर निर्धारण हुनेछ । सहभागी संस्थाले आफूले निक्षेप गर्न चाहेको रकम र ब्याजदर उल्लेख गरी बोलपत्र पेश गर्नुपर्नेछ । एउटै संस्थाले फरक–फरक ब्याजदरमा एकभन्दा बढी बोलपत्र पनि पेश गर्न सक्ने व्यवस्था गरिएको छ । यो बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । न्यूनतम १० करोड रुपैयाँ र त्यसपछि १० करोडकै गुणकमा अधिकतम आह्वान गरिएको रकमसम्म बोल गर्न सकिने व्यवस्था छ । राष्ट्र बैंकले सबैभन्दा कम ब्याजदरबाट सुरु गर्दै आह्वान गरिएको रकमसम्म क्रमशः बोलपत्र बाँडफाँड गर्ने जनाएको छ। समान ब्याजदरमा माग बढी भएमा प्रो–राटा आधारमा रकम बाँडफाँड गरिनेछ । केन्द्रीय बैंकले आवश्यकताअनुसार सम्पूर्ण वा आंशिक बोलपत्र स्वीकार वा अस्वीकार गर्ने अधिकार मौद्रिक व्यवस्थापन विभाग तथा खुला बजार कारोबार सञ्चालन समितिमा रहने जनाएको छ ।

नेप्सेमा १.५७ खर्बको नयाँ सेयर सूचीकृत, बोनस मात्रै ४१ अर्ब ८५ करोड

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कुल १ खर्ब ५७ अर्ब ६ करोड रुपैयाँ बराबरका थप धितोपत्र (सेयर) सूचीकृत भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा ५५ अर्ब ६६ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ), ४१ अर्ब ८५ करोड रुपैयाँ बराबरको बोनस सेयर, २७ अर्ब ५० करोड रुपैयाँ बराबरको म्युचुअल फन्ड सचूीकृत भएका छन् ।  यस्तै, १६ अर्ब ८५ करोड रुपैयाँ बराबरको परिवर्तनीय अग्राधिकार सेयर, १० अर्ब ७६ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, ३ अर्ब ४५ करोड रुपैयाँ बराबरको डिबेन्चर, ९७ करोड रुपैयाँ बराबरको एफपीओ र २ करोड रुपैयाँ बराबरको अन्य सेयर सूचीकृत भएका हुन् । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले कुल ५६ अर्ब ३ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ । बोर्डले ३९ अर्ब ३३ करोड रुपैयाँ बराबरको म्युचुअल फन्ड, ९ अर्ब १२ करोड रुपैयाँ बराबरको साधारण सेयर, ४ अर्ब ९४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, २ अर्ब ६० करोड रुपैयाँ बराबरको डिबेन्चर र ५ करोड रुपैयाँ बराबरको एफपीओ निष्कासनका लागि अनुमति दिएको हो । असार मसान्तसम्म नेप्सेमा सूचीकृत कम्पनीको संख्या ३०२ पुगेको छ । २०८२ असार मसान्तमा सूचीकृत कम्पनीको संख्या २७२ रहेको थियो । हाल सूचीकृत कम्पनीमध्ये १३३ वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी, ११० वटा जलविद्युत् कम्पनी, २९ वटा उत्पादन तथा प्रशोधन उद्योग, ९ वटा होटल, ७ वटा लगानी कम्पनी, ४ वटा व्यापारिक संस्था र १० वटा अन्य समूहका कम्पनी रहेका छन् । सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणमा ५१.८ प्रतिशत हिस्सा रहेको छ । त्यस्तै, जलविद्युत् कम्पनीको १७.५ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ८.४ प्रतिशत, लगानी कम्पनीको ६.७ प्रतिशत, व्यापारिक संस्थाको ४.२ प्रतिशत, होटलको ३.२ प्रतिशत र अन्य समूहका कम्पनीको ८.३ प्रतिशत हिस्सा रहेको छ । असार मसान्तमा नेप्सेमा सूचीकृत ९ अर्ब ५८ करोड कित्ता सेयरको चुक्ता मूल्य ९ खर्ब ४४ अर्ब ४ करोड रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

अमेरिकाले फेरि इरानमाथि ग‍र्यो हमला, लाराकका दुई सैन्य अखडा निशानामा

काठमाडौं । अमेरिकी सेनाले इरानको लाराक द्वीपमा रहेका दुईवटा इरानी सैन्य अखडालाई निशाना बनाएको छ । अमेरिकी एक अधिकारीले यस्तो जानकारी दिएका हुन् । जुलाईपछि इरानमाथि अमेरिकाले गरेको यो पहिलो ज्ञात हमला हो । सीबीएस न्युजले अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता कमान्डर टिम हकिन्सलाई उद्धृत गर्दै जनाएअनुसार, ‘इरानी रिभोलुसनरी गाड्र्स (आईआरजीसी) ले हर्मुज जलडमरूमध्यमा समुद्री बारुदी सुरुङ बिछ्याउन र रकेट प्रहार गर्न तयारी गरिरहेको देखिएको थियो ।’ आईआरजीसीले आइतबार भएको अमेरिकी हमलामा केही मानिस मारिएको र घाइते भएको जनाएको छ । साथै उक्त हमलाको जवाफमा ‘प्रतिकार र दण्डात्मक कारबाही’ गर्ने चेतावनी दिएको छ । त्यसपछि इरानी सरकारी सञ्चारमाध्यमले आईआरजीसीले जोर्डनमा रहेका अमेरिकी सैन्य अखडामाथि हमला गरेको समाचार प्रसारण गरेका छन् । बीबीसीले यसबारे अमेरिकी सेन्ट्रल कमान्डसँग प्रतिक्रिया मागेको जनाएको छ । आईआरजीसीको उक्त बयान आएको केही समयपछि जोर्डनको सेनाले आफूहरूले आठवटा मिसाइल खसालेको जनाएको छ । जोर्डनको सशस्त्र सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आज सोमबार बिहानै वायु रक्षा प्रणालीले जोर्डनको हवाई क्षेत्रमा प्रवेश गरेका आठवटा मिसाइललाई रोकेको छ ।’ सरकारी समाचार संस्था पेट्राले सेनाका प्रवक्तालाई उद्धृत गर्दै यो जानकारी दिएको हो । जुलाईको अन्त्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य अभियान रोक्ने घोषणा गरेका थिए । त्यसपछि इरानमाथि अमेरिकाले गरेको यो पहिलो ज्ञात हमला हो ।

सुन तोलामा २ हजार ४०० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ४०० रुपैयाँले घटेर ३ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो । यता चाँदीको मूल्य भने परिवर्तन भएको छैन । सोमबार पनि चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँ मै कारोबार भइरहेको महासंघले जनाएको छ ।