काठमाडौं । गोरखामा पहिरो मात्र गएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले पहिरो गए पनि नदीमा बाढी नथुनिएको बताएका छन् ।
३५०० मिटरको उचाईमा रहेको चुमनुव्री गाउँपालिकाको छेकम्पार क्षेत्रमा पहिरो गएको शर्माले जानकारी दिए । ‘पहिरो गएको र बाढी आए पनि नदी थुनिएको छैन,’ शर्माले विकासन्युजसँग भने ।
नदीको तटीय क्षेत्रमा रहेका मानिसहरूले थप सतर्कता अपनाउनु पर्ने उनले बताए । अहिले कसैले आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ। जिल्लामा आवश्यक सतर्कता तथा सम्भावित क्षति हुन नदिनका लागि बैठक बसेर छलफल गरिरहेको उनले बताए ।
केही समयअघि मात्र सामाजिक सञ्जालमा गोर्खाको बूढीगण्डकी थुनिएको कुराहरू सार्वजनिक भएका थिए । सामाजिक सञ्जालमा जस्तो चर्चा बाहिर वास्तविकता नभएको उनले जानकारी दिए ।