विकासन्युज

६४ करोडको ठेक्कामा ४.२२ करोड घुस, अधिकारीको बैंक खातामा रकम जम्मा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा पुरातत्व विभागका तत्कालीन सिनियर डिभिजनल इञ्जिनियर पूर्णबहादुर श्रेष्ठ र सहायक पथ प्रदर्शक देउकला अधिकारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । निर्माण सेवाका सञ्चालक तथा सम्बद्ध संयुक्त उपक्रमहरूको बैंक खाताबाट देउकला अधिकारीको नाममा रहेको बैंक खातामा रकम जम्मा गराएको पाइएको छ । आयोगका अनुसार, त्यसरी प्राप्त भएको घुस रकमबाट संयुक्त रुपमा सम्पत्ति खरिद गरेको पाइएको छ । निर्माण सेवा प्रालिले एकल वा संयुक्त उपक्रममा समावेश भई विभागले गरेको ठेक्का सम्झौता मध्ये कुल ६४ करोड २१ लाख ८९ हजार रुपैयाँ बराबरको ठेक्कामा ४ करोड २२ लाख ७५ हजार, ९८५ रुपैयाँ बराबरको रकम घुस लिएको आयोगको आरोप छ । भ्रष्टाचार गरेर आर्जन गरेको रकमबाट आपसी मिलेमतो र योजनामा जग्गा एवं सुन खरिद गरेको तथा विभिन्न व्यक्तिलाई भुक्तानी समेत गरेको पाइएको आयोगले जनाएको छ । गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति लुकाउने रुपान्तरण तथा हस्तान्तरण  गर्ने गराउने कार्य गैरकानुनी कार्य भएको ठहर गरिएको छ । पुरातत्व विभागका तत्कालीन सिनियर डिभिजनल इञ्जिनियर श्रेष्ठ र सहायक पथ प्रदर्शक अधिकारी विरुद्ध समान ४ करोड २२ लाख ७५ हजार ९८५ रुपैयाँ बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । 

पहाडी भू-भागमा आंशिक बादल, तराईमा तातो लहर

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा देशका हिमाली भू-भागमा सहित कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बादल लागेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार हाल कोशी प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशका हिमाली भू-भागका साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बादल  लाग्ने र बाँकी भू-भागमा मौसम  सफा रहनेछ । कोशी प्रदेशको हिमाली र पहाडी भू-भागलगायत बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम सम्मको वर्षा÷हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिन्छ । त्यसैगरी आज राति कोशी प्रदेशको हिमाली र पहाडी भू-भागलगायत बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा आंशिक बादल लाग्ने र बाँकी हिमाली, पहाडी र तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । 

नयाँ बसपार्कभित्र एकीकृत यात्रुवाहक सेवा सञ्चालनका लागि ३ दिनको अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन सेवा प्रदान गर्न अन्तिम तीन दिनको अवधि दिएको छ । गएको महिना (चैत २५ गते) सार्वजनिक सूचना प्रकाशन गरेर लामो र छोटो दूरीका बस सेवा बसपार्कभित्रबाट एकीकृत रूपमा सञ्चालन गर्न अनुरोध गरिएको थियो । यसरी सूचनालाई अवज्ञा गर्ने कम्पनीहरूलाई तीन दिनभित्र एकीकृत प्रणालीमा आउन अन्तिम समय दिइएको कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् ।   यातायात आवागमनको सहजता र सहरी सुरक्षासँग जोडिएको प्रणालीका विषयमा कुरा गर्दै महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीलाई नेपाल प्रहरीसँग समन्वय गरेर अनुगमन नियमन कार्यका लागि संयुक्त टोली बनाएर एकीकृत काम गर्ने प्रणाली तयार गर्न पनि उनले निर्देशन दिइन् ।   बसपार्कको समस्यासँगै ठमेललगायत रात्रिकालीन व्यवसाय सञ्चालन हुने ठाउँका परिवारले ध्वनि प्रदूषणले असर गरेको, स्पालगायत व्यवसायमा हुने अवाञ्छित क्रियाकलापबाट पारिवारिक वातावरण बिग्रिएको, छात्राबास सञ्चालकहरूबाट बसोबासमा समस्या आएको जस्ता गुनासा आउने गरेका छन् । यसको नियमनका लागि नेपाल प्रहरी र महानगर प्रहरी बलका आ-आफ्नै क्षेत्राधिकार छन् ।  'एकै पटक अनुगमन जाने र आ-आफ्ना क्षेत्राधिकारका काम गर्न थालेपछि व्यवस्थापनमा महसुस योग्य नतिजा आउनेछ,' उनले भने । सो विषयमा अतिरिक्त प्रहरी महानिरीक्षक ईश्वर कार्कीले, सहरी सुरक्षालाई जनशक्तिबाट भन्दा पनि प्रविधिबाट निगरानी बढाउँदै लैजानुपर्ने बताए ।  त्यस्तै, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले, सडक सङ्केत र सडक अनुशासन पालना गराउन कामपाका र ट्राफिक प्रहरीका बीचमा समन्वयात्मक कार्यक्रमलाई बढाउनुपर्ने बताए ।  प्रहरीका अनुसार काठमाडौंबाट दैनिक औसतमा ७०० वटा सार्वजनिक यातायातका साधन बाहिरिन्छन् । तीमध्ये करिब ३५० वटा बसपार्क बाहिरै पार्किङ गर्ने, यात्रु चढाउने तथा ओराल्ने गर्छन् ।  बसपार्कबाट औसतमा दैनिक ३४० वटा गाडी आउने जाने गर्छन् । पोखरा, नुवाकोट, बुटबल, स्याङ्जा, दाङलगायत जिल्लामा माइक्रोबस सेवा सञ्चालन हुन्छ । नयाँ बसपार्क क्षेत्र १६१ रोपनी क्षेत्रफलमा फैलिएको छ । यसमा ७५० वटा सवारीसाधन व्यवस्थापन गर्न सकिन्छ ।

इप्पानले विधान संशोधनको तयारी गर्दै, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था हटाइँदै

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आफ्नो विधान संशोधन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने वर्तमान व्यवस्थालाई हटाउने तयारी गरेको छ । आगामी जेठ २९ गते हुने २४औं साधारण सभा तथा आठौं अधिवेशनमा यस सम्बन्धी प्रस्ताव लैजाने निर्णय कार्यसमिति बैठकले गरेको हो ।  हालको विधान अनुसार वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालका लागि स्वतः अध्यक्ष बन्ने प्रावधान रहे पनि नयाँ व्यवस्थाले सबै पदमा निर्वाचनको बाटो खोल्ने लक्ष्य राखेको छ । यद्यपि, यो नयाँ व्यवस्था कहिलेबाट लागू गर्ने भन्ने विषयमा भने छलफल जारी रहेको इप्पानका अध्यक्ष गणेश कार्कीले जानकारी दिए । विधान संशोधनको प्राविधिक पक्षका कारण संशोधित व्यवस्था पूर्ण रूपमा कार्यान्वयनमा आउन केही समय लाग्न सक्ने देखिएको छ । इप्पानका उपाध्यक्ष उत्तम भ्लोनका अनुसार विधान संशोधन भएर जिल्ला प्रशासन कार्यालयमा अद्यावधिक भएपछि मात्र लागू हुने भएकाले दशौं अधिवेशन (२६औं साधारण सभा) बाट मात्रै यो पूर्ण कार्यान्वयनमा आउन सक्छ। यसको अर्थ, आसन्न आठौं अधिवेशनमा निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष नवौँ अधिवेशनमा स्वतः अध्यक्ष बन्ने सम्भावना कायमै छ । संस्थाभित्र वरिष्ठ उपाध्यक्षको पद नै राख्ने वा नराख्ने भन्ने विषयमा पनि बहस भइरहेको उपमहासचिव प्रकाश दुलालले बताए । प्रस्तावित नयाँ व्यवस्था अनुसार अध्यक्ष बाहेकका सबै पदमा साधारण सदस्यले निर्वाचन लड्न पाउनेछन् भने अध्यक्षको उम्मेदवार बन्नका लागि कम्तीमा एक कार्यकाल कार्यसमिति सदस्य वा पदाधिकारी भएको हुनुपर्ने प्रावधान राख्न लागिएको छ । यसका साथै, इप्पानले तीन वर्षदेखि नवीकरण नभएका सदस्यहरूको हकमा आवश्यक अध्ययन गर्ने र नयाँ सदस्यका लागि जेठ १५ गतेसम्म आवेदन खुला गर्ने निर्णय समेत गरेको छ । बैठकले नयाँ सदस्यका लागि निवेदन दिएका १९ वटा कम्पनीलाई सदस्यता स्वीकृत गर्ने निर्णय गर्दै विधान संशोधनको अन्तिम प्रस्ताव तयार पार्ने जिम्मेवारी अध्यक्ष कार्कीलाई सुम्पिएको छ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध विद्यार्थी संगठनको राँके जुलुस, शिक्षामन्त्रीको राजीनामा माग

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध संयुक्त विद्यार्थी संगठनद्वारा काठमाडौंको प्रदर्शनी मार्गमा राँके जुलुससहित प्रदर्शन गरेको छ ।  विभिन्न दलनिकट विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्ने मागसहित प्रदर्शन गरेका हुन् । उनीहरुले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको राजीनामा समेत माग गरेका छन् ।  सरकारले विश्वविद्यालयहरुमा राजनीतिक हस्तक्षेप गरेको उनीहरुको आरोप छ ।  उनीहरुले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर, विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर, विद्यार्थी संगठन खारेज गर्न पाइदैन लगायतका प्लेकार्ड बोकेका थिए । 

पोखरामा पर्यटकलाई सताउने थप तीन युवती पक्राउ

काठमाडौं । पोखराको लेकसाइडमा रातिको समयमा पर्यटकलाई दुःख र हैरानी दिएको आरोपमा प्रहरीले थप ३ युवतीलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय कास्की र मातहतको वडा प्रहरी कार्यालय बैदामबाट खटिएको विशेष टोलीले उनीहरूलाई मंगलबार बिहान नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार युवतीहरूले पर्यटकलाई अनावश्यक रूपमा सताउने, विभिन्न किसिमका प्रलोभन देखाई दुःख दिने, हैरानी पार्ने र लुटपाट गर्नेजस्ता गतिविधिमा संलग्न हुने गरेको उजुरी आएको थियो । यसैका आधारमा विशेष निगरानीपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पोखरा महानगरपालिका-६, लेकसाइडको सडकमा आन्तरिक तथा बाह्य पर्यटकलाई अनावश्यक रूपमा दुःख दिने, लुटपाट गर्ने र अनैतिक क्रियाकलापमा संलग्न रहेको फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरू आइतबार बिहान करिब २ः३० बजेको समयमा पक्राउ परेका हुन् । पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको छ । यसअघि पनि लेकसाइडमै पर्यटकलाई दुःख र हैरानी दिएको आरोपमा १६ जना महिलालाई पक्राउ गरिएको थियो ।  लेकसाइड क्षेत्रमा रातिको समयमा हुने यस्ता अवाञ्छित गतिविधि र लुटपाटका घटनाबारे व्यापक जनगुनासो आउन थालेपछि प्रहरीले सक्रियता बढाएको हो ।​​​​​​ 

गृहमन्त्री र सुरक्षा प्रमुखबीच मन्त्रालयमा 'हाइभोल्टेज' छलफल, फाइल खोल्ने र उच्चपदस्थलाई पक्राउ गर्ने तयारी

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पछिल्लो सुरक्षा अवस्था र केही गम्भीर प्रकरणहरूको अनुसन्धानका विषयमा सुरक्षा निकायका प्रमुखहरूसँग घनिभूत छलफल सुरु गरेका छन् ।  गृह मन्त्रालयमा जारी उक्त बैठकमा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेललगायतका उच्च सुरक्षा अधिकारीहरूको सहभागिता रहेको छ । मन्त्रालय स्रोतका अनुसार यो बैठक विशेष गरी केही पुराना र नयाँ भ्रष्टाचार तथा अनियमितताका फाइलहरू पुनः खोलेर अनुसन्धानलाई तीव्रता दिने विषयमा केन्द्रित छ ।  बैठकमा दोषी देखिएका उच्च तहका राजनीतिक तथा प्रशासनिक व्यक्तिहरूलाई समेत नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अगाडि बढाउने तयारीबारे रणनीतिक छलफल भइरहेको बुझिएको छ । सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखेका बेला गृहमन्त्रीको यो सक्रियतालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

रवि लामिछानेलाई सांसदबाट निलम्बन गर्न माग गरिएको रिट दर्ता गर्न अस्वीकार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सांसदबाट निलम्बन गरी काम कारबाहीमा रोक लगाउन माग गरिएको रिट सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ । अधिवक्ता आयुष बडालसहितले सम्पत्ति शुद्धीकरणको मुद्दा विचाराधीन रहेको अवस्थामा लामिछाने स्वतः निलम्बित हुने भन्दै गएको शुक्रबार रिट दायर गरेका थिए । उक्त रिट अध्ययनपछि मंगलबार दरपिठको निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए। प्रशासनले दरपिठको निर्णय गरेपछि अब त्यसविरुद्ध सिधै इजलासमा निवेदन दिन सक्नेछन् ।  इजलासले दर्ता गर्न आदेश दिएमा प्रशासनले दर्ता गरेर सुनुवाइ अगाडि बढाउनुपर्छ । अघिल्लो संसदमा लामिछानेको सांसद पद निलम्बनमै थियो । सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएपछि उनी निलम्बनमा परेका थिए ।  अहिले पनि मुद्दाको फैसला भइसकेको छैन । सहकारी ठगीको मुद्दामा पनि लामिछाने बिगो बापतको धरौटी राखेर रिहा भएका हुन् । सरकारले सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा मुद्दा फिर्ता लिने निर्णय गरे पनि त्यसविरुद्ध परेको रिट सर्वोच्चमै विचाराधीन छ ।